Aamsanchar

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

Author Image
आइतवार, असोज ४, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशन प्रक्रिया दोस्रो दिन पनि उत्साहप्रद रूपमा जारी रहेको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशनअन्तर्गत असोज ४ गतेसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन तथा निर्वाचन सम्पन्न भएको छ। अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश जिल्लामा वडा अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ।

रसुवा, नुवाकोट र धादिङसहित केही जिल्ला तथा विभिन्न निर्वाचन क्षेत्रका बाँकी वडामा अधिवेशन सम्पन्न हुन बाँकी छ। सप्तरीका क्षेत्र नं. २ र ४, सिरहा, मोरङ–६, रौतहट–१, सर्लाही–२ र परासी–२ लगायतका बाँकी वडा अधिवेशन असोज ५ गते पनि जारी रहने केन्द्रीय निर्वाचन समिति सदस्य राजु कटुवालले जानकारी दिएका छन्।

समितिले निर्धारित कार्यतालिकाअनुसार बाँकी रहेका सबै वडा अधिवेशन सम्पन्न गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर