Aamsanchar

राइनासमा रोजगार कार्यक्रमको रकममा अनि*यमितता, तत्कालीन रोजगार संयोजकसहित १० जनावि*रुद्ध मु*द्दा

Author Image
मङ्गलवार, असोज १३, २०८३

काठमाडौं  –  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लमजुङ राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपानेसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीहरूविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

आर्थिक वर्ष २०७६/०७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट राइनास नगरपालिकालाई प्राप्त १६ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको उनीहरूमाथि आरोप छ।

आयोगका अनुसार राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक न्यौपाने,प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी र तत्कालीन लेखापाल नविन कुमार बरालविरुद्ध छुट्टाछु्टै विगो कायम गरी आरोप (पत्र दायर गरेको हो। न्यौपानेसँग १८ लाख ३९ हजार २५६ रुपैयाँ, अधिकारी र बरालसँग जनही १६ लाख ७२ हजार रुपैयाँ विगो माग गरिएको छ।

नगरपालिकाका वडा नम्बर १ का तत्कालीन वडा अध्यक्ष रमेश न्यौपाने,३ का वडा सदस्य ओजराज पौडेल,४ का वडा अध्यक्ष जैमान गुरुङ,५ का वडा अध्यक्ष नन्दबहादुर कुमाल,६ का वडा अध्यक्ष रुक बहादुर तामाङ गुरुङ,७ का वडा अध्यक्ष माधव प्रसाद पराजुली ,८ का वडा अध्यक्ष कृष्ण प्रसाद लामिछाने र राइनास नगरपालिकाविरुद्ध आरोप-पत्र दायर गरेको हो। उनीहरूविरुद्ध पनि फरक फरक विगो माग गरेको आरोप पत्रमा उल्लेख छ।

आर्थिक वर्षको अन्तिम दिन कानुनबमोजिम संघीय सञ्चित कोषमा फिर्ता गर्नुपर्ने रकम तत्कालीन रोजगार संयोजक न्यौपानेले पेश्की लिई अन्य प्रतिवादीहरूको खातामा जम्मा गरेको अख्तियारको जिकिर छ। उक्त रकमबाट तोकिएको कार्यक्रम सञ्चालन नगरेको र पेश्कीसमेत हालसम्म फर्छ्यौट नगरेको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ।

त्यसैगरी,न्यौपानेले राइनास नगरपालिकाबाट २०७६ वैशाख १६ गते बुझेका एक थान ल्यापटप,एक थान प्रिन्टर र एक थान क्यामेरा कार्यालयबाट २०७७ कात्तिक १ गते बर्खास्त भएपछि पनि हालसम्म बरबुझारथ नगरेको अख्तियारले जनाएको छ।

ती सरकारी सामानको परल मूल्य १ लाख ६७ हजार २५६ रुपैयाँ रहेको आयोगको भनाइ छ। सरकारी रकम र सम्पत्ति हिनामिना,दुरुपयोग तथा हानिनोक्सानी गरी गैरकानुनी लाभ लिने बदनियत देखिएको भन्दै अख्तियारले प्रतिवादीहरूको कार्य भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ बमोजिमको कसुर भएको ठहर गरेको छ।

Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर