काठमाडौं । पाकिस्तानको एक आतंकवादविरोधी अदालतले मानवअधिकार अधिवक्ता इमान मजारी र उनका श्रीमान् हादी अली चट्ठालाई १० वर्ष कैद सजाय सुनाएको छ। अदालतले दुवैलाई जनही दुई लाख पाकिस्तानी रुपैयाँ जरिवानासमेत गरेको छ।
सन् २०२४ मा पाकिस्तान भ्रमणमा रहेको इङ्ल्यान्डको क्रिकेट टोलीको सुरक्षा व्यवस्थामा कथित रूपमा बाधा पुर्याएको अभियोगमा उनीहरूलाई उक्त सजाय सुनाइएको हो।

अभियोजन पक्षका अनुसार, २५ अक्टोबर २०२४ मा इस्लामाबादमा क्रिकेट टोलीको सुरक्षा काफिलाका लागि सडकमा राखिएका ब्यारियर हटाउनुका साथै जिरो पोइन्ट चोकमा प्रहरी अधिकारीहरूको काममा बाधा पुर्याइएको थियो।
तर, इमान मजारी र हादी अली चट्ठाले आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएका छन्।
यसअघि पाकिस्तानी सेनाको आलोचना गरिएको सामाजिक सञ्जाल पोस्टसम्बन्धी मुद्दामा उनीहरूलाई १७ वर्षसम्मको जेल सजाय सुनाइएको थियो। पाकिस्तानको सर्वोच्च अदालतले गत अगस्टमा उक्त सजायमाथि रोक लगाएको थियो।
सजायमा रोक लागेपछि रिहा हुने तयारीमा रहेका उनीहरूलाई प्रहरीले पुनः पक्राउ गरेको थियो। दुवै जना पछिल्ला केही महिनादेखि रावलपिन्डीस्थित अदियाला जेलमा थुनामा छन्।
इमान मजारी पाकिस्तानमा मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएकी अधिवक्ता हुन्।



