Aamsanchar

‘आजको सचेत युवा, भोलिको सुरक्षित समाज’ : हल्दिबारीमा विद्यार्थीलाई लागूऔषधविरुद्ध संकल्प

Author Image
बिहिवार, असोज १, २०८३

हल्दिबारी, झापा । उमेरले कलिलो, सपना ठूलो। तर गलत संगत र लागूऔषधको लतले त्यही सपना बीचमै भत्किन सक्छ। यही जोखिमबाट विद्यार्थी तथा युवालाई जोगाउने उद्देश्यले झापाको हल्दिबारीमा लागूऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम गरिएको छ।

रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको आयोजनामा बुधबार हल्दिबारी–२ स्थित रेडक्रस भवनमा भएको कार्यक्रममा हल्दिबारी माध्यमिक विद्यालयका विद्यार्थीलाई लागूऔषधको असर, प्रयोगका संकेत र दुव्र्यसनबाट जोगिने उपायबारे जानकारी दिइएको हो।

चेतना नेपालका प्रशिक्षक इन्द्र ओलीले लागूऔषधले युवाको स्वास्थ्य मात्र होइन, पढाइ, परिवार, सामाजिक सम्बन्ध र भविष्यसमेत प्रभावित पार्न सक्ने बताए। उनले विद्यार्थीलाई लागूऔषधको प्रयोगबाट टाढा रहन र साथीभाइलाई समेत गलत बाटोमा जान नदिन आग्रह गरे।

प्रशिक्षणपछि विद्यार्थीहरूले लागूऔषध प्रयोग नगर्ने, दबाब आए त्यसबाट जोगिने र साथीलाई समेत दुव्र्यसनबाट बचाउन भूमिका खेल्ने सामूहिक संकल्प गरे।

कक्षा ११ का विद्यार्थी युवराज गिरीले युवालाई लक्षित गरेर गरिएको कार्यक्रम प्रभावकारी भएको बताए। उनले लागूऔषधको जोखिमबाट नयाँ पुस्तालाई जोगाउन विद्यालय तथा समुदायमा यस्ता अभियान निरन्तर आवश्यक रहेको बताए।

कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, वडाध्यक्ष सुकलाल राजवंशी, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन ‘महेन्द्र’, शिक्षाविद् नरेन्द्र कार्की, प्रधानाध्यापक टंकबहादुर पाख्रिन, विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीका राउतलगायत शिक्षक, विद्यार्थी, रेडक्रसकर्मी तथा सामाजिक व्यक्तित्वको सहभागिता थियो।

वक्ताहरूले लागूऔषध नियन्त्रण कुनै एक संस्था वा निकायको प्रयासले मात्र सम्भव नहुने भन्दै परिवारदेखि विद्यालय, समुदाय र स्थानीय सरकारसम्मको साझा जिम्मेवारी भएको बताए।

रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका अध्यक्ष होमबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कोमल धानुकाले गरेका थिए। स्वागत मन्तव्य सुजित वंशलले राखेका थिए।

कार्यक्रममा विभिन्न चिया उद्योग, सहकारी, हल्दिबारी माध्यमिक विद्यालय, नेपाल रेडक्रस सोसाइटी हल्दिबारी उपशाखा र मेडिहोम हस्पिटलको सह–आयोजना तथा चेतना नेपालको प्राविधिक सहयोग रहेको आयोजकले जनाएको छ।

Views: 79

प्रतिक्रिया (०)