
काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि ´राजीनामाको दबाब बढेको`भन्ने विषयमा प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ।
आईजीपी कार्कीको सचिवालयले बिहीबार बेलुका विज्ञप्ति जारी गर्दै पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।

यस्ता सामग्रीले नागरिकमा नकारात्मकता सिर्जना गर्नुका साथै सुरक्षा जोखिम बढाउन र प्रहरी संगठनप्रतिको विश्वास, छवि तथा निष्ठामा असर पार्न सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। विज्ञप्तिमा सुरक्षा ´संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिन्छ` भन्ने सोचका साथ सीमित व्यक्तिले यस्ता गतिविधि गरिरहेको समेत दाबी गरिएको छ।
यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने विज्ञप्तिमा उल्लेख छ। प्रहरीले समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र सूचनाको विश्वसनीयता सुनिश्चित गर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ। सत्य, तथ्यपरक र विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै प्रहरीले पत्रकारिताको व्यावसायिक आचारसंहिता पालना गर्न पनि अनुरोध गरेको छ।
विज्ञप्तिमा नेपाल प्रहरी सरकारको नीति तथा निर्देशनअनुसार नागरिकप्रतिको जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध रहेको जनाइएको छ। कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई संवैधानिक तथा कानुनी जिम्मेवारी पूरा गर्न संगठन कटिबद्ध रहेको प्रहरीले स्पष्ट पारेको छ।


