Aamsanchar

नेपाली चिया, कृषि उपज र वन पैदावारको बजार विस्तारमा दुई मन्त्रालयबीच सहकार्यको खाका

Author Image
बुधवार, असोज २१, २०८३

बिर्तामोड । किसानले उत्पादनको उचित मूल्य नपाउने र स्वदेशी उत्पादन बजारमा कमजोर बन्दै जाने समस्या समाधान गर्न सरकारका दुई मन्त्रालयले उत्पादनदेखि बजार र निर्यातसम्म जोड्ने गरी सहकार्यको खाका अघि सारेका छन्। कृषि, वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच प्रस्तावित ३० बुँदे समन्वयमा नेपाली चियाको विश्व बजारमा पहिचानदेखि धान, गहुँ, मकै र कोदोको न्यूनतम समर्थन मूल्य, कृषि उपजको आयात नियन्त्रण, जडीबुटी तथा वन पैदावारमा आधारित उद्योग स्थापना र निर्यात प्रवर्द्धनसम्मका विषय समेटिएका छन्।

कृषि, वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच समन्वयका प्रमुख क्षेत्रहरू

१. अन्नबालीको न्यूनतम समर्थन मूल्य र कार्यान्वयन
धान, गहुँ, मकै, कोदो लगायतका अन्नबालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरी प्रभावकारी कार्यान्वयनको व्यवस्था गर्नुपर्ने। निजी क्षेत्रबाट किसानको उत्पादन खरिद नभएको अवस्थामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत खरिद गर्ने र त्यसका लागि आवश्यक ‘ग्याप फन्डिङ’को व्यवस्था गर्नुपर्ने।

२. कृषि उपजको आयात व्यवस्थापन
स्वदेशी उत्पादन, माग र आपूर्तिको अवस्था विश्लेषण गरी अपुग हुने कृषि उपजमा मात्र आयात अनुमति दिने व्यवस्था गर्नुपर्ने। उत्पादनको मुख्य सिजनमा कम्तीमा चार महिना आयात नियन्त्रण तथा स्वदेशी उत्पादन र खरिदको अवस्थाका आधारमा आयात कोटा निर्धारण गर्ने व्यवस्था गर्नुपर्ने।

३. स्वदेशी मह तथा दुग्धजन्य पदार्थको संरक्षण
स्वदेशी महको प्रशोधन तथा बजारीकरणलाई प्राथमिकता दिई आयात न्यून गर्नुपर्ने। आयातित महको गुणस्तर परीक्षण, न्यूनतम मूल्य निर्धारण तथा भन्सार महसुल पुनरावलोकन गर्नुपर्ने। नेपालमै उत्पादन सम्भव हुने दुग्धजन्य पदार्थको आयात निरुत्साहित गर्नुपर्ने। लुम्बिनी प्रदेशमा मह तथा प्रोपोलिस प्रशोधन उद्योग स्थापना गर्न पहल गर्नुपर्ने।

४. नेपाली चियाको उत्पादन, प्रवर्द्धन र निर्यात

  • नेपाली चियालाई विश्व बजारमा विशिष्ट पहिचान दिलाउन भौगोलिक सङ्केत (GI) सम्बन्धी कानुन निर्माणलाई तीव्रता दिने।
  • नेपाल–भारतबीच भएको पारस्परिक मान्यता सम्झौता (MRA) लाई चियामा समेत लागू गर्न पहल गर्ने।
  • झापा आसपास खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका गोदामलाई चिया भण्डारणका लागि प्रयोग गर्ने व्यवस्था मिलाउने।
  • महावाणिज्य दूतावासमार्फत नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने।
  • चिया अक्सनमा उत्पादक तथा अन्तर्राष्ट्रिय खरिदकर्तालाई आकर्षित गर्न वित्तीय तथा नीतिगत सुविधा उपलब्ध गराउने।

५. कृषि बजारको अनुगमन तथा निरीक्षण
कृषि उपजको मूल्यमा हुने अस्वाभाविक उतारचढाव, कालोबजारी तथा बिचौलियाको प्रभाव नियन्त्रण गर्न कृषि थोक बजारलगायत बजारको नियमित अनुगमन गर्नुपर्ने। विशेषगरी खसीको मासु, टमाटर, केरा, गोलभेडा, आलु लगायतका वस्तुको किसान र उपभोक्ताबीचको मूल्य अन्तर अध्ययन गरी आवश्यक हस्तक्षेप गर्नुपर्ने।

६. भौगोलिक सङ्केत (GI) दर्ता र बौद्धिक सम्पत्ति संरक्षण
कृषिजन्य उत्पादनको GI दर्ता तथा कार्यान्वयनका लागि आवश्यक प्राविधिक र कानुनी आधार तयार गर्नुपर्ने। उद्योग विभाग तथा प्रस्तावित बौद्धिक सम्पत्ति कार्यालयमा कृषि प्राविधिकको आवश्यक दरबन्दी सिर्जना गर्नुपर्ने। TRIPS लगायतका अन्तर्राष्ट्रिय सम्झौताअनुसार कृषि क्षेत्रसँग सम्बन्धित बौद्धिक सम्पत्ति तथा व्यापारसम्बन्धी विषयमा कृषि मन्त्रालयको नेतृत्वदायी भूमिका सुनिश्चित गर्नुपर्ने।

७. द्विपक्षीय तथा बहुपक्षीय व्यापार सम्झौता
नेपाल–भारत, नेपाल–चीन, नेपाल–बंगलादेश, नेपाल–अमेरिका लगायतका मुलुकसँग हुने कृषि व्यापारसम्बन्धी छलफलमा कृषि मन्त्रालयको नेतृत्वदायी भूमिका हुनुपर्ने। WTO, BIMSTEC, SAFTA लगायतका क्षेत्रीय तथा बहुपक्षीय मञ्चमा कृषि व्यापार सहजीकरण र सहुलियतका विषयमा संयुक्त पहल गर्नुपर्ने।

८. कृषि निर्यात प्रवर्द्धन
LTS सम्बन्धी रणनीति तथा निर्यात प्रवर्द्धन योजनाअनुसार तोकिएका कृषि उपजको निर्यात बढाउन Trade Fair, Buyer–Seller Meet, Business-to-Business लगायतका कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गर्नुपर्ने।

९. उखु किसान र चिनी उद्योगको समस्या समाधान
चिनी उद्योगबाट उखु किसानले समयमा भुक्तानी नपाउने समस्या समाधानका लागि संयुक्त पहल गर्नुपर्ने। चिनीको आयातमा रहेको भन्सार दरको पुनरावलोकन तथा स्वदेशी चिनी उद्योगको संरक्षणका लागि आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने।

१०. कृषि उपजको निर्यातमा नगद अनुदान
हाल भारतबाहेक तेस्रो मुलुकमा निर्यात गर्दा मात्र उपलब्ध हुने नगद अनुदानको व्यवस्थालाई पुनरावलोकन गरी कृषि उपजको निर्यातलाई प्रोत्साहन गर्ने व्यवस्था गर्नुपर्ने।

११. कृषिजन्य उद्योग दर्ता तथा सूचना आदानप्रदान
कृषिजन्य, साना तथा घरेलु उद्योग दर्ता गर्दा कृषि मन्त्रालयसँग आवश्यक समन्वय तथा सूचना आदानप्रदानको व्यवस्था गर्नुपर्ने। उद्योग स्थापना गर्दा स्थानीय उत्पादन, कच्चा पदार्थ, बजार र विद्यमान उद्योगको अवस्थालाई समेत ध्यान दिनुपर्ने।

१२. कृषि क्षेत्रमा वैदेशिक लगानी
कृषिजन्य उद्योगमा हुने वैदेशिक लगानीसम्बन्धी जानकारी कृषि मन्त्रालयसँग समयमै आदानप्रदान गर्नुपर्ने। उद्योग स्थापना हुने स्थान, आवश्यक बाली, कच्चा पदार्थ, श्रम, आयात–निर्यात र स्थानीय उत्पादनमा पर्ने प्रभावलाई ध्यानमा राखी योजना बनाउनुपर्ने।

१३. WTO सम्बन्धी प्राविधिक सहकार्य
WTO अन्तर्गत कृषि क्षेत्रसँग सम्बन्धित सम्झौता, दायित्व र व्यापार सहजीकरणका विषयमा अध्ययन, नीति सुधार, प्राविधिक क्षमता अभिवृद्धि तथा प्राविधिक सहयोग कार्यक्रम संयुक्त रूपमा सञ्चालन गर्नुपर्ने।

१४. निर्यात प्रवर्द्धन तथा गुणस्तर अभिवृद्धि
सम्भावना भएका कृषि तथा पशुपन्छीजन्य वस्तुको गुणस्तर सुधार, प्रमाणीकरण, Traceability, SPS तथा TBT मापदण्डको पालना र अन्तर्राष्ट्रिय बजार विस्तारका लागि संयुक्त कार्यक्रम सञ्चालन गर्नुपर्ने।

१५. उद्योगमा आधारित कृषि उत्पादन प्रवर्द्धन
कृषि उपजलाई कच्चा पदार्थका रूपमा प्रयोग गर्ने उद्योगको सूची तयार गरी ती उद्योगको मागअनुसार सम्बन्धित क्षेत्र र जिल्लामा उत्पादन विस्तार गर्नुपर्ने। यसबाट उद्योगलाई नियमित कच्चा पदार्थ, किसानलाई बजार तथा मूल्यको सुनिश्चितता र कृषि मूल्य शृङ्खला विकासमा सहयोग पुग्नेछ।

वन तथा गैरकाष्ठ वन पैदावारतर्फ

१६. कर्णालीमा जडीबुटी प्रशोधन उद्योग तथा केन्द्र स्थापना गर्ने।

१७. वन पैदावारबाट जैविक मल उत्पादन गर्ने उद्योग स्थापना गर्ने।

१८. स्थानीय तहमा गैरकाष्ठ वन पैदावार, विशेषगरी जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने।

१९. प्लास्टिकजन्य वस्तुको प्रयोग न्यूनीकरण गर्दै वन पैदावारमा आधारित वैकल्पिक उद्योग प्रवर्द्धन गर्ने।

२०. प्रत्येक जिल्लामा कम्तीमा एक कृषि उद्योग स्थापना गर्ने, जसमा बढी उत्पादन हुने तथा छिट्टै नष्ट हुने कृषि उपजलाई प्राथमिकता दिने।

२१. प्लाइउड तथा भेनेरको निर्यात प्रवर्द्धन गर्ने।

२२. वन क्षेत्र र काष्ठ उद्योगबीचको दूरी तथा आपूर्ति समस्या न्यूनीकरण गर्ने।

२३. काठ सिजनिङ तथा ट्रिटमेन्ट उद्योग स्थापना गर्ने।

२४. खोटाङमा बाँस प्रशोधन उद्योग स्थापना गर्ने।

२५. सर्लाहीमा बाँसजन्य उत्पादन उद्योग स्थापना गर्ने।

२६. कैलालीमा वेत (रत्तान/क्यान) प्रशोधन उद्योग स्थापना गर्ने।

२७. अल्लोबाट उच्च गुणस्तरको कपडा उत्पादन गर्ने उद्योग स्थापना गर्ने।

२८. अर्घाखाँची र चितवनमा चिउरीको घिउ उत्पादन उद्योग स्थापना गर्ने।

२९. सामुदायिक वनले आफ्नै उद्योग सञ्चालन गर्न आवश्यक जग्गा व्यवस्थापन तथा दर्ता प्रक्रिया सरल बनाउने।

३०. गैरकाष्ठ वन पैदावार (NTFP) को ब्रान्डिङ तथा निर्यात प्रवर्द्धन गर्ने
जंगली मह, निउरो, सिस्नु, बाँस लगायतका गैरकाष्ठ वन पैदावारको एकीकृत ब्रान्डिङ, ग्रेडिङ, प्याकेजिङ तथा निर्यात प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने। अन्तर्राष्ट्रिय बजारको मागअनुसार गुणस्तर, प्याकेजिङ तथा जैविक प्रमाणीकरणको व्यवस्था गर्ने।

मुख्य उद्देश्य: कृषि तथा वनजन्य उत्पादनमा किसानको उत्पादनदेखि उद्योग, प्रशोधन, बजार र निर्यातसम्मको मूल्य शृङ्खला मजबुत बनाउँदै उत्पादनको बजार सुनिश्चितता, आयात प्रतिस्थापन, स्वदेशी उद्योग संरक्षण र निर्यात प्रवर्द्धनमा दुई मन्त्रालयबीच स्पष्ट कार्यविभाजन र संयुक्त जिम्मेवारी स्थापित गर्नु हो।

Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर