
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले सरकार राज्य सञ्चालन, सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा असफल हुँदै गएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। सरकारले जनतालाई सुशासन दिन नसकेको आरोप लगाउँदै अघिल्लो केपी शर्मा ओलीको नेतृत्वको सरकार तथा वर्तमान सरकारको कार्यशैलीमा कुनै फरक नरहेको टिप्पणी गरे।
उनले मन्त्रीहरूले सल्लाहकारमा राष्ट्रिय फौज जस्तै भर्ना गर्न थालेको भन्दै आलोचना पनि गरे। शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत सरकारले प्रभावकारी काम गर्न नसकेको सांसद भाटको आरोप छ। उनले रासायनिक मलको उपलब्धताका लागि करोडौँ रुपैयाँ विनियोजन गरिए पनि किसानले मल पाउन नसकेको उनको भनाइ छ।

उनले भने, ‘सरकारले काम गर्न सकेन, जनतालाई सुशासन दिन सकेन। पहिलाको र अहिलेको सरकारमा कुनै फरक छैन। ५ सय युवालाई पनि रोजगारी दिन सकेन यो सरकारले। शिक्षा, स्वास्थ्य क्षेत्रमा सरकारले राम्रो काम गर्न सकेन। किसानलाई मल दिन सकेन। सरकार हरेक ठाउँ असफल भइराखेको छ।’
सरकार विस्तारै सबै क्षेत्रमा असफल हुँदै गएको सांसद भाटको आरोप छ।

