चारआली । युवा नेतृत्व विकास, सक्रिय नागरिक र सामाजिक रूपान्तरणका विषयमा बहस गर्दै नेपाल जेसीज वर्ष २०२६ को क्षेत्र ‘क’ सम्मेलन झापाको चारआलीमा हुने भएको छ।
सेप्टेम्बर २५ र २६ (२०८३ असोज ९ र १० गते) चारआलीस्थित चारआली पार्टी प्यालेसमा आयोजना हुने सम्मेलनको आतिथ्यता जेसीआई चारआलीले गर्नेछ।

“डेभलपिङ लिडर्स फर ए चेन्जिङ वल्र्ड” भन्ने नारासहित आयोजना हुने सम्मेलनको पहिलो दिन साँझ ४ः४५ देखि ६ः३० बजेसम्म “द पावर अफ जेसीज / एक्टिभ सिटिजन्स” विषयमा प्यानल डिबेट तथा उत्प्रेरणात्मक सत्र सञ्चालन हुनेछ।
प्यानलमा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष तथा भिजन लुम्बिनी ग्रुप अफ कम्पनीका अध्यक्ष सिनेटर जगतबहादुर पोखरेल, नेपाल जेसीज वर्ष २०१७ का राष्ट्रिय अध्यक्ष सिनेटर प्रकाशप्रसाद अधिकारी, स्त्रीरोग विशेषज्ञ डा. प्रियंका कटुवाल, नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारी र ब्रिटिश काउन्सिल सर्टिफाइड ट्रेनर तथा तक्षशिला प्रोग्रेसिभ स्कुलका प्रिन्सिपल डा. भिक्टर इग्नाटियस जोसेफ सहभागी हुने आयोजकले जनाएको छ।

युवा नेतृत्वमा दक्षता अभिवृद्धि, जिम्मेवार नागरिकको भूमिका र संस्थागत गतिशीलताका विषयमा केन्द्रित हुने सत्रलाई सम्मेलनको प्रमुख बौद्धिक आकर्षणका रूपमा लिइएको छ।
सम्मेलन सफल बनाउन जेसीआई चारआलीले आवश्यक तयारीलाई तीव्र बनाएको जनाएको छ।

