मेचीनगर । मेचीनगरको जोरसिमल क्षेत्रमा सशस्त्र प्रहरीले गर्दै आएको सवारी चेकिङलाई लिएर समर्थन र आलोचना दुवै भइरहेका बेला आइतबार निन्दा पुलमाथि गरिएको चेकिङप्रति सर्वसाधारणले चर्को असन्तुष्टि जनाएका छन्।
सवारीसाधन जाँच गर्ने प्रहरीको अधिकार भए पनि चेकिङका लागि स्थान छनोटमा भने संवेदनशीलता नअपनाइएको सर्वसाधारणको गुनासो छ। पुलमाथि नै सवारीसाधन रोकाएर गरिएको चेकिङका कारण सवारीको लामो जाम भएपछि दुर्घटनाको जोखिमसमेत बढेको उनीहरूको भनाइ छ।

विशेषगरी पुलको साँघुरो भागमा सवारी रोकिँदा अगाडिबाट आउने र पछाडिबाट जाने सवारीलाई सहज रूपमा आवतजावत गर्न समस्या भएको थियो। चेकिङका क्रममा बनेको जामले कुनै आकस्मिक अवस्था आएमा एम्बुलेन्स, दमकललगायतका अत्यावश्यक सवारीसाधनसमेत प्रभावित हुनसक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
‘चेकिङ गर्न पाउनुहुन्छ, तर पुलमै सवारी रोकाएर चेकिङ गर्नु कति सुरक्षित हो रु’ एक सर्वसाधारणले प्रश्न गर्दै भने, ‘चेकिङका लागि सुरक्षित र फराकिलो स्थान छनोट गर्नुपर्छ। चेकिङकै कारण दुर्घटनाको जोखिम बढ्नु हुँदैन।’

सर्वसाधारणले सवारी चेकिङलाई रोक्नुपर्ने नभई चेकिङ गर्ने स्थान र तरिका व्यवहारिक, सुरक्षित र यात्रुमैत्री बनाउनुपर्ने माग गरेका छन्। सडक सुरक्षाका दृष्टिले संवेदनशील स्थानमा सवारी रोकाएर गरिने चेकिङले उद्देश्यभन्दा विपरीत जोखिम निम्त्याउन सक्ने उनीहरूको भनाइ छ।
यस विषयमा सशस्त्र प्रहरी कार्यालयमा सम्पर्क गर्दा अर्को नम्बरमा सम्पर्क गर्नु भन्ने जवाफ पाएपछि डिएसपी सुजित विष्टको ९८५१२५९५९५ उल्लेख गरिएको मोवाइलमा सम्पर्क हुन सक्दैन भन्ने टेलिकमको डिजिटल जवाफ आउने गरेको छ । यस विषयमा सम्बन्धित पक्षको ध्यान जान जरुरी छ ।

