Aamsanchar

झापामा र्‍याडिसन होटल सञ्चालन हुने, ६५० जनालाई रोजगारी दिने लक्ष्य

Author Image
मङ्गलवार, असोज २७, २०८३

बिर्तामोड । नेपालको पूर्वी क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा विस्तार गर्ने उद्देश्यसहित झापाको बिर्तामोडस्थित हाल सञ्चालनमा रहेको किङ्सबरी होटललाई अन्तर्राष्ट्रिय होटल ब्रान्ड र्‍याडिसनमा रूपान्तरण गरी सञ्चालन तथा व्यवस्थापन गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौतामा र्‍याडिसन होटल समूहका ग्लोबल प्रमुख कार्यकारी अधिकृत (CEO) फेडेरिको गोन्जालेज, दक्षिण एसियाका प्रबन्ध निर्देशक तथा प्रमुख सञ्चालन अधिकृत (MD & COO) निखिल शर्मा र किङ्सबरी होटलका अध्यक्ष रवि शर्मा धितालको उपस्थितिमा हस्ताक्षर गरिएको हो। बेल्जियममा आधारित गोन्जालेज तथा र्‍याडिसनको दक्षिण एसियाली नेतृत्वको उपस्थितिमा भएको यस सम्झौताले नेपालको आतिथ्य तथा पर्यटन क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।

हाल १५५ कोठासहित सञ्चालनमा रहेको किङ्सबरी होटललाई र्‍याडिसन ब्रान्डअन्तर्गत रूपान्तरण गरी दुई चरणमा सञ्चालनमा ल्याउने योजना रहेको छ। पहिलो चरण सन् २०२७ को अन्त्यसम्ममा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ भने दोस्रो चरण सन् २०२८ को मध्यसम्ममा सम्पन्न गर्ने योजना छ।

किङ्सबरी होटलका अध्यक्ष रवि शर्मा धितालले सन् २०२४ मा होटल अधिग्रहण गरेपछि यसलाई थप विस्तारित, व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको सेवा–सुविधासहित विकास गर्ने उद्देश्यले थप १०० करोड रुपैयाँ लगानी गर्ने योजना अघि बढाइएको बताउनुभयो।

उहाँका अनुसार होटललाई अन्तर्राष्ट्रिय आतिथ्य मापदण्डअनुरूप विकास गर्दै पाहुनालाई गुणस्तरीय सेवा प्रदान गर्न आधुनिक पूर्वाधार, स्तरीय आवास सुविधा तथा विभिन्न सेवा क्षेत्रहरू विस्तार गरिनेछ। र्‍याडिसन ब्रान्डसँगको सहकार्यले होटलको सेवा स्तरलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनुका साथै पूर्वी नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।

होटल परिसरमा हाल क्यासिनोसमेत सञ्चालनमा रहेको छ। र्‍याडिसनसँगको एकीकरण तथा व्यवस्थापन रूपान्तरणपछि यस परियोजनाले ६५० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने अपेक्षा गरिएको छ। यसबाट झापा तथा आसपासका क्षेत्रका युवाका लागि रोजगारीका अवसर सिर्जना हुनुका साथै स्थानीय व्यवसाय, पर्यटन र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

पूर्वी नेपालको प्रमुख व्यापारिक तथा व्यावसायिक केन्द्रका रूपमा विकसित हुँदै गएको बिर्तामोडमा अन्तर्राष्ट्रिय होटल ब्रान्डको प्रवेशले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न, व्यावसायिक भ्रमणलाई प्रोत्साहन गर्न र क्षेत्रीय पर्यटन पूर्वाधारलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस परियोजनालाई नेपालमा र्‍याडिसनको व्यवस्थापनअन्तर्गत सञ्चालन हुने पहिलो होटलका रूपमा प्रस्तुत गरिएको छ। अन्तर्राष्ट्रिय व्यवस्थापन प्रणाली, सेवा मापदण्ड र आतिथ्य क्षेत्रको व्यावसायिक अनुभवलाई स्थानीय बजारसँग जोड्ने लक्ष्यसहित अघि बढाइएको यस परियोजनाले नेपालको होटल उद्योगमा नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ।

किङ्सबरी होटललाई र्‍याडिसनमा रूपान्तरण गर्ने यो पहल झापालाई अन्तर्राष्ट्रिय आतिथ्य तथा पर्यटनको नक्सामा थप स्थापित गर्ने दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। थप लगानी, अन्तर्राष्ट्रिय ब्रान्डको व्यवस्थापन र रोजगारी सिर्जनाको लक्ष्यसहित अघि बढेको यस परियोजनाले पूर्वी नेपालको पर्यटन विकासमा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ भन्ने जानकारी होटेल द किङ्सबरीका कार्यकारी निर्देशक जानु घिताल ले गराउनु भएको छ ।

Views: 3405

प्रतिक्रिया (०)

सम्बन्धित खबर