
काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले खाना पकाउने एलपीजी ग्यासको आपूर्ति सहज बन्दै गएको दाबी गरेका छन्।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मन्त्री साहले हाल एलपीजीको लोडिङ, ढुवानी, भण्डारण, रिफिलिङ, वितरण, डिलर हुँदै उपभोक्तासम्म पुग्ने प्रक्रियामा रहेका समस्या पहिचान गरी समाधानका लागि काम भइरहेको जानकारी दिए।
उनले ग्यासको आपूर्ति सहज बनाउन सरकारले मागको भौगोलिक असन्तुलन, बजार व्यवस्थापन र सुरक्षा लगायतका पक्षलाई विश्लेषण गरेको पनि बताए। उनले ग्यास अभावको समस्या समाधानको लागि सरकारले तत्कालीक, मध्यम दीर्घकालीन गरी उर्जा सुरक्षा योजना निर्माण गरिरहेको दाबी गरे। उनले ग्यासको भण्डारण क्षमता विस्तार, बोटलिङ तथा वितरण क्षमता वृद्धि र आपत्कालीन मौज्दातको व्यवस्था गर्न सरोकारवालासँग छलफल भइरहेको समेत जानकारी दिए।

‘आयात, ढुवानी, सडक, रिफिलिङ क्षमता, भण्डारण, वितरण, मागको भौगोलिक असन्तुलन, बजार व्यवस्थापन र सुरक्षा लगायतका कारणहरू पहिचान गरेर काम गरिरहेका छौँ’, उनले भने, ‘हाम्रा रणनीति तीन तहमा छन्, तत्काल राहत, मध्यम अवधिमा प्रणाली सुधार, र दीर्घकालीन ऊर्जा सुरक्षा । एलपीजीको भण्डारण क्षमता बढाउने, बोटलिङ तथा डिस्ट्रिब्युसन क्यापासिटी सुधार गर्ने र इमर्जेन्सी स्टकको व्यवस्था गर्ने विषयमा पनि सरोकारवालासँग निरन्तर छलफल भइरहेको छ । दैनिक उपभोग्य वस्तुको आपूर्ति, त्यस्तै दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति र मूल्य नियन्त्रण हाम्रो अर्को प्राथमिकता हो।’
उनले आफूले पदभार ग्रहण गरेलगत्तै ग्यासको आपूर्ति समस्याको प्राविधिक विश्लेषण गर्दै ‘फिसबोन डायाग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गरेको उल्लेख गरे। आपूर्ति प्रणालीको महत्त्वपूर्ण अवरोधका रूपमा कृष्णभीर पहिरो पहिचान भएपछि सडक खुलाउन दोब्बर जनशक्ति र मेसिनरी परिचालन मन्त्री शाहले बताए। उनले दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति र मूल्य नियन्त्रणको विषय समेत सरकारको प्राथमिकतामा रहेको बताए। बजार अनुगमनलाई व्यवसायीलाई आतंकित बनाउने माध्यम नभई स्वच्छ प्रतिष्पर्धा र उपभोक्ता अधिकार संरक्षणको साधनका रूपमा अघि बढाउने उनले बताए।
उनले चाडबाडको समयमा बजार अनुगमनमा कडाई गरिएको भन्दै कुनै पनि व्यवसायीले उपभोक्ता हितविपरीत काम गरे कानूनअनुसार कारबाही हुने बताए।

