बिर्तामोड । चेतना नेपालले बिर्तामोड नगर समिति गठन गरेको छ। असोज २३ गते बिर्तामोड–४ स्थित चेतना नेपाल परामर्श केन्द्रको सभाहलमा आयोजित भेलाले अनुप निरौलाको अध्यक्षतामा १३ सदस्यीय नगर समिति गठन गरेको हो।
इन्द्रप्रसाद ओलीको अध्यक्षता तथा चेतना नेपालका चेतना दूत टहलदास ओलीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले लागूऔषध न्यूनीकरण तथा दुर्व्यसनमुक्त समाज निर्माणका लागि स्थानीय तहसँग समन्वय गरी टोलटोलमा सचेतना कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

समितिको उपाध्यक्षमा राममाया दहाल, सचिवमा नरबहादुर खड्का, सहसचिवमा चन्द्रा भट्टराई र कोषाध्यक्षमा ओमकुमारी खनाल अधिकारी चयन भएका छन्।
कार्यक्रममा वक्ताहरूले चेतना नेपालले अघि सारेका कार्यक्रम समाजका लागि उपयोगी रहेको बताउँदै स्वस्थ नागरिक र दुर्व्यसनमुक्त समाज निर्माणमा सबैको सहयोग आवश्यक रहेको धारणा राखेका थिए।

चेतना नेपालका कोषाध्यक्ष देविभक्त आचार्यका अनुसार झापाका १५ स्थानीय तहमध्ये अर्जुनधारा र बिर्तामोडमा समिति गठन भइसकेको छ। बाँकी १३ स्थानीय तहमा पनि छिट्टै समिति गठन गरिने संस्थाले जनाएको छ।
कार्यक्रममा संस्थाका आजीवन तथा अक्षयकोष सदस्यलाई प्रमाणपत्र र कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रमको स्वागत गीता खनाल रिजालले गरेकी थिइन् भने सञ्चालन कार्यकारी प्रमुख कल्पना भट्टराईले गरेकी थिइन्।

