Aamsanchar

ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका एमालेका पूर्व विभाग सदस्य आचार्य उज्यालो नेपाल पार्टीमा

Author Image
सोमवार, भदौ २९, २०८३

झापा । नेकपा एमालेका पूर्व केन्द्रीय विभाग सदस्य तथा झापाका पत्रकार सन्तोष आचार्य उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्। राजनीतिक, सामाजिक तथा पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय आचार्यलाई पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङले सोमबार काठमाडौंमा स्वागत गर्दै केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरेका हुन् ।

पार्टी प्रवेशपछि आचार्यले निरन्तरको छलफल र राजनीतिक यात्रालाई नयाँ ढंगबाट अघि बढाउने सोचका साथ उज्यालो नेपाल पार्टी रोजेको बताए।

‘समृद्ध देश निर्माण र सामाजिक रूपान्तरणको अभियानमा उज्यालो नेपालमार्फत लाग्नेछु,’ आचार्यले भने, ‘यस यात्रामा सबैबाट सकारात्मक सहयोग, सुझाव र सल्लाहको अपेक्षा गरेको छु।’

आचार्य दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय थिए। उनी प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघ झापाका पूर्व सचिव तथा प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्षसमेत हुन् ।

राजनीतिक क्षेत्रमा समेत लामो समयदेखि सक्रिय आचार्य नेकपा एमालेका पूर्व केन्द्रीय विभाग सदस्य हुनुहुन्थ्यो। एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले केही महिनाअघि एमाले परित्याग गरेका थिए।

एमाले परित्याग गरेपछि नयाँ राजनीतिक विकल्पबारे छलफल गर्दै आएका आचार्यले अन्ततः कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमार्फत आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिने निर्णय गरेका हुन् ।

आचार्यको पार्टी प्रवेशसँगै झापाको राजनीतिक तथा पत्रकारिता क्षेत्रमा समेत यसलाई चासोका साथ हेरिएको छ।

Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर