Aamsanchar

कोशी प्रदेशसभा घे*राउ

Author Image
शनिवार, असोज २४, २०८३

विराटनगर –  कोशी प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्ने प्रक्रियामा किरात भाषालाई छुटाइएको भन्दै किरात राई यायोक्खा विरोधमा उत्रिएको छ।

यायोक्खाले शनिबार मोरङको कटहरीस्थित कोशी प्रदेशसभा भवनअगाडि प्रदर्शन गर्दै विधेयकमा किरात भाषालाई पनि समावेश गर्न माग गरेको हो। किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाचो राईको नेतृत्वमा भएको प्रदर्शन एवं घेराउका सहभागीले प्रदेशको भाषासम्बन्धी नीतिमा किरात भाषालाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। सरकारी कामकाजको भाषासम्बन्धी विधेयक प्रदेशसभाबाट पारित गर्ने प्रक्रिया अघि बढिरहेका बेला यायोक्खाले दबाबमूलक प्रदर्शन गरेको हो।

प्रदेशसभाभित्र विधेयकमाथि छलफल र निर्णयको प्रक्रिया चलिरहेका बेला बाहिर भने किरात भाषाको मान्यताका लागि प्रदर्शन भइरहेको थियो। प्रदर्शनकारी प्रदेशसभा घेराउ गर्न अघि बढेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी सन्तोष श्रेष्ठको नेतृत्वमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

कोशी प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ साल साउन २२ गते प्रदेशसभामा दर्ता भएको थियो। विधेयकमा नेपाली भाषाका अतिरिक्त लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने प्रस्ताव गरिएको छ। तर, किरात भाषालाई समेट्ने व्यवस्था नगरिएपछि यायोक्खाले विरोध जनाएको हो।

प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत शनिबार बसेको ३४औँ बैठकको कार्यसूचीमा उक्त विधेयकमाथि छलफल र निर्णय गर्ने विषय समावेश थियो। सामाजिक विकास समितिका सभापति गयानन्द मण्डलले समितिको प्रतिवेदन पेस गर्ने र सामाजिक विकासमन्त्री गीता तिम्सिनाले प्रतिवेदनसहितको विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो।

विधेयक निर्णयको चरणमा पुगेका बेला यायोक्खाले प्रदर्शनमार्फत किरात भाषालाई पनि सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिनुपर्ने माग अघि सारेको हो। समाचार तयार पार्दासम्म प्रदेशसभा भवनबाहिर प्रदर्शन जारी थियो।

Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर