बिर्तामोड । हवाई भाडादर घटाएको घोषणा गरे पनि यात्रुले टिकट काट्न जाँदा सहुलियतको महसुस गर्न नपाएको भन्दै ट्राभल्स व्यवसायीले बुद्ध एयरको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि व्यक्त गर्दै ट्राभल्स व्यवसायी नवीन खरेलले बुद्ध एयरको भाडा घटाउने घोषणालाई व्यवहारसँग मेल नखाने भन्दै आलोचना गरेका छन्।
खरेलले बुद्ध एयरले भाडादर घटाएको प्रेस विज्ञप्ति जारी गरे पनि टिकट बुकिङ प्रणालीमा सहुलियतको प्रभाव देखिनुपर्ने समयमा यात्रुले टिकट नपाउने अवस्था रहेको बताएका छन्। उनका अनुसार, कुन उडानमा कति सिट उपलब्ध छन् र सहुलियत दरमा टिकट पाइन्छ कि पाइँदैन भन्ने विषय नै स्पष्ट नहुँदा भाडा घटेको प्रचार गर्नुको औचित्यमाथि प्रश्न उठेको छ।

‘एउटा सिट पनि सिस्टममा नदिने, अनि भाडादरमा सहुलियत दिएको छ भनेर हामीले यात्रुलाई भनिदिनुपर्ने रु टिकट काट्न बुद्ध एयरको काउन्टरमा जाँदा टिकट पाईने हो भने भाडा घटाएको घोषणा र व्यवहारमा फरक के भयो ?’ खरेलको प्रश्न छ।
उनले बुद्ध एयरको टिकट बिक्री प्रणालीप्रति असन्तुष्टि जनाउँदै यस्तो अवस्था सधैँ दोहोरिने गरेको आरोपसमेत लगाएका छन्। भाडा घटाएको घोषणा गर्नु र यात्रुले वास्तवमै सहुलियत दरमा टिकट पाउनु फरक विषय भएको उनको भनाइ छ।

खरेलले यती एयरलाइन्समा भने टिकट पाइरहेको उल्लेख गर्दै बुद्ध एयरको टिकट उपलब्धता र भाडादरसम्बन्धी व्यवहारमाथि तुलना गरेका छन्।
हवाई भाडा घटाउने घोषणा आफैँमा सकारात्मक भए पनि त्यसको लाभ यात्रुले वास्तविक रूपमा पाउनुपर्ने व्यवसायीको अपेक्षा छ। सहुलियत दरका टिकट कुन उडानमा, कति सङ्ख्यामा र कुन सर्तमा उपलब्ध हुन्छन् भन्ने विषय स्पष्ट हुन नसके घोषणा प्रचारमै सीमित हुने उनीहरूको चिन्ता छ।

भाडा घटाएको दाबीको वास्तविक परीक्षण विज्ञप्तिमा होइन, टिकट बुकिङ प्रणालीमा हुन्छ। यात्रुले सहुलियत दरमा टिकट पाउने अवस्था सुनिश्चित नगरी गरिने घोषणाले यात्रु र ट्राभल्स व्यवसायी दुवैलाई अन्योलमा पार्न सक्छ।
बुद्ध एयरले कुन उडानमा कति सिट सहुलियत दरमा उपलब्ध गराएको छ र टिकट खोज्दा नपाइने अवस्थाबारे के कारण छ भन्ने विषयमा स्पष्ट पार्नुपर्ने देखिन्छ।
यस विषयमा बुद्ध एयरको आधिकारिक प्रतिक्रियामा सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा फोटोशप तथा एआईको प्रयोग गरी तयार पारिएका भ्रामक स्क्रिनसट तथा सामग्रीमार्फत हवाई भाडादरसम्बन्धी भ्रम फैलाइएकोप्रति बुद्ध एयरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बुध्द एयरले हिजो जारी गरेको प्रेस विज्ञप्तिमार्फत विशेषगरी धनगढीको एकतर्फी हवाई भाडा रु। १० हजार ८ सय मै उपलब्ध गराउँदै आएको स्पष्ट पारेको छ। न्यूनतम भाडादरमा टिकट उपलब्ध गराइएकै कारण अधिकांश दिनका उडानमा टिकट बिक्री भइसकेको कम्पनीले जनाएको छ।

