Aamsanchar

“शिक्षकको दर्जा होइन, शिक्षाको स्तर हेर सरकार!”

Author Image
सोमवार, असोज १९, २०८३

हरिश अवस्थी
कर्णाली माध्यमिक विद्यालय, टीकापुर–१, कैलाली

नेपालको शिक्षा क्षेत्रमा सबैभन्दा धेरै दोहोरिएको शब्दमध्ये एउटा हो—‘गुणस्तरीय शिक्षा’। सरकारका नीति तथा कार्यक्रमदेखि मन्त्रीका भाषणसम्म शिक्षा सुधारको कुरा नआएको दिन सायदै होला। तर प्रश्न यहाँनेर छ—गुणस्तरीय शिक्षा कसले दिने? विद्यालयमा विद्यार्थीलाई पढाउने शिक्षक को हुन्? उनीहरूको भविष्य कस्तो छ? राज्यले उनीहरूलाई कस्तो व्यवहार गरिरहेको छ?

यी प्रश्नको जवाफ खोज्न थाल्ने हो भने नेपालको शिक्षा प्रणालीभित्रको एउटा गम्भीर विरोधाभास हाम्रो अगाडि उभिन्छ।

एउटै विद्यालय। एउटै कक्षाकोठा। एउटै पाठ्यक्रम। एउटै विद्यार्थी। एउटै परीक्षा। एउटै शैक्षिक परिणामको जिम्मेवारी।

तर शिक्षक भने फरक–फरक।

कोही स्थायी, कोही राहत, कोही अस्थायी, कोही करार, कोही प्राविधिक धार, कोही संघीय अनुदान र कोही अन्य शीर्षकमा।

विद्यार्थीलाई यी नामको अर्थ थाहा हुँदैन। उसलाई यति मात्र थाहा हुन्छ—‘सर/म्यामले मलाई पढाउनुहुन्छ।’

तर राज्यले शिक्षकको पहिचान उसको कक्षाकोठाको कामबाट होइन, नियुक्तिको प्रकृतिबाट निर्धारण गरिरहेको देखिन्छ।

त्यसैले सरकारलाई मेरो पहिलो प्रश्न छ—यदि राहत, अस्थायी, प्राविधिक धार, संघीय अनुदान वा अन्य प्रकृतिका शिक्षक शिक्षक होइनन् भने उनीहरूलाई कक्षाकोठामा विद्यार्थीको भविष्य जिम्मा लगाएर पढाउन किन लगाइयो?

र यदि उनीहरू शिक्षक हुन् भने उनीहरूको भविष्यचाहिँ किन अस्थायी?

यो प्रश्न कुनै व्यक्तिविशेषको जागिर जोगाउने प्रश्न मात्र होइन। यो नेपालको शिक्षा प्रणाली कस्तो बनाउने भन्ने प्रश्न हो।

विज्ञापन खोल्ने कि समस्या समाधान गर्ने?

सरकारले शिक्षक अभाव छ भन्छ। विद्यालयले शिक्षक चाहियो भन्छ। विद्यार्थीको संख्या बढ्छ। विषय थपिन्छन्। कक्षा थपिन्छन्। तर दरबन्दी पर्याप्त हुँदैन।

त्यसपछि कुनै न कुनै नाममा शिक्षक व्यवस्थापन गरिन्छ।

केही समयपछि फेरि नयाँ विज्ञापन। फेरि नयाँ शिक्षक। फेरि नयाँ नियुक्ति। अनि केही वर्षपछि उही समस्या।

यो क्रम कहिलेसम्म?

यदि सरकारलाई शिक्षक आवश्यक छ भने स्थायी दरबन्दी किन सिर्जना गर्दैन?

स्थायी दरबन्दी सिर्जना गर्न सकिँदैन भने अस्थायी प्रकृतिका शिक्षकको विज्ञापन किन खोलिरहने?

अस्थायी शिक्षकबाट विद्यालय चलाउन मिल्छ भने स्थायी शिक्षक आवश्यक छैन भन्न सकिन्छ?

स्थायी शिक्षक नै आवश्यक छ भने वर्षौँदेखि यही काम गरिरहेका योग्य शिक्षकलाई व्यवस्थापन गर्ने दीर्घकालीन नीति किन बन्दैन?

सरकारले हरेकपटक नयाँ विज्ञापन निकाल्नु नै समाधान हो भन्ने सोच बनाएको छ भने त्यो समाधान होइन, समस्यालाई केही समयका लागि अर्को कुनामा सार्ने काम मात्र हो।

काम स्थायी, शिक्षक अस्थायी!

नेपालको सार्वजनिक शिक्षामा एउटा अचम्मको अवस्था छ।

विद्यालय स्थायी छ। विद्यार्थी स्थायी रूपमा आउँछन्। पाठ्यक्रम स्थायी छ। कक्षा सञ्चालनको आवश्यकता स्थायी छ। सरकारको शिक्षा दिने संवैधानिक दायित्व स्थायी छ।

तर त्यो जिम्मेवारी पूरा गर्ने शिक्षकको भविष्य अस्थायी छ।

यो कस्तो शिक्षा नीति हो?

वर्षौँदेखि विद्यालयमा पढाएको शिक्षकलाई आजसम्म ‘अस्थायी’ भनिरहने, तर त्यही विद्यालयमा भोलि फेरि अर्को अस्थायी शिक्षक खोजिरहने प्रणाली कति तर्कसंगत छ?

शिक्षकलाई वर्षौंसम्म काम लगाउने, उसको अनुभव उपयोग गर्ने, विद्यार्थीको जिम्मेवारी दिने, परीक्षा सञ्चालन गराउने, नतिजाको जिम्मेवारी लिन लगाउने अनि आवश्यकता सकिएपछि ‘तपाईं त अस्थायी हुनुहुन्छ’ भन्ने राज्यको व्यवहारमाथि प्रश्न उठाउनैपर्छ।

खुला प्रतिस्पर्धाको विरोध कसैले गर्नु हुँदैन। योग्य शिक्षक छनोट हुनुपर्छ। शिक्षक सेवा आयोग वा कानुनले तोकेको प्रतिस्पर्धात्मक प्रक्रिया आवश्यक छ।

तर प्रतिस्पर्धाको नाममा राज्यले आफैँले वर्षौँदेखि निर्माण गरेको जनशक्तिको अनुभव र योगदानलाई शून्य मानेर हरेकपटक नयाँ सुरुवात मात्र गर्ने हो भने त्यसको पनि समीक्षा आवश्यक छ।

शिक्षकको मूल्य नियुक्तिको कागजले कि कामले?

कहिलेकाहीँ हामी स्थायी शिक्षक भनेपछि स्वतः उत्कृष्ट र अस्थायी शिक्षक भनेपछि कमजोर भन्ने मानसिकतामा पुगेका छौँ। यो मानसिकता पनि गलत हो।

स्थायी हुनु भनेको नियुक्तिको प्रकृति हो। उत्कृष्ट हुनु भनेको क्षमता, मेहनत, अनुशासन, विषयगत दक्षता, विद्यार्थीप्रतिको व्यवहार र कार्यसम्पादन हो।

त्यसैगरी अस्थायी हुनु भनेको खराब शिक्षक हुनु होइन।

देशका धेरै विद्यालयमा अस्थायी प्रकृतिमा काम गरिरहेका शिक्षकले अत्यन्तै राम्रो काम गरिरहेका छन्। कतिपयले वर्षौँदेखि विद्यार्थीको सिकाइमा योगदान दिएका छन्। सीमित स्रोतसाधनका बीच पनि कतिपय विद्यालयले राम्रो नतिजा निकालिरहेका छन्।

विशेषगरी विद्यालयका गणित, विज्ञान र अंग्रेजीजस्ता प्रमुख विषयमा कार्यरत धेरै शिक्षक अस्थायी वा अन्य अस्थिर प्रकृतिको सेवामा रहेर पनि विद्यालयको शैक्षिक भार धानिरहेका छन्।

उनीहरूले कक्षाकोठामा बढी जिम्मेवारी बहन गर्ने, विद्यार्थीको सिकाइ सुधारमा बढी समय दिने र विद्यालयको परिणामका लागि काम गर्ने अवस्था हुँदाहुँदै उनीहरूकै भविष्य सबैभन्दा बढी अनिश्चित हुनु गम्भीर प्रश्न हो।

तर यसको अर्थ अस्थायी शिक्षक भएकै कारण विद्यालय राम्रो हुन्छ वा स्थायी शिक्षक भएकै कारण विद्यालय कमजोर हुन्छ भन्ने होइन।

विद्यालयको परिणाममा प्रधानाध्यापकको नेतृत्व, शिक्षकको कार्यसम्पादन, विद्यालय व्यवस्थापन, अभिभावकको सहभागिता, विद्यार्थीको अवस्था, स्रोतसाधन, अनुगमन र स्थानीय परिवेशलगायत धेरै पक्षको भूमिका हुन्छ।

तर एउटा कुरा स्पष्ट छ—शिक्षकको गुणस्तरलाई उसको नियुक्तिको नामले मात्र मापन गर्न मिल्दैन।

राज्यले बनाएको विभाजनको मूल्य कसले तिर्ने?

यदि गुणस्तर कामबाट मापन गर्ने हो भने शिक्षक व्यवस्थापनमा यति धेरै विभेद किन?

शिक्षकबीच सेवा सुविधा, अवसर, पेशागत विकास, बढुवा, भविष्यको सुरक्षा र सामाजिक सम्मानमा फरक हुँदा त्यसको असर शिक्षकमा मात्र पर्दैन। विद्यालयमा पर्छ। विद्यालयको वातावरणमा पर्छ। अन्ततः विद्यार्थीको सिकाइमा समेत पर्न सक्छ।

एउटा शिक्षकलाई भोलि आफ्नो जागिर रहने हो कि होइन भन्ने चिन्ता छ। अर्को शिक्षकलाई सेवा सुविधा र भविष्यको सुनिश्चितता छ। एउटै स्टाफरुममा बसेर एउटै विद्यार्थी पढाउने शिक्षकबीच राज्यले नै बनाएको यस्तो विभाजनले दीर्घकालीन रूपमा पेशागत मनोबलमा असर गर्दैन भन्न सकिँदैन।

त्यसैले शिक्षकलाई केवल ‘दरबन्दीको संख्या’ भनेर नहेरौँ।

शिक्षक पनि मानव स्रोत हुन्। उनीहरूको मनोबल, सुरक्षा, पेशागत विकास र सम्मान पनि शिक्षाको गुणस्तरकै हिस्सा हो।

अब कि स्पष्ट नीति बनाऊ, कि विज्ञापनको खेल बन्द गर

सरकारसँग विकल्प स्पष्ट छन्।

देशलाई शिक्षक आवश्यक छ भने आवश्यकताका आधारमा स्थायी दरबन्दी सिर्जना गर।

पुराना अस्थायी प्रकृतिका शिक्षक आवश्यक छैनन् भने उनीहरूलाई वर्षौँसम्म काम लगाएर राख्ने नीति किन अपनाइयो, त्यसको जवाफ देऊ।

उनीहरू आवश्यक छन् र योग्य पनि छन् भने उनीहरूको व्यवस्थापनका लागि पारदर्शी प्रक्रिया बनाऊ।

योग्यता, अनुभव, अध्यापन अनुमतिपत्र, सेवा अवधि, कार्यसम्पादन र प्रतिस्पर्धात्मक परीक्षालाई आधार बनाएर न्यायोचित व्यवस्थापनको बाटो खोज।

तर एउटै कामका लागि आज एकथरी शिक्षक राख्ने, भोलि अर्कोथरी शिक्षक ल्याउने र पर्सि फेरि नयाँ विज्ञापन खोल्ने चक्र बन्द गर।

शिक्षक व्यवस्थापनमा अब टालटुले नीति होइन, दीर्घकालीन नीति चाहिन्छ।

देशभरका विद्यालयको वास्तविक विद्यार्थी संख्या, विषयगत आवश्यकता, भौगोलिक अवस्था र विद्यालयको कार्यभारका आधारमा शिक्षक दरबन्दी पुनरावलोकन गरिनुपर्छ।

कुन विद्यालयमा कति विद्यार्थी छन्?
कुन विषयमा कति शिक्षक आवश्यक छन्?
कहाँ शिक्षक बढी छन्?
कहाँ शिक्षकको चरम अभाव छ?
कुन विद्यालयमा वर्षौँदेखि अस्थायी प्रकृतिका शिक्षकले काम गरिरहेका छन्?
कति शिक्षक योग्य छन्?
कति शिक्षकले लामो सेवा गरेका छन्?

यी सबै तथ्यांक सार्वजनिक गरेर एउटा स्पष्ट राष्ट्रिय शिक्षक व्यवस्थापन नीति बनाउने बेला आइसकेको छ।

शिक्षक व्यवस्थापनमा राजनीति होइन, न्याय चाहिन्छ

शिक्षक कुनै राजनीतिक दलको कार्यकर्ता मात्र होइन। शिक्षक राज्यको मानव स्रोत हो।

त्यसैले शिक्षक व्यवस्थापन पनि राजनीतिक पहुँच, दबाब वा भागबण्डाबाट होइन, योग्यता, आवश्यकता, पारदर्शिता र न्यायका आधारमा हुनुपर्छ।

स्थायी शिक्षकको अधिकार खोस्नुपर्छ भन्ने कुरा होइन। उनीहरूले पनि प्रतिस्पर्धा गरेर सेवा प्रवेश गरेका छन्। उनीहरूको सेवा सुरक्षा पनि आवश्यक छ।

तर स्थायी शिक्षकको अधिकार जोगाउने नाममा अन्य शिक्षकलाई सधैँ दोस्रो दर्जाको व्यवहार गर्ने कुरा पनि न्यायोचित हुन सक्दैन।

त्यसैगरी अस्थायी शिक्षकको व्यवस्थापन गर्नुपर्छ भन्दै स्थायी शिक्षकको पेशागत सुरक्षा कमजोर बनाउने कुरा पनि स्वीकार्य हुँदैन।

हामीले खोजेको बाटो एकलाई हटाएर अर्कोलाई स्थापित गर्ने होइन। न्यायपूर्ण, सक्षम र समान प्रकृतिको शिक्षक व्यवस्थापन प्रणाली निर्माण गर्ने हो।

सरकारलाई केही सीधा प्रश्न

अब सरकारसँग फेरि केही सीधा प्रश्न गरौँ—

१. शिक्षक अभाव छ भने स्थायी दरबन्दी किन पर्याप्त छैन?

२. स्थायी दरबन्दी आवश्यक छैन भने राहत, अस्थायी, संघीय अनुदान र अन्य शीर्षकमा शिक्षक किन राखिन्छ?

३. वर्षौँदेखि काम गरिरहेका योग्य शिक्षकको अनुभवलाई राज्यले कुन मूल्यमा गणना गर्छ?

४. शिक्षकलाई कक्षाकोठामा समान जिम्मेवारी दिएर सेवा सुविधामा फरक पार्नुको दीर्घकालीन आधार के हो?

५. एउटै विद्यालयमा एउटै विद्यार्थी पढाउने शिक्षकको भविष्यमा यति ठूलो असमानता किन?

६. तह र श्रेणी एउटै वा समान जिम्मेवारी भएका शिक्षकबीच अधिकार र कार्यसम्पादनको व्यवहारमा विभेद किन?

७. यदि परीक्षा नै समाधान हो भने सबैका लागि स्पष्ट, पारदर्शी र न्यायोचित प्रक्रिया किन नबनाउने?

८. अस्थायी शिक्षकको समस्या समाधान नगरी फेरि नयाँ अस्थायी प्रकृतिका शिक्षक उत्पादन गर्नु कति वर्षसम्म चल्ने हो?

९. शिक्षकको संख्या मात्र गन्ने कि उनीहरूको कार्यसम्पादन, विषयगत दक्षता र विद्यालयको वास्तविक आवश्यकतालाई पनि आधार बनाउने?

र सबैभन्दा ठूलो प्रश्न—

सरकारलाई शिक्षक चाहिएको हो कि केवल स्थायी शिक्षकको प्रमाणपत्र मात्र चाहिएको हो?

अन्त्यमा…

शिक्षा कुनै एउटा सरकारको मात्र विषय होइन। यो पुस्ता निर्माणको विषय हो।

आज एउटा शिक्षकलाई अस्थायी बनाएर राख्दा त्यसको प्रभाव केवल एउटा शिक्षकको जीवनमा पर्दैन। त्यसको असर उसको परिवारमा पर्छ, विद्यालयमा पर्छ, विद्यार्थीमा पर्छ र अन्ततः देशको शैक्षिक प्रणालीमा पर्छ।

त्यसैले शिक्षक व्यवस्थापनको विषयलाई ‘कसको जागिर जोगाउने?’ भन्ने साँघुरो आँखाबाट हेर्न बन्द गरौँ।

प्रश्न हो—देशलाई कस्तो शिक्षक चाहिन्छ? विद्यालयलाई कस्तो मानव स्रोत चाहिन्छ? विद्यार्थीलाई कस्तो शिक्षक चाहिन्छ? र सबैभन्दा महत्वपूर्ण—राज्यले आफ्नै नीतिबाट सिर्जना गरेको शिक्षक व्यवस्थापनको समस्या कहिले समाधान गर्छ?

समाधान असम्भव छैन।

आवश्यकताका आधारमा स्थायी दरबन्दी निर्धारण गरौँ। योग्य जनशक्तिको वैज्ञानिक अभिलेख बनाऔँ। वर्षौँदेखि सेवा गरेका योग्य शिक्षकका लागि न्यायोचित व्यवस्थापनको बाटो खोलौँ। आवश्यक परे प्रतिस्पर्धात्मक परीक्षा लिऔँ। कार्यसम्पादनलाई आधार बनाऔँ। नयाँ अस्थायी समस्या उत्पादन गर्ने नीति बन्द गरौँ।

शिक्षकलाई पदको नामले होइन, योग्यता, क्षमता, जिम्मेवारी र योगदानले मूल्याङ्कन गरौँ।

किनकि अन्ततः विद्यार्थीले शिक्षकको नियुक्तिपत्र पढेर ज्ञान सिक्दैन। उसले शिक्षकको ज्ञान, व्यवहार, समर्पण र क्षमताबाट सिक्छ।

त्यसैले अब सरकारको परीक्षा हो—शिक्षकलाई कति प्रकारमा विभाजन गर्ने होइन, शिक्षण पेशालाई कति न्यायपूर्ण, सम्मानित, स्थिर र गुणस्तरीय बनाउने?

सरकारले यसको जवाफ दिनैपर्छ।

किनकि अस्थायी शिक्षकबाट स्थायी गुणस्तरको शिक्षा खोज्ने तर शिक्षकको भविष्यचाहिँ सधैँ अस्थायी राख्ने नीति अब धेरै लामो समय चल्न सक्दैन।

सक्छौ भने व्यवस्थापन गर। सक्दैनौ भने विस्थापित गर। तर वर्षौँदेखि विद्यालयको मेरुदण्ड बनेर काम गरिरहेका शिक्षकलाई पटक–पटक ‘अस्थायी’को ट्याग लगाएर आत्मग्लानीमा बाँच्न बाध्य बनाउने काम बन्द गर।

शिक्षकको भविष्य सुरक्षित नगरी गुणस्तरीय शिक्षाको भविष्य सुरक्षित हुँदैन।

Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर