Aamsanchar

नेपाल र भारत : सीमाभन्दा परको सभ्यतागत सम्बन्ध

Author Image
बुधवार, कार्तिक ११, २०८३

नेपाल र भारतबीचको सम्बन्ध केवल कूटनीतिक, राजनीतिक र भौगोलिक सीमामा मात्र सीमित छैन। यी दुई देश शताब्दीयौँदेखि विकसित हुँदै आएको सभ्यतागत मूल्य–मान्यता, आध्यात्मिकता, संस्कृति, दर्शन, आर्थिक गतिविधि, बसाइँसराइ तथा सामाजिक प्रक्रियाबाट एकअर्कासँग जोडिएका छन्। आधुनिक नेपाल र भारतलाई अलग पहिचान दिने राजनीतिक तथा भौगोलिक भिन्नताका बाबजुद पनि दुवै देशका सभ्यतागत परम्पराको केन्द्रमा रहेका ऐतिहासिक अनुभवले उनीहरूलाई एकताबद्ध बनाएका छन्।

नेपाल र भारत साझा हिमाल, नदी तथा पवित्र धार्मिक स्थलका माध्यमबाट सांस्कृतिक र आध्यात्मिक रूपमा जोडिएका छन्। गङ्गा नदी र हिमालय हिन्दूहरूको सामूहिक चेतनामा गहिरोसँग स्थापित छन्। त्यसैगरी, नेपाल र भारतका विभिन्न स्थानमा रहेका बौद्ध मन्दिर तथा गुम्बाहरूले विगतमा यी दुई देशबीच रहेको घनिष्ठ सम्बन्धको जीवन्त स्मरण गराउँछन्। नेपाल र भारतको साझा सांस्कृतिक तथा आध्यात्मिक सम्पदाको सबैभन्दा चर्चित उदाहरणमध्ये नेपालस्थित लुम्बिनी र भारतस्थित बोधगयाबीचको सम्बन्ध एक हो। यी दुवै स्थलले आध्यात्मिक तथा सांस्कृतिक विकासका विभिन्न पक्षलाई प्रतिनिधित्व गर्नुका साथै नेपाल र भारतबीचको विशिष्ट सम्बन्धलाई पनि प्रतिबिम्बित गर्छन्।

ईसापूर्व तेस्रो शताब्दीमा सम्राट् अशोकले लुम्बिनीको भ्रमण गरेको ऐतिहासिक तथ्य अशोक स्तम्भमा कुँदिएको अभिलेखबाट पुष्टि हुन्छ। यो अभिलेख नेपाल र भारतका यी दुई स्थान तथा तिनसँग जोडिएका देशहरूबीच रहेको गहिरो र बहुआयामिक सम्बन्धको अर्को महत्त्वपूर्ण प्रमाण हो।

नेपालको जनकपुर र भारतको अयोध्याबीचको सम्बन्ध पनि साझा सांस्कृतिक तथा आध्यात्मिक सम्पदाको अर्को उदाहरण हो। दुवै सहर व्यापक हिन्दू सांस्कृतिक तथा आध्यात्मिक परम्पराका अभिन्न अङ्ग हुन् र शताब्दीयौँदेखि हिन्दू धर्मका महत्त्वपूर्ण केन्द्रका रूपमा परिचित छन्। नेपालस्थित पशुपतिनाथ र भारतको वाराणसीस्थित विश्वनाथ मन्दिर भगवान् शिवका पवित्र धाम हुन्। यी धार्मिक स्थलले साझा हिन्दू आध्यात्मिकता र सभ्यतागत सम्बन्धको प्रतीकका रूपमा काम गरेका छन्।

नेपाल र भारतका सांस्कृतिक तथा आध्यात्मिक परम्परा हिन्दू धार्मिक अभ्यास, महाकाव्यका कथाहरू र भगवान् बुद्धको जीवन तथा शिक्षामा मात्र सीमित छैनन्। यी मूल्य–मान्यताले बोलिने तथा लेखिने भाषा, सङ्गीत, नृत्य र कलालाई समेत आकार दिएका छन्। साथै, तिनले दुवै देशका नागरिकको दैनिक जीवन र आपसी व्यवहारलाई पनि प्रभावित पारेका छन्।

नेपाल र भारतका भाषिक, दार्शनिक, साहित्यिक तथा कलात्मक परम्परा यी दुई देशका आध्यात्मिक र सांस्कृतिक परम्परासँग अभिन्न रूपमा जोडिएका छन्।

दुवै देशको सीमाको दुवैतर्फ बसोबास गर्ने मानिसहरू दैनिक रूपमा सांस्कृतिक आदानप्रदानमा संलग्न हुन्छन्। परिवारका सदस्यहरू सीमापारि बसोबास गर्ने आफन्तसँग सम्पर्कमा रहन्छन् र एकअर्कासँग व्यापारिक तथा सामाजिक सम्बन्ध कायम राख्छन्।

नेपाल–भारत सम्बन्धको लामो र जटिल इतिहासले कला तथा साहित्यको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। दुवै देशमा कलात्मक तथा साहित्यिक कृतिहरू, मूर्तिकला, नक्काशी र ऐतिहासिक स्मारकहरूको समृद्ध तथा विविध सम्पदा पाइन्छ। नेपाल र भारतको सांस्कृतिक, आध्यात्मिक तथा कलात्मक विरासत सीमापारि बसोबास गर्ने लाखौँ मानिसको दैनिक जीवनको अभिन्न अङ्ग बनेको छ।

नेपाल र भारतबीच विभिन्न समयमा राजनीतिक, आर्थिक तथा भौगोलिक विवादहरू उत्पन्न भएका छन्। यसका अतिरिक्त, दुवै देशले कुनै न कुनै समयमा एकअर्कामाथि राजनीतिक तथा आर्थिक दबाबसमेत सिर्जना गरेका छन्।

नेपालले स्वतन्त्र तथा सन्तुलित नीति अवलम्बन गर्न सक्ने क्षमता आफ्नो ठूलो छिमेकी भारतसँग संवाद र सहकार्य गर्ने तत्परता तथा अन्य देशहरूसँग रणनीतिक साझेदारी विकास गर्न गर्ने लगानीमा निर्भर रहनेछ। त्यस्तै, नेपाल–भारत सम्बन्धलाई भारतको सभ्यतागत तथा सांस्कृतिक विरासतका आधारमा मात्र अघि बढाउनु हुँदैन। द्विपक्षीय सम्बन्धलाई व्यावहारिक रूपमा सुदृढ बनाउने प्रयासमा सांस्कृतिक पक्षलाई पनि महत्त्व दिनु आवश्यक छ।

बौद्ध पर्यटन, पुरातत्त्व, उच्च शिक्षा तथा वातावरणीय दिगोपनाका क्षेत्रमा संयुक्त पहलहरू विकास गर्न थप प्रयास गरिनुपर्छ। नेपाल र भारत साझा वातावरणीय तथा जलवायुजन्य विरासतबाट पनि जोडिएका छन्। दुवै देशको ठूलो भूभागमा फैलिएका नदी, वन तथा हिमाली क्षेत्र विविध पारिस्थितिक प्रणाली र यस क्षेत्रमा मात्र पाइने वनस्पति तथा जीवजन्तुका लागि महत्त्वपूर्ण बासस्थान हुन्।

नेपाल र भारतमा आउने बाढी, पहिरो तथा चरम मौसमी घटनाले स्थानीय जनजीवनमा विनाशकारी प्रभाव पार्न सक्छन्। यी दुवै देशले सामना गरिरहेका वातावरणीय चुनौती कुनै एक देशको भौगोलिक सीमाभित्र मात्र सीमित छैनन्।

वातावरणीय आपत्कालीन अवस्थाको सामना गर्न नेपाल र भारतले हासिल गर्ने सफलता वातावरण तथा जलवायुका विषयमा उनीहरूबीच हुने सहकार्यसँग नजिकबाट सम्बन्धित छ। त्यसैले वातावरण संरक्षण, प्राकृतिक सम्पदाको जगेर्ना तथा विपद् प्रतिकार्यका क्षेत्रमा सहकार्य गर्नु दुवै देशको साझा हितमा छ।

नेपाल–भारत सम्बन्धको भविष्य दुवै देशका युवाको भूमिकाबाट निर्धारित हुनेछ। नेपाल र भारतबीच शैक्षिक, सांस्कृतिक तथा वैज्ञानिक आदानप्रदानले दुवै देशका युवालाई एकअर्काको देशसँग रहेको घनिष्ठ सम्बन्ध र दुवै देशका नागरिकले साझा रूपमा आत्मसात् गर्दै आएको सांस्कृतिक तथा आध्यात्मिक विरासतबारे अझ बढी जानकार बनाउन सहयोग पुर्‍याउनेछ।

दुवै देशका विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरूले युवामा क्षेत्रीय तथा सांस्कृतिक एकताको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्। युवाहरूलाई अर्को देशको इतिहास तथा सांस्कृतिक परम्पराबारे अध्ययन गर्न प्रोत्साहित गरिनुपर्छ। यसका साथै क्षेत्रीय अध्ययन, हिमालयसम्बन्धी अध्ययन तथा नेपाल र भारतका नागरिकले साझा रूपमा आत्मसात् गर्दै आएका साहित्यिक र भाषिक विरासतको अध्ययनलाई पनि प्रोत्साहन गर्न आवश्यक छ।

नेपाल र भारतबीचको गहिरो ऐतिहासिक सम्बन्धलाई स्पष्ट पार्न तथा दुवै राष्ट्रका साझा सांस्कृतिक र आध्यात्मिक परम्परालाई उजागर गर्न सञ्चारकर्मी र सञ्चारमाध्यमहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्। तथ्यमा आधारित पत्रकारिता, ऐतिहासिक विषयवस्तुको गहन अध्ययन र साझा सांस्कृतिक सम्पदाको सन्तुलित प्रस्तुतिमार्फत सञ्चारमाध्यमले दुई देशका नागरिकबीच आपसी समझदारी, सद्भाव र सहकार्यलाई थप सुदृढ बनाउन योगदान दिन सक्छन्।

Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर