Aamsanchar

पहिले पार्टीको काममा बढी देखिन्थे सांसद, अहिले संसद्को काममा सक्रियता : प्रकाश पाठकको ६ महिने रिपोर्ट कार्ड

संसदमा ९२.९४ प्रतिशत उपस्थिति, २३ पटक वक्तव्य र १३ वटा संशोधन प्रस्ताव

Author Image
मङ्गलवार, असोज २०, २०८३

बिर्तामोड । विगतमा सांसदहरू पार्टीका आन्तरिक गतिविधि र राजनीतिक कार्यक्रममा बढी सक्रिय देखिने गरेको चर्चा हुने गरे पनि पछिल्लो समय संसद् र जनसरोकारका विषयमा सांसदहरूको भूमिकालाई पनि उनीहरूको कामको महत्वपूर्ण आधारका रूपमा हेर्न थालिएको छ।
यही सन्दर्भमा झापा क्षेत्र नम्बर ३ का सांसद प्रकाश पाठकले आफ्नो जिम्मेवारी सम्हालेपछिको ६ महिनाको कार्यसम्पादन विवरण सार्वजनिक गरेका छन्। विवरणअनुसार संसद् उपस्थिति, सदनमा विषय उठान, विधेयकमाथिको छलफल तथा संशोधन प्रस्तावदेखि निर्वाचन क्षेत्रका नागरिकसँगको प्रत्यक्ष सम्पर्कसम्मका गतिविधि समेटिएका छन्।

संसदमा ९२.९४ प्रतिशत उपस्थिति
पाठकको विवरणअनुसार ६ महिनाको अवधिमा प्रतिनिधिसभाका ७१ बैठकमध्ये ६५ बैठकमा उनको उपस्थिति रहेको छ। संसदीय समितिका १४ वटै बैठकमा उनी उपस्थित भएको उल्लेख छ।
संसद् तथा समितिका बैठकलाई आधार मान्दा उनको कुल उपस्थिति ९२.९४ प्रतिशत रहेको विवरणमा उल्लेख छ।

२३ पटक सदनमा वक्तव्य
सदनमा पनि पाठकले विभिन्न विषय उठाएका छन्। विवरणअनुसार उनले शून्य समयमा १५, आकस्मिक समयमा ५ र विशेष समयमा ३ पटक गरी २३ पटक वक्तव्य दिएका छन्।
सदनमा उठाइएका विषयमध्ये कृषि उपजको समर्थन मूल्य तथा किसानका समस्या, पाठ्यपुस्तक र विद्यालय पोशाकमा एकरूपता, हात्तीको समस्या तथा नियन्त्रण, हुलाकी राजमार्गको मापदण्ड र अलपत्र कनकाई पुल प्रमुख छन्।
त्यस्तै प्रादेशिक अस्पताल भद्रपुरको समस्या, डिजिटल ठगी तथा नियमन, झापामा बन्द रहेका उद्योग सञ्चालन, विद्युतीय सवारीसाधनका सुरक्षा कमजोरी, बलात्कार तथा जघन्य अपराधमा कडा कानुन, रेलमार्ग पीडितका समस्या तथा मुआब्जा र घाइते जेनजीका मागका विषयमा समेत उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

पाँच विधेयकमाथि छलफल
पाठकले संसदमा प्रस्तुत पाँच वटा विधेयकमाथिको छलफलमा सहभागिता जनाएको विवरणमा उल्लेख छ।
सहकारी पहिलो संशोधन विधेयक, अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि–१९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल–२९, राष्ट्रिय सेवा दल विधेयक–२०८३, खानी तथा खनिज पदार्थ विधेयक–२०८३ तथा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयकमाथिको छलफलमा उनले सहभागिता जनाएका छन्।

तीन विधेयकमा १३ संशोधन प्रस्ताव
पाठकले तीन वटा विधेयकमा गरी १३ वटा दफा संशोधनको प्रस्ताव दर्ता गरेको विवरणमा उल्लेख छ।
‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण पहिलो संशोधन विधेयक–२०८३’ मा पाँच वटा, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन–२०७५ लाई संशोधन गर्न बनेको विधेयक–२०८३’ मा पाँच वटा तथा ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन–२०६६ लाई संशोधन गर्न बनेको विधेयक–२०८३’ मा तीन वटा दफा संशोधनको प्रस्ताव दर्ता गरिएको जनाइएको छ।

निर्वाचन क्षेत्रमा चार पटक
संसद्को कामसँगै पाठकले आफ्नो निर्वाचन क्षेत्रमा पनि चार पटक भ्रमण गरेको विवरण सार्वजनिक गरेका छन्। ती भ्रमणका क्रममा मतदाता तथा नागरिकसँग प्रत्यक्ष अन्तरक्रिया गरेको उनको दाबी छ।

पार्टीगत गतिविधिमा पनि सहभागिता
पाठकको ६ महिनाको विवरणमा पार्टीगत गतिविधिलाई पनि समेटिएको छ।
जिल्ला अधिवेशन सम्पन्न गरी पद हस्तान्तरण, प्रदेश तथा केन्द्रीय अधिवेशनमा सहभागिता, बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःउत्थानका गतिविधि तथा पार्टीका विभिन्न आन्तरिक बैठक र कार्यक्रममा सहभागिता जनाएको विवरणमा उल्लेख छ।
यसले सांसदको भूमिकामा संसदीय जिम्मेवारीसँगै पार्टीगत गतिविधि पनि निरन्तर रहेको देखाउँछ।

नागरिकका काममा सहजीकरण
सांसदको हैसियतमा विभिन्न नागरिकका समस्या समाधान तथा सहजीकरणमा समेत भूमिका निर्वाह गरेको विवरणमा उल्लेख छ।
विभिन्न मुलुकमा निधन भएका ९ जनाको शव स्वदेश ल्याउन सहजीकरण, कचनकवल–१ पिण्डलबारीमा झोलुङ्गे पुल निर्माणका लागि प्राविधिक टोलीको अनुगमन तथा प्रतिवेदन तयार गर्न पहल, जेईविरुद्धको खोप पहिलो चरणमा झापामा सञ्चालन गर्न विशेष पहल तथा विदेशमा अलपत्र परेका तीन जनालाई स्वदेश फर्काउन सहजीकरण गरेको जनाइएको छ।

मासिक ९० हजार ७० रुपैयाँ सेवा सुविधा
पाठकले सार्वजनिक गरेको विवरणअनुसार सांसदका रूपमा मासिक तलब ६६ हजार ७० रुपैयाँ, घरभाडा १८ हजार रुपैयाँ, सञ्चार सुविधा ३ हजार रुपैयाँ, धारा–बिजुली २ हजार रुपैयाँ र विशेष भत्ता १ हजार रुपैयाँ गरी कुल मासिक सुविधा ९० हजार ७० रुपैयाँ रहेको छ।
यसबाट पार्टी लेभीबापत १५ हजार रुपैयाँ तथा सामाजिक सुरक्षा कर र पारिश्रमिक करबापत १ हजार ५०७ रुपैयाँ कट्टा भएपछि मासिक ७३ हजार ५६३ रुपैयाँ प्राप्त हुने विवरणमा उल्लेख छ।
सदन वा समिति सञ्चालन भएको दिन बैठक भत्ताबापत १ हजार र यातायात भत्ताबापत १ हजार रुपैयाँ थप हुने जनाइएको छ।

अब प्रश्न कामको परिणाममा
सांसदको ६ महिनाको रिपोर्ट कार्डमा उपस्थिति, सदनमा बोलेका विषय, विधेयकमाथिको सहभागिता, संशोधन प्रस्ताव, निर्वाचन क्षेत्र भ्रमण तथा नागरिकका काममा गरिएको सहजीकरणको विवरण समेटिएको छ।

तर सांसदको सक्रियताको वास्तविक मूल्याङ्कनका लागि कति पटक सदनमा बोलियो भन्ने मात्रै होइन, उठाइएका विषयमा सरकारको प्रतिक्रिया के आयो, संशोधन प्रस्तावको अवस्था के भयो र नागरिकका समस्या समाधानमा त्यसको परिणाम कति देखियो भन्ने प्रश्न पनि महत्वपूर्ण हुन्छ।
पाठकको सार्वजनिक गरिएको यो विवरणले भने सांसदका रूपमा बिताएको पहिलो ६ महिनामा उनले गरेका संसदीय तथा क्षेत्रगत गतिविधिको एउटा आधारभूत तस्वीर प्रस्तुत गरेको छ।

Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर