बिर्तामोड । डिजिटल प्रविधिको तीव्र विकाससँगै सूचना प्राप्त गर्ने माध्यम फेरिए पनि किताबको महत्व नघटेको भन्दै झापाको बिर्तामोडमा चौथो संस्करणको किताब मेला आयोजना हुने भएको छ।
झापाली साहित्य समाज र साहित्य पत्रकार मञ्चको आयोजनामा असोज १६ गतेदेखि ३० गतेसम्म बिर्तामोड–शनिश्चरे रोडस्थित इशा बुक्स सेन्टर अगाडि किताब मेला आयोजना गर्न लागिएको हो। मेलाबारे आयोजकले बुधबार बिर्तामोडमा पत्रकार भेटघाटमार्फत जानकारी दिएको हो।

मेलामा किताब खरिदमा १० देखि ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ। पाठकलाई सहज रूपमा पुस्तक उपलब्ध गराउनुका साथै मूल्यमा सहुलियत दिएर पठन संस्कृतिलाई निरन्तरता दिने उद्देश्यले मेला आयोजना गरिएको संयोजक केशव मैनालीले बताए।
मेलालाई विशेष बनाउन आयोजकले विभिन्न साहित्यिक तथा सिर्जनात्मक कार्यक्रमसमेत समावेश गरेको छ। मेला अवधिभर लेखक तथा पाठक संवाद, कविता तथा गजल वाचन, भाग्यशाली उपहार योजना लगायतका कार्यक्रम सञ्चालन हुनेछन्। मेलामा विभिन्न विधाका ५ हजारभन्दा बढी पुस्तक राखिने र बालबालिकादेखि विभिन्न उमेर समूहका पाठकलाई लक्षित गरी पुस्तकको व्यवस्थापन गरिने आयोजकले जनाएको छ।

पत्रकार भेटघाटमा सहभागी साहित्यकार तथा पत्रकारहरूले डिजिटल माध्यमले सूचना प्राप्त गर्न सहज बनाए पनि सूचना र ज्ञान एउटै कुरा नभएको धारणा राखे। सामाजिक सञ्जालमा उपलब्ध असंख्य सामग्रीमध्ये सही, अधुरो वा भ्रमपूर्ण सूचना छुट्याउन अध्ययन, विश्लेषण र आलोचनात्मक चेतना आवश्यक हुने उनीहरूको भनाइ थियो।
साहित्यकार तथा पत्रकार लिला अनमोल, पत्रकारहरू गोपाल काफ्ले, बिनोद पाण्डे, इन्द्रसिंह राजवंशी, प्रदीप परियार, सन्तोष न्यौपाने तथा लेखक कृष्ण मिश्रलगायतले किताब पठनले विषयलाई टुक्राटुक्रामा नभई क्रमबद्ध, विस्तृत र सन्दर्भसहित बुझ्ने अवसर दिने धारणा राखेका थिए।
वक्ताहरूले मोबाइल र डिजिटल माध्यमले छिटो सूचना उपलब्ध गराए पनि गहिरो अध्ययन, धैर्यपूर्ण चिन्तन, भाषिक क्षमता र विचार निर्माणका लागि किताबको भूमिका अझै महत्वपूर्ण रहेको बताएका थिए। स्क्रिनले धेरै कुरा देखाउन सक्छ, तर किताबले ती कुरालाई गहिरिएर बुझ्न सिकाउने उनीहरूको भनाइ थियो।
डिजिटल युगमा किताब पढ्ने तरिका परिवर्तन भए पनि पठन संस्कृतिको आवश्यकता अझ बढेको भन्दै आयोजकले किताब मेलालाई पाठक, लेखक र साहित्यप्रेमीबीचको भेटघाट तथा संवादको अवसरका रूपमा समेत विकास गर्ने जनाएको छ।
कार्यक्रमको सञ्चालन साहित्य पत्रकार मञ्चका सचिव भरत प्रसाईँले गरेका थिए।

