बिर्तामोड । बंगालको खाडीको पूर्वी भूभागमा विकसित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा समेत पर्न सक्ने मौसमविद्ले बताएका छन्।
नेपाल मौसम विज्ञान विभागका मौसमविद् टेकबहादुर धामीका अनुसार उत्तर अण्डमान सागर तथा आसपास बनेको न्यून चापीय प्रणाली क्रमशः बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ अघि बढिरहेको छ। उक्त प्रणाली असोज ७ गते आसपास दक्षिण ओडिशा र उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिक पुग्ने सम्भावना रहेको उनले बताए।

यसको प्रभाव नेपालमा समेत पर्न सक्ने भएकाले विभागले प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाएको छ। आवश्यकताअनुसार थप सूचना अद्यावधिक गरिने विभागको भनाइ छ।
हाल नेपालमा मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। आगामी २४ घण्टामा हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। तराईका एक–दुई स्थानमा समेत मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।

यसैबीच, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा गण्डकीका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै विभागले पहेँलो चेतावनी जारी गरेको छ।
मौसम प्रणालीको प्रभावमा थप परिवर्तन हुन सक्ने भएकाले विभागले सर्वसाधारणलाई आधिकारिक तथा पछिल्लो मौसम सूचना हेर्न आग्रह गरेको छ।

