Aamsanchar

घरमा चो*री गरी महिलाको ह*त्या गर्ने तीन युवक प*क्राउ

Author Image
आइतवार, असोज ११, २०८३

वीरगन्ज  – पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा गत आइतबार घरमा भएको चोरी र एक महिलाको हत्यामा संलग्न तीन जना युवक पक्राउ परेका छन्।

धोबनीका श्रीनिवास साह तुराहाको घरमा गत आइतबार राति नगद रकम र गरगहना चोरी हुनुका साथै उनकी पत्नी ६२ वर्षीया लखरजिया देवीको हत्या भएको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले धोबिनी गाउँपालिका–५ धोबिनीकै १८ वर्षीय चन्दन कुमार पटेल, १८ वर्षीय राज कपुर बैठा र १८ वर्षीय रामु पासवानलाई पक्राउ गरेको हो।

गत आइतबार राति दुई तल्ले पक्की घरको दोस्रो तल्लाको कोठामा लखरजिया देवी र पहिलो तल्लाको कोठामा श्रीनिवास सुतेका थिए। सोमबार बिहान लखजरिया देवी सुतेकै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् भने उनि सुतेको कोठाभित्र रहेको दराज र बाक्सा फोडेर नगद रकम र गरगहना चोरी भएको थियो ।

 

उक्त घटनाको अनुसन्धानमा जुटेको प्रहरीका अनुसार, असोज ४ गते आइतबारराति ११ बजे पटेल, बैठा र पासवान तीनै जनाले बैठाको घरमा गाँजा सेवन गरी मृतकको घरमा चोरी गर्ने योजना बनाएका थिए। त्यसपछि उनिहरु तीनै जना मृतक लखरजिया देवीको पक्की घरको पछाडिको पर्खालबाट घरमाथि चढेर माथिल्लो तलाको झ्यालबाट घरभित्र प्रवेश गरेका थिए।

घरभित्र छिरेका उनिहरुले स्टिलको दराज तोडेर दराजभित्र राखिएको पैसा र गरगहनाहरू चोरी गरी अन्य कोठामा रहेको टिनको बक्साको ताल्चा फुटाइरहेको अवस्थामा तल्लो तल्लामा सुतिरहेकी लखरजिया देवी ब्युँझिएकी थिइन्। त्यसपछि तोडफोडको आवाज सुनेर माथिल्लो तलामा गएकी लखरजिया देवीलाई देखेपछि पटेल, बैठा र पासवानले फलामको धारिलो वस्तुले प्रहार गरेर उनको हत्या गरी गरगहना र नगद रकम लिएर फरार भएका थिए।

घटनापछि अनुसन्धानमा जुटेको प्रहरीले पटेललाई शुक्रबार वीरगन्जबाट तथा बैठा र पासवानलाई शनिबार धोबिनी गाउँबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । उनिहरुको साथबाट घरबाट चोरी भएको रकम र सुनको गहनाका साथै गाडीको स्प्रिङ पत्ता १ थान, पिलास १ थान र चक्कु थान बरामद गरिएको मल्लले जानकारी दिए ।
पक्राउ गरिएका तीनै जनालाई प्रहरी हिरासतमा राखेर उनिहरुविरुद्ध पर्सा जिल्ला अदालत पर्साबाट कर्तव्य ज्यान कसूर मुद्दामा ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर