Aamsanchar

रत्नपार्क–भक्तपुर मेट्रो : १४.६ किलोमिटर रेल, कतै भूमिगत कतै आकाशमा

Author Image
मङ्गलवार, असोज २०, २०८३

काठमाडौं । काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप र सार्वजनिक यातायातको समस्या समाधान गर्न सरकारले रत्नपार्कदेखि भक्तपुरसम्म मेट्रो रेल सञ्चालन गर्ने योजनालाई प्राथमिकतामा राखेको छ।

जापानी सहयोग नियोग (जाइका)को सहकार्यमा तयार पारिएको काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजनामा रत्नपार्क–भक्तपुर करिडोरलाई उच्च यात्रु चाप हुने पूर्व–पश्चिम रुटका रूपमा पहिचान गर्दै मेट्रो रेल सञ्चालनको प्रस्ताव गरिएको हो। प्रस्तावित रेलमार्ग करिब १४.६ किलोमिटर लामो हुनेछ।

गुरुयोजनाअनुसार मेट्रो रेलको संरचना सबै ठाउँमा एउटै प्रकृतिको हुने छैन। काठमाडौंको घना सहरी क्षेत्र र कोटेश्वर आसपासका संवेदनशील क्षेत्रमा रेललाई भूमिगत बनाउने तथा सडक फराकिलो भएका क्षेत्रमा एलिभेटेड अर्थात् सडकभन्दा माथि पिलरमा रेलमार्ग निर्माण गर्ने योजना छ।

रत्नपार्क, न्यूरोड तथा मुख्य सहरी क्षेत्रका पुराना संरचना, व्यापारिक गतिविधि र सडक यातायातलाई प्रभावित नपार्न भूमिगत संरचना उपयुक्त हुने अध्ययनले देखाएको छ। त्यस्तै, कोटेश्वर आसपासमा विमानस्थलको जग्गा तथा सडक संरचनाका कारण पनि केही खण्ड भूमिगत बनाउने प्रस्ताव गरिएको छ।

अध्ययनअनुसार करिब ९.७ किलोमिटर खण्ड एलिभेटेड संरचनामा निर्माण गर्ने प्रस्ताव छ। सडकको बीच भागमा पिलर खडा गरी त्यसैमाथि रेलमार्ग निर्माण गरिने भएकाले ठूलो मात्रामा जग्गा अधिग्रहण गर्नुपर्ने अवस्था कम हुनेछ।

मेट्रोका लागि छुट्टै ट्र्याक हुने भएकाले सडकमा हुने जामले रेलको सञ्चालनमा प्रत्यक्ष असर नपर्ने अपेक्षा गरिएको छ। बढ्दो जनसंख्या, निजी सवारीको वृद्धि र सीमित सडक पूर्वाधारका कारण रत्नपार्क–कोटेश्वर–भक्तपुर करिडोरमा भविष्यमा थप ट्राफिक चाप बढ्ने भएकाले यो रुटलाई प्राथमिकतामा राखिएको हो।

यस योजनामा मेट्रो रेललाई अन्य सार्वजनिक यातायात प्रणालीसँग समेत जोड्ने अवधारणा छ। बस र्‍यापिड ट्रान्जिटलगायतका प्रणालीसँग मेट्रोको समन्वय गरी यात्रुलाई सहज रूपमा एक माध्यमबाट अर्को माध्यममा स्थानान्तरण गर्न सकिने व्यवस्था विकास गर्ने लक्ष्य राखिएको छ।

तर, योजना कार्यान्वयनका लागि ठूलो आर्थिक लगानी, भूमिगत संरचना निर्माणको प्राविधिक चुनौती र डिपो तथा स्टेशनका लागि आवश्यक जग्गा व्यवस्थापन प्रमुख चुनौतीका रूपमा देखिएका छन्। प्रारम्भिक अध्ययनहरूले परियोजनाको लागत साढे दुई खर्ब रुपैयाँभन्दा बढी पुग्न सक्ने संकेत गरेका छन्। यस्तो ठूलो आयोजना नेपाल सरकारको आफ्नै स्रोतबाट मात्र निर्माण गर्न कठिन हुने भएकाले वैदेशिक ऋण तथा अन्य लगानीको विकल्प खोज्नुपर्ने देखिन्छ।

सरकारले यसअघि पनि काठमाडौं उपत्यकामा मेट्रो रेलका विभिन्न रुटबारे अध्ययन गर्दै आएको थियो। पछिल्लो चरणमा भने रेल विभागले नारायणगोपाल चोक–चाबहिल–कोटेश्वर–सातदोबाटो–रत्नपार्क हुँदै पुनः नारायणगोपाल चोक जोड्ने २७.५ किलोमिटर रुटको डीपीआर तयार गर्न अन्तर्राष्ट्रिय परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको छ। रत्नपार्क–भक्तपुर खण्डको पनि पूर्वसम्भाव्यता अध्ययन अघि बढाउने तयारी भइरहेको छ।

गुरुयोजनाले रत्नपार्क–भक्तपुर मेट्रो सञ्चालनको लक्ष्य करिब सन् २०४० आसपास राखेको छ। योजना कार्यान्वयन भए उपत्यकाको सार्वजनिक यातायात प्रणालीमा ठूलो परिवर्तन आउने र रत्नपार्कदेखि भक्तपुरसम्मको यात्रालाई सडकको जामबाट अलग, छिटो र व्यवस्थित बनाउन सकिने अपेक्षा गरिएको छ।

Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर