
विराटनगर – दसैं, तिहार तथा छठ पर्वमा घर फर्किने यात्रुको भिड बढ्न थालेसँगै कोशी प्रदेशमा प्रहरीले सार्वजनिक यातायातमा हुने ठगी, बढी भाडा असुली र यात्रुमाथिको दुर्व्यवहार नियन्त्रण गर्न निगरानी तीव्र बनाएको छ।

यात्रु समस्यामा परेपछि प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यले प्रदेशका १४ वटै जिल्लाका ४८ स्थानमा शुक्रबारदेखि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। मोरङका १० स्थानमा स्थापना गरिएका सहायता कक्षसहित प्रदेशभर प्रहरी र यातायात क्षेत्रका प्रतिनिधि परिचालन भएका छन्।
विराटनगर बसपार्कमा शुक्रबार कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले यात्रु सहायता कक्षको उद्घाटन गर्दै चाडपर्वको यात्रालाई सुरक्षित र मर्यादित बनाउन प्रहरीको उपस्थिति सडकदेखि बसपार्कसम्म प्रभावकारी बनाइने बताए।

यात्राका क्रममा बढी भाडा लिने, टिकटमा ठगी गर्ने, यात्रुलाई दुर्व्यवहार गर्ने वा अन्य समस्या सिर्जना भए सहायता कक्षमै गुनासो गर्न उनले आग्रह गरे। यात्रुका समस्या सुन्ने मात्र नभई तत्काल समाधान गर्ने गरी व्यवस्था मिलाइएको उनको भनाइ थियो।
‘यात्राका क्रममा समस्या परे प्रहरी कार्यालय खोज्दै हिँड्नुपर्ने अवस्था आउने छैन। सहायता कक्षबाटै यात्रुका गुनासा सुन्ने र तत्काल समाधान गर्ने व्यवस्था मिलाइएको छ,’ डीआईजी खनालले भने।
चाडपर्वको सुरक्षा सार्वजनिक यातायातमा हुने ठगी र अव्यवस्थामा मात्र सीमित नरहेको उल्लेख गर्दै उनले जुवातास, मादक पदार्थ सेवन (मापसे) तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रणमा समेत प्रहरी सक्रिय रहेको बताए। बसपार्क र सार्वजनिक स्थल संवेदनशील क्षेत्र भएकाले कुनै गडबडी देखिए तत्काल प्रहरीलाई खबर गर्न उनले सर्वसाधारणसँग आग्रह गरे।
बाढीपहिरोका कारण सडक यात्रा प्रभावित भइरहेका बेला यात्रुको सुरक्षा, ट्राफिक नियमको पालना र सहज आवागमनका लागि यातायात व्यवसायी, मजदुर, प्रहरी तथा अन्य सरोकारवालाबीच समन्वय आवश्यक रहेको खनालले बताए।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले चाडपर्वमा यात्रुले भोग्ने समस्याको प्रकृति हेरेर सवारीसाधनमाथि निगरानी बढाइएको जानकारी दिए। उनका अनुसार बढी भाडा असुली, यात्रुलाई जथाभावी तानातान गर्ने, सामानको सुरक्षा नगर्ने, आरक्षण सिट कार्यान्वयन नगर्ने र क्षमताभन्दा बढी यात्रु राख्ने समस्या चाडपर्वमा बढी देखिने गरेका छन्।
त्यस्तै एउटै सिटमा एकभन्दा बढी यात्रुलाई टिकट काट्ने, यात्रुलाई गन्तव्यसम्म नपुर्याउने, अमर्यादित व्यवहार गर्ने, मापदण्डविपरीत सवारी सञ्चालन गर्ने तथा यात्रुलाई बीच बाटोमै अलपत्र पार्ने गतिविधिमाथि पनि निगरानी राखिएको कटवालले बताए।
यात्रुलाई अस्वस्थकर खाना खान बाध्य पार्ने, गैरकानुनी रूपमा वस्तु तथा सेवा बिक्री गर्ने र अन्य माध्यमबाट यात्रुलाई मर्कामा पार्ने कार्य रोक्न प्रहरी परिचालन गरिएको उनको भनाइ छ। ‘यात्रुमैत्री व्यवहार नगर्ने र यात्रुलाई अनावश्यक दुःख दिनेले उन्मुक्ति पाउने छैनन्। त्यस्ता गतिविधिमा संलग्नलाई तत्काल कारबाहीको दायरामा ल्याइनेछ,’ एसपी कटवालले भने।
मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले यात्रुको चाप व्यवस्थापनसँगै सहज, सुरक्षित र भरपर्दो यात्रा सुनिश्चित गर्न सहायता कक्ष स्थापना गरिएको बताए। यातायात व्यवसायी र ट्राफिक प्रहरीको सक्रियतामा स्थापना गरिएका कक्षलाई प्रभावकारी बनाउन प्रहरी परिचालन गरिएको उनले जानकारी दिए। यात्राका क्रममा समस्या आए सहायता कक्ष, ट्राफिक प्रहरी वा नजिकको सुरक्षा निकायमा जानकारी गराउन आग्रह गर्दै न्यौपानेले यातायात व्यवसायीलाई यात्रुको सुरक्षा र सुविधालाई प्राथमिकतामा राखेर सवारी सञ्चालन गर्न अनुरोध गरिएको बताए।
त्यस्तै, सुनसरीको इटहरी बसपार्कमा पनि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। घर फर्किने र गन्तव्यतर्फ जाने यात्रुका गुनासा सुन्ने तथा सार्वजनिक यातायातसँग सम्बन्धित समस्या तत्काल समाधान गर्न सहजीकरण गर्ने उद्देश्यले कक्ष स्थापना गरिएको हो।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी दीपक गिरीले सार्वजनिक यातायातमा हुने बढी भाडा असुली, टिकटमा ठगी र यात्रुमाथिको दुर्व्यवहार रोक्न सहायता कक्षले महत्वपूर्ण भूमिका खेल्ने बताए।
‘यात्रु सहायता कक्षमार्फत यात्राका क्रममा सर्वसाधारणलाई आइपर्ने समस्या तथा सार्वजनिक यातायातसँग सम्बन्धित गुनासाहरू सम्बोधन गरिनेछ। यसबाट चाडपर्वका समयमा यात्रुलाई सुरक्षित र सहज रूपमा गन्तव्यसम्म पुग्न सहयोग पुग्नेछ,’ गिरीले भने।
उनका अनुसार कोशी प्रदेशका १४ वटै जिल्लाका ४८ स्थानमा सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। भारतसँग जोडिएका चार प्रमुख नाकामा समेत छुट्टै सहायता कक्ष स्थापना गरिएको छ। इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, मोरङको रानी र सुनसरीको कोशी कटानमा रहेका कक्षले भारतबाट आउने यात्रुलाई सहजीकरण गर्ने गिरीले बताए। मुलुकका विभिन्न स्थानबाट सार्वजनिक सवारी प्रयोग गरी चाडपर्व मनाउन आवतजावत गर्ने यात्रुको सुरक्षा र सुविधालाई ध्यानमा राखेर सडकमा निगरानी बढाइएको उनले जानकारी दिए। बाढीपहिरोका कारण सडक यात्रा सहज नरहे पनि क्रमशः अवस्था सुधार हुने अपेक्षा गरिएको उनको भनाइ छ।
‘चाडपर्वमा सवारीसाधनमा यात्रुको चाप धेरै हुन्छ। सहायता कक्षले सर्वसाधारणको यात्रालाई सहज, सुरक्षित एवं भरपर्दो बनाउन, यात्रुमैत्री वातावरण तयार पार्न तथा सार्वजनिक सवारीलाई नियमन र निगरानी गर्न सहज बनाउनेछ,’ उनले भने।यातायात व्यवसायीहरूले पनि चाडपर्वमा यात्रुमैत्री सेवा प्रवाह गर्न व्यवसायी र मजदुर प्रतिबद्ध रहेको बताएका छन्। सार्वजनिक सवारीसाधन र बसपार्कमा हुन सक्ने गलत गतिविधि नियन्त्रणका लागि प्रहरीको सक्रियता आवश्यक रहेको उनीहरूको भनाइ छ। यात्रुको सुरक्षा र सुविधालाई प्रहरी, व्यवसायी, मजदुर तथा यात्रु सबैको साझा जिम्मेवारीका रूपमा लिनुपर्नेमा उनीहरूले जोड दिएका छन्।

