Aamsanchar

छोराको मृ*त्यु ठानेर दसैंमा टीकासमेत लगाएनन्, पूर्णिमाका दिन छोरा घर फर्किए

Author Image
बिहिवार, कार्तिक १२, २०८३

विराटनगर – छोराको मृत्यु भएको ठानेर अन्त्येष्टि गरिसकेको परिवारमा अचानक उही छोरा घर फर्किएपछि एकातिर खुसी छाएको छ भने अर्कोतिर गम्भीर प्रश्न खडा भएको छ-´त्यसो भए अन्त्येष्टि गरिएको त्यो शव कसको थियो?`

मृत ठानिएका छोरा दसैंको पूर्णिमाका दिन जीवितै घर फर्किएपछि मोरङको लेटाङ नगरपालिका–५, खेरुवाका ३६ वर्षीय पदमबहादुर राई घर फर्किएसँगै दुर्घटनामा मृत्यु भएका ती अज्ञात व्यक्तिको वास्तविक पहिचानमाथि ठूलो प्रश्न उठेको छ।

पदमबहादुरलाई मृत ठानेर परिवारले यसअघि चिसाङ खोलामा लगेर अन्त्येष्टि गरिसकेको थियो। छोराको वियोगका कारण परिवारले यस वर्षको दसैंमा टीकासमेत लगाएन। तर, उनी जीवितै फर्किएपछि अब दाहसंस्कार गरिएको शवको वास्तविक पहिचान खोज्नुपर्ने स्थिति सिर्जना भएको छ।

 

पदमबहादुर गत माघदेखि परिवारको सम्पर्कमा थिएनन्। मानसिक स्वास्थ्य अवस्था कमजोर रहेका उनी बेलाबेला कसैलाई नभनी घर छाडेर हिँड्ने गर्थे। यसअघि पनि हराउने र केही समयपछि आफैँ फर्किने वा परिवारले खोजेर ल्याउने गर्थ्यो। तर, गत माघमा घर छाडेपछि उनी लामो समयसम्म सम्पर्कविहीन बनेका थिए।

यसैबीच गत जेठ २६ गते सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित चतरा–पकली सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भए। उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्‍याइएका उनको भोलिपल्ट मृत्यु भयो।

मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले शव कोशी अस्पतालको शवगृहमा राखी आफन्तको खोजीका लागि सार्वजनिक सूचना जारी गर्‍यो। सूचना पाएपछि अस्पताल पुगेकी पदमबहादुरकी आमाले उक्त शव आफ्नै छोराको भएको भन्दै सनाखत गरिन्। त्यसपछि प्रहरीले शव परिवारको जिम्मा लगाएको थियो।

परिवारले उक्त शवलाई पदमबहादुरकै ठानेर धार्मिक संस्कारअनुसार अन्त्येष्टि गर्‍यो। तर, दसैंको पूर्णिमाका दिन पदमबहादुर घर फर्केपछि उनीहरू एकाएक चकित परे। घर फर्किएका पदमबहादुरले आफू यतिन्जेल भारतमा रहेको बताएका छन्। तर, उनी माघदेखि कहाँ बसे, कसरी भारत पुगे र यति लामो समयपछि फर्किनुको कारण के हो भन्ने विषय भने अझै खुलिसकेको छैन।

पदमबहादुर जीवितै भेटिएपछि दुर्घटनामा मृत्यु भएका व्यक्तिको वास्तविक पहिचान खुलाउन प्रहरीसामु नयाँ चुनौती थपिएको छ। शव सनाखत गर्दा के-कस्ता आधार लिइएको थियो, पहिचान पुष्टि गर्न अन्य कानुनी तथा प्राविधिक प्रक्रिया अपनाइएको थियो कि थिएन र मृतकका वास्तविक आफन्त कहाँ छन् भन्ने विषयमा अब अनुसन्धान केन्द्रित हुने भएको छ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालका अनुसार सरकारी अभिलेखमा बेवारिसे शवसम्बन्धी विवरण सच्याउने र दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान खुलाउन पुनः अनुसन्धान अघि बढाइनेछ। घटनाका सम्बन्धमा थप जानकारी लिन इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सागर साहको नेतृत्वमा टोली पदमबहादुरको घर पुगेको थियो। एसपी कटवालले परिवारलाई कोशी अस्पताल बोलाइने, सनाखतका क्रममा तयार गरिएका कागजात फिर्ता लिइने र मृतकको सही पहिचान खुलाउने प्रक्रिया अघि बढाइने जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार पदमबहादुरकी आमाले शवको अनुहार आफ्नै छोराजस्तो देखेपछि भावुक भई सनाखत गरेको हुन सक्छ। यद्यपि, अनुसन्धानपछि मात्रै सम्पूर्ण तथ्य बाहिर आउने प्रहरीको भनाइ छ। साथै, दुर्घटनामा मृत्यु भएका व्यक्तिको नाममा परिवारले बीमाबापतको क्षतिपूर्ति रकमसमेत बुझिसकेको पाइएको छ। पदमबहादुर जीवितै भेटिएपछि उक्त रकम नियमानुसार फिर्ता गराउने प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

एउटा परिवारका लागि मृत ठानिएका सदस्य जीवितै फर्किनु ठूलो खुसीको विषय बने पनि दुर्घटनामा ज्यान गुमाएका अर्का व्यक्तिको पहिचान भने अझै अनिश्चित छ। पदमबहादुरको पुनरागमनसँगै अन्त्येष्टि गरिएको शवको पहिचान र प्रहरीको सनाखत प्रणालीको विश्वसनीयतामाथि उठेका प्रश्नहरूको जवाफ अब प्रहरी अनुसन्धानले दिनुपर्नेछ ।

Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर