Aamsanchar

इङ्खु नदीमा पहिरो खस्दा अस्थायी ताल बन्यो, कोशी प्रदेशभर सतर्कता अपनाउन आग्रह

Author Image
शनिवार, कार्तिक १४, २०८३

ओखलढुङ्गा – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-१, चेरेम गाउँमुनिबाट निरन्तर खसिरहेको पहिरोका कारण इङ्खु नदी थुनिएर एउटा अस्थायी ताल (बाँध) बनेको छ। नदीको प्राकृतिक बहाव अचानक अवरुद्ध भएपछि तटीय क्षेत्रमा सम्भावित जोमिखलाई मध्यनजर गर्दै प्रशासनिक तथा सुरक्षा निकायहरूले उच्च सतर्कता अपनाउन थालेका छन्।

पछिल्लो समय भइरहेको लगातारको भारी वर्षा र पहिराका कारण नदी थुनिएर बनेको उक्त अस्थायी बाँध वा ताल कुनै पनि बेला अचानक भत्कन सक्ने जोखिम कायम रहेको छ। यदि यो बाँध अचानक फुटेमा तटीय क्षेत्रमा पानीको बहाव र परिमाण अत्यधिक मात्रामा बढ्न सक्ने देखिएको छ। यसबाट इङ्खु नदी, दूधकोशी र सप्तकोशी नदी आसपासका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दाहरूलाई विशेष सचेतना अपनाउन आग्रह गरिएको छ।

सम्भावित जोखिमका बारेमा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कतामा रहन अपिल गरेका छन् ।

 

मन्त्री शेर्पाले हालको अवस्थाबाट अति ठुलो परिमाणमा मानवीय वा भौतिक क्षति भइहाल्ने सम्भावना कम देखिए तापनि निरन्तर भइरहेको भारी वर्षा र पहिरोका कारण उत्पन्न हुन सक्ने जोखिमलाई नजरअन्दाज गर्न नमिल्ने बताए । ´चेरेम गाउँमुनि गएको पहिरोका कारण इङ्खु नदी थुनिएर अस्थायी ताल बनेको आधिकारिक जानकारी प्राप्त भएको छ। वर्तमान अवस्थामा स्थिति नियन्त्रण बाहिर नरहेपनि लगातारको वर्षाले जुनसुकै बेला जोखिम बढाउन सक्ने हुँदा नदी किनारका बासिन्दाले विशेष सतर्कता अपनाउनु जरुरी छ। प्रदेश सरकार र सुरक्षा निकायहरू यस विषयमा पूर्ण रूपमा सचेत र निगरानीमा छन्` शेर्पाले भने ।

घटनास्थल आसपासका क्षेत्रमा सुरक्षाकर्मी तथा स्थानीय तहका प्रतिनिधिहरूले स्थितिको निरन्तर अनुगमन गरिरहेका छन् भने नदी किनारका बगरमा नजान र सुरक्षित स्थानमा रहन स्थानीय प्रशासनले समेत अनुरोध गरेको छ।

 

Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर