
वराहक्षेत्र- कोशी प्रदेशको इटहरीमा आयोजना गरिएको सातदिने रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवाको आकर्षण बढेको छ ।

नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा इटहरीस्थित सोल्टी होटेलको प्राङ्गणमा सञ्चालन हुँदै आएको मेलामा रोजगारी खोज्ने युवा, विद्यार्थी वैदेशिक रोजगारीबाट फर्किएका युवा र विभिन्न क्षेत्रका रोजगारदाताको सहभागिता रहेको छ । मेलामा सूचना प्रविधि, हस्तकला, होटेल तथा पर्यटन, प्राविधिक सिप, घरेलु व्यवसाय, वैदेशिक रोजगारीलगायतका क्षेत्रमा रोजगारी तथा सिपका अवसरबारे जानकारी दिने व्यवस्था गरिएको छ । सिप विकासका लागि विभिन्न तालिमका लागि आवेदन दिन सकिने व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ ।
रामधुनी–४ का ३६ वर्षीय राजकिशोर मेहता आफ्ना गाउँका साथीभाइसँग रोजगारी तथा सिपको अवसर खोज्दै मेलामा पुग्नुभयो । एक जनाले एसी मेकानिकको तालिम लिएको र प्लम्बिङ क्षेत्रमा जान चाहेकाले रोजगारीका अवसरबारे बुझ्न आएको उहाँले बताउनुभयो । सिप सिकेर दक्ष जनशक्ति बन्न सकियो भने रोजगारीका अवसर बढ्छन् भन्ने लागेर मेला आएको उहाँले बताउनु भयो ।

इनरुवाका २० वर्षीय बुद्धशरण पण्डित स्नातक तहमा अध्ययनरत हुनुहुन्छ । पहिलो पटक रोजगार मेलामा पुगेको बताउँदै उहाँले अध्ययनसँगै थप सिप सिक्ने अवसर खोजिरहेको बताउनुभयो । अध्ययनसँगै अतिरिक्त सिप सिक्ने इच्छा भएर आएको उहाँले बताउनुभयो । इटहरीको जनता क्याम्पसमा अध्ययरत तेह्रथुमका प्रवेश कार्कीले रोजगार मेला उपयोगी लागेको बताउनुभयो । उहाँले मेलामा सिप तालिमका साथै रोजगारीका लागि आवेदन दिने व्यवस्था रहेकाले बेरोजगार युवाका लागि मेला उपयोगी भएको उहाँको भनाइ छ । रामधुनी–६ की लिजा चौधरीले स्नातक तहको अध्ययन पूरा गरेपछि रोजगारी खोजीमा निःशुल्क सिप तालिमबारे जानकारी लिन र लेखाक्षेत्रमा रोजगारीको अवसर खोज्न मेलामा आएको उहाँले सुनाउनुभयो ।
स्थानीय दीपेन्द्र केसीले रोजगारदाता र रोजगारी खोज्ने युवाबिच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने माध्यमका रूपमा मेलाले काम गर्ने बताउनुभयो । रोजगारी सिर्जना, स्वरोजगार प्रवर्धन र आवश्यक दक्ष जनशक्ति उत्पादनमा यस्ता कार्यक्रम उपयोगी हुने उहाँको भनाइ छ ।
रोजगारदाता र रोजगारी खोज्नेलाई एउटै ठाउँमा ल्याएर आवश्यक सिप र रोजगारीका अवसरबारे जानकारी गराउनु मेलाको मुख्य उद्देश्य रहेको बताइएको छ । मेलामा करिब ७५ वटाभन्दा बढी स्टल राखिएको आयोजकले जनाएको छ । विभिन्न कम्पनी, उद्योग तथा व्यावसायिक संस्थाले आफूलाई आवश्यक पर्ने जनशक्ति र सिपबारे जानकारी दिने तथा रोजगारीका लागि आवेदन लिने व्यवस्था गरिएको छ ।
मेलामा सहभागी युवाले रोजगारीका लागि आवेदन दिने, सिप तालिमबारे जानकारी लिने र रोजगारदातासँग प्रत्यक्ष कुराकानी गर्ने अवसर पाएका छन् । विद्यार्थी, बेरोजगार युवा तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाको समेत मेलामा उल्लेख्य सहभागिता रहेको छ । असोज २० गतेसम्म चल्ने मेलामा विभिन्न १० विधामा अल्पकालीन सिपमूलक तालिम सञ्चालन गरिने छ । जस अन्तर्गत उद्यमशीलता विकास तथा व्यावसायिक योजना, बारिस्टा, अचार बनाउने, मेकअप तथा नेल आर्ट, आतिथ्य सत्कार तथा सञ्चार कला, कुक तथा वेटर, आधारभूत लेखा, सिटी सफारी तथा विद्युतीय सवारी (इभी)मर्मत र एसी मर्मतसम्बन्धी तालिम सञ्चालन हुने छन् ।
मेला अवधिभर युवालाई सिपसम्बन्धी जानकारी, रोजगारीका अवसरबारे परामर्श तथा सम्बन्धित रोजगारदातासँग प्रत्यक्ष संवाद गर्ने वातावरण मिलाइएको आयोजकले जनाएको छ ।

