
अर्जुनधारा । गरिबीको चरम चपेटामा जीवन गुजारिरहेकी झापा अर्जुनधारा–५ की ४५ वर्षीया सोनामनी मुर्मुको मृत्युले परिवारमाथि शोकसँगै थप आर्थिक बोझ थोपरेको छ।

आइतबार साँझ विष सेवन गरेपछि गम्भीर बनेकी सोनामनीलाई परिवारले तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्यायो। चिकित्सकले बचाउन सकिने सम्भावनाका लागि उपचार सुरु गरे। परिवारले जीवनभरको कमाइसरह करिब ७० हजार रुपैयाँ उपचारमा खर्चियो। तर, उपचारकै क्रममा सोमबार बिहान सोनामनीको मृत्यु भयो।
सोनामनीको जीवन त बचेन, तर उनको शव घर लैजाने बाटो पनि अहिले आर्थिक अभावले रोकिदिएको छ।

अस्पताल स्रोतका अनुसार उपचारलगायतको करिब १ लाख ६० हजार रुपैयाँ रकम बुझाउन बाँकी रहेकाले परिवारले शव बुझ्न पाएको छैन। मजदुरी गर्दै परिवार पाल्दै आएका श्रीमान् लखिराम मुर्मु यतिबेला अस्पतालमै बिलौना गरिरहेका छन्।
“श्रीमतीको अन्तिम संस्कार त गर्न पाऊँ” भन्ने उनको आग्रह छ।
आम्दानीको भर मजदुरी मात्रै रहेका लखिरामका लागि १ लाख ६० हजार रुपैयाँ जुटाउनु सहज छैन। श्रीमती गुमाएको पीडामाथि शव घर लैजान नसक्ने अर्को पीडा थपिएको छ।
छिमेकी रेवत बास्तोलाले सोनामनीको शव घर लैजान सहयोग गरिदिन सबैसँग अपील गरेका छन्। उनले थोरै–थोरै सहयोगले पनि शोकमा डुबेको परिवारलाई ठूलो राहत पुग्ने बताएका छन्।
सोनामनीको जीवन फर्काउन सकिएन। अब कम्तीमा उनको अन्तिम यात्रा रोकिएर बस्न नपरोस्।

