
झापा- तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकप अन्तर्गत सोमबार भएको खेलमा झापा–११ विजयी भएको छ । ललितपुरको थ्री स्टार क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै झापा–११ ले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
खेलको ३२औँ मिनेटमा प्रताप चाम्लिङ राईले गोल गर्दै झापा–११ लाई अग्रता दिलाउनुभयो । ५७औँ मिनेटमा मिलन चाम्लिङ राईले गोल गर्दै थ्री स्टारलाई १–१ गोलको बराबरीमा फर्काउनु भयो ।

६३औँ मिनेटमा क्रिसल थापाले गोल गरेपछि थ्री स्टारले अग्रता बनाएको थियो । तर, ७६औँ मिनेटमा रोमन भुजेलले गोल गर्दै झापा–११ लाई पुनः २–२ गोलको बराबरीमा पुर्याउनुभयो । त्यसपछि दुवै टिमबाट गोल हुन नसकेपछि टाइब्रेकर खेल भएको थियो ।
टाइब्रेकरमा झापा–११ का रोमन भुजेल, प्रशान्त लक्सम, प्रदीप बुढाथोकी र निखिल तामाङले गोल गर्नुभयो । थ्री स्टारका सागर तिवारी, दोर्जे तामाङ र दिवश उराउले गोल गर्दा सुजन चौधरी र लेकन राईको प्रहार झापाका गोलरक्षक योगेश धिमालले बचाउनुभयो ।
निर्णायक बचाउ गर्नुभएका झापा–११ का गोलरक्षक धिमाल खेलको म्यान अफ दि म्याच घोषित हुनुभयो ।
कठिन जित निकाल्दै सेमिफाइनल पुगेको झापा–११ ले फाइनल प्रवेशका लागि बुधबार भारतको युकेएफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
गोल्डकप अन्तर्गत मंगलबार नेपाल पुलिस क्लब र रेडहर्स इलामबिच प्रतिस्पर्धा हुनेछ।

