Aamsanchar

प्राज्ञिक वक्ता र जनक दर्शन – संस्मरण

Author Image
शुक्रवार, असोज ३०, २०८३

लक्ष्मीप्रसाद रिजाल
बुद्धशान्ति – २ झापा

विक्रमीय साठीको दशकको अन्त्यतिर जनकपुरधाममा जनकदर्शनसम्बन्धी गोष्ठी आयोजना गरिएको थियो। मलाई मित्र तोयाराज घिमिरेले उपस्थितिका लागि निमन्त्रणा गर्नुभयो। विषय राम्रो लाग्यो। अभिरुचि भए पनि जनकदर्शनसम्बन्धी पुस्तक पढेको थिइनँ। उमेर र आवश्यकताले गर्दा पूर्ण समय शिक्षण कार्यमै लगाएको थिएँ  । यो एउटा राम्रो अवसर हो भन्ने लाग्यो।

प्रमुख वक्ता काठमाडौँबाट आमन्त्रित हुनुहुन्थ्यो। उहाँले धर्म–संस्कृतिसम्बन्धी देशका दुई प्रमुख पदमा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएको थियो। अवश्य पनि उहाँबाट जनकदर्शनको सार बुझ्न पाइनेछ भन्ने विश्वासले प्रधानाध्यापकलाई फोन गरेर बिदा लिएँ।
गोष्ठी बिहान ११ बजे सुरु भयो। वक्ता रामा होटलबाट आउनुभयो। जनकपुरका साहित्य, शिक्षा, सञ्चार तथा धर्म–संस्कृतिका क्षेत्रमा प्रतिष्ठित व्यक्तित्वसहित साठीभन्दा बढी श्रोताको उपस्थिति थियो। मित्र तोयाराजजीले कार्यक्रम सञ्चालन गर्नुभयो।
प्रमुख वक्ता प्राध्यापक, डाक्टर …………….. लगायतका उपाधिद्वारा  विभूषित निष्णात विद्वान् हुनुहुन्थ्यो। उहाँ अगाडि उभिनुभयो। सबै श्रोता सजग भयौँ। उहाँले सानो र शान्त स्वरमा विषयको उठान गर्नुभयो। गीतादर्शन र जनकदर्शनको तुलनाबाट विषय प्रवेश गर्नुभयो। मैले गीताको दोस्रो र तेस्रो अध्याय केही दिनअघि आफ्नो क्षमताले भ्याएसम्म गहिरिएर अध्ययन गरेको थिएँ। उहाँले त्यहीँबाट दुईवटा श्लोक वाचन गर्नुभयो र जनकदर्शनको सार नै यही हो भन्नुभयो। त्यसपछि जनकलाई किन ‘विदेह’ भनिन्छ भन्ने विषयको एउटा पक्ष (जन्मसम्बन्धी) माथि थोरै विचार राख्नुभयो। पुनः दुई–तीन मिनेट गीताको कर्मयोगको व्याख्या गर्नुभयो जनक दर्शनको गहिरो अभिप्राय यति नै हो भनेर  पन्ध्र मिनेटमै प्रवचन समाप्त गर्नुभयो।

म तीनछक्क परेँ। उहाँमा क्षमता नभएको होइन, तर उहाँले खोज–अनुसन्धान गर्नुभएन। त्यहाँ गएर दुई–चार शब्द बोलिदिन्छु भन्ने सोचले नै हवाईजहाज चढ्नुभएको जस्तो लाग्यो। त्यतिखेर गुगलमा समेत पर्याप्त सामग्री पाइन्थ्यो। केन्द्रीय पुस्तकालय र वाल्मीकि विद्यापीठको पुस्तकालयमा उहाँको सहज पहुँच थियो। तर उहाँले त्यो झमेला गर्नुभएन, किनभने उहाँको नामै काफी थियो । जनकपुरमा यश विषयका विज्ञ हुनुहुन्थ्यो तर आयोजकले अलिकति खर्च बढेपनि राजधानीका प्रतिष्ठित विद्वान् लाई आमन्त्रण गरेर केही सिक्ने सिकाउनेे उद्देश्य राखेको थियो ।

जनकपुरका केही युवा पत्रकार अत्यन्त अध्ययनशील र विद्वान् हुनुहुन्छ। उहाँहरू पनि उपस्थित हुनुहुन्थ्यो। डा. राजेन्द्र विमल, शिवेन्द्र लाभ र रेवतीरमणजस्ता अग्रज पुस्ताका विद्वान्, क्याम्पसका नेपाली, संस्कृत, मैथिली र अङ्ग्रेजी विभागका प्राध्यापक तथा हामीजस्ता केही अध्यापकको उपस्थिति थियो।

टिप्पणीकारका रूपमा युवा पत्रकार रामआशीष यादव हुनुहुन्थ्यो। हाल मधेस प्रदेशका माननीय सभामुख रामआशीषजी त्यस समयमा विद्यालयमा अध्यापन गर्नुका साथै पत्रकारिता पनि गर्नुहुन्थ्यो। उहाँले आफ्नो सम्बोधनका क्रममा भन्नुभयो, “आजका विद्वान् वक्ता राजधानीबाट आएर जनकदर्शनका बारेमा पन्ध्र मिनेट बोलेर गइसक्नुभएछ।”

यस अभिव्यक्तिमा निहित नरम व्यङ्ग्य ती प्राज्ञले बुझ्नुभयो कि बुझ्नुभएन, थाहा भएन। यताउति हेर्दा मञ्चमा वक्ता देखिनुभएन। उहाँ टिप्पणीसमेत नसुनी नजिकै रहेका आफन्तकहाँ चिया खान जानुभएको हो कि भन्ने लागेको थियो। तर त्यसो होइन रहेछ। उहाँ लघुशङ्का गर्न जानुभएको रहेछ। तथापि, उहाँले शालीन व्यङ्ग्य बुझ्नुभएको थियो भने बरु त्यहाँबाट जानुभएकै भए पनि हुन्थ्यो भन्ने लाग्यो। राम आशीषजीले करिब तीस–पैँतीस मिनेटमा जनकदर्शनको सूत्रात्मक व्याख्या गर्नुभयो। सान्दर्भिक श्लोकसहित टिप्पणी प्रस्तुत गर्नुभयो। प्रमुख वक्ताको पन्ध्र मिनेटको व्याख्या सुनेपछि एक दिनको पर्वबिदा बेकारमा खर्च गरेकोमा पछुतो मानिरहेको थिएँ। तर रामआशीषजीको टिप्पणीले त्यसको क्षतिपूर्ति गरिदियो।

पूर्वीय संस्कृतिका प्रकाण्ड विद्वान् भनेर प्रचार गरिएका विज्ञका विचारमाथि टिप्पणी गर्न उहाँले निकै खोज–अनुसन्धान गर्नुभएको रहेछ। उहाँले सरल भाषामा ‘विदेह’ शब्दको दार्शनिक अर्थबाट आफ्नो व्याख्या सुरु गर्नुभयो र जनकदर्शनका प्रमुख आयाममाथि सूक्ष्म विश्लेषण गर्नुभयो। आवश्यक परेमा यस विषयमा दुई–तीन घण्टासम्म व्याख्या गर्न सकिने बताउँदै उहाँले पन्ध्र मिनेटको प्रवचनका लागि प्रमुख वक्ताप्रति आभार व्यक्त गरेर आफ्नो अभिमत समापन गर्नुभयो।
म प्राज्ञिक भेलामा जाँदा सधैँ यो घटना सम्झिरहन्छु। आमन्त्रित प्राज्ञिक व्यक्तित्वले त्यस दिनको घटनालाई कसरी लिनुभयो होला भन्ने पनि मनमा आउँछ। तर यदाकदा टेलिभिजन वा युट्युबमा उहाँको अन्तर्वार्ता आयो भने मलाई सुन्न मन लाग्दैन।

सम्बन्धित विषयवस्तुको गहिराइमा पुग्न खोज–अनुसन्धान गर्न सकिएन र योग्यताको आवरणसमेत जोगाउन सकिएन भने आफ्नो ओज र गरिमा घट्छ। किनभने मञ्चमा नबस्ने, तर वक्तातिर फर्किएका , भुइँमा बसेका धेरै मानिसले मौन मूल्याङ्कन मात्र गर्दैनन्, आपसमा संवादात्मक टिप्पणीसमेत गर्छन् ।

Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर