
सिमरा – बाराको सिमरामा शनिबार साँझ चक्कु प्रहार गरी एक युवकको हत्या गर्ने आयुष राईलाई प्रहरीले धानखेतमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको छ। घटनालगत्तै फरार भएका २३ वर्षीय राईलाई प्रहरीले जितपुरसिमरा–१६ महेन्द्रनगरस्थित डाँडाटोलको धानखेतबाट राति ९स्३० बजे नियन्त्रणमा लिएको हो।

सिमरास्थित नेपाल केबुल अगाडि रहेको सम्झना स्टाफ होटलमा बसिरहेका ३५ वर्षीय शेरबहादुर खड्कालाई होटलकै भान्छाको चक्कुले रेटेर राई फरार भएका थिए। घटना भएको पाँच घण्टामै राईलाई प्रहरीले धानखेतमा आफ्नै कपडाले मुख छोपेर लुकिरहेको अवस्थामा पक्राउ गरेको हो।
घटनास्थलबाट पश्चिममा रहेको जंगलतर्फ फरार भएका राई राजमार्ग निस्किएर जितपुरसिमरा–१६ को महेन्द्रनगर पुगेको सूचना प्रहरीले पाएको थियो। त्यसअघि उनले आफन्तसँग गाडीभाडा लिएर महेन्द्रनगरतर्फ गएको बुझिएको छ।

महेन्द्रनगरस्थित आफन्तको घरमा लुकेर बसेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक ९डीएसपी० दयाकृष्ण भट्टको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। प्रहरी आएको थाहा पाएपछि राई उक्त घरबाट भागेर नजिकै रहेको अर्का आफन्तको घरमा पुगेका थिए। त्यहाँ पनि प्रहरी पुगेपछि राई धानखेतमा लुक्ने प्रयास गरेका थिए।
प्रहरीले धानखेतलाई घेरा हालेर राईलाई नियन्त्रणमा लिन सफल भएको हो। आफन्तले प्रहरीलाई अल्मल्याउने प्रयास गरे पनि अन्ततः राई पक्राउ परेका हुन्। राईलाई भगाउन सहयोग गर्ने आफन्तलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका आफन्तको नाम भने खुलेको छैन।
यसअघि प्रहरीले शनिबार साँझ नै दुई युवकलाई नियन्त्रणमा लिएको थियो। राईसँगै होटलमा आएका ती दुई युवकलाई प्रहरीले गण्डकस्थित बयोधा अस्पतालबाट नियन्त्रणमा लिएको हो। घाइते खड्कालाई उपचारका लागि लिएर उनीहरू अस्पताल गएका थिए। घटनाबारे सोधपुछ गर्न प्रहरीले उनीहरूलाई अस्पतालबाटै नियन्त्रणमा लिएको हो।
प्रत्यक्षदर्शीका अनुसार खड्का होटलमा बसिरहेका बेला मदिराले मातिएर राईसहित अन्य दुई युवा होटलमा प्रवेश गरेका थिए। उनीहरूबीच के विषयमा विवाद भएको थियो भन्ने कुरा अझै खुलेको छैन। होटल सञ्चालकले पनि उनीहरूबीचको विवादका विषयमा आफूलाई जानकारी नभएको बताएका छन्। विवादकै क्रममा अचानक राईले भान्छामा रहेको चक्कु ल्याएर खड्काको घाँटी रेटेर भागेका थिए। प्रहरीले होटल सञ्चालकलाई पनि सोधपुछका लागि नियन्त्रणमा राखेको छ। घटनाको अनुसन्धानका लागि हालसम्म पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

