Aamsanchar

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावनासँगै बाढी–पहिरोको जोखिम, सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह

Author Image
सोमवार, असोज ५, २०८३

काठमाडौँ  – जल तथा मौसम विज्ञान विभागले आज विशेष मौसम बुलेटिन जारी गर्दै आगामी असोज ९ गते शुक्रवारदेखि असोज ११ गते आइतवारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित धेरै भारीदेखि अति धेरै भारीसम्म वर्षाको सम्भावना रहेको जनाएको छ।

साथै मधेश प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि भार देखि धेरै भारीसम्म वर्षा हुने तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ।

विभागले देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

जनाइए अनुसार उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भूभाग आसपासमा रहेको छ र उक्त प्रणाली थप शक्तिशाली बन्दै ९बलियो न्युन चापीय क्षेत्र० भई पश्चिम उत्तरपश्चिम दिशातिर सर्ने देखिन्छ।

यसको प्रभावले बुधबारबाट नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने जनाइएको छ ।

तसर्थ, सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायत नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरिएको छ।

हाल केही स्थानबाट धानबाली भित्र्याउन मौसम सम्बन्धि जानकारी माग भएकोले सम्बन्धित कृषि बिज्ञको सल्लाहमा कार्य गर्नु हुन अनुरोध गरिएको छ।

साथै, उक्त मौसम प्रणालीको प्रभाव देशको हिमाली भूभागमा भारी सम्म हिमपात हुन सक्ने भएकोले पर्वतारोही तथा सम्बन्धित सबैले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर