Aamsanchar

चार जिल्लाका ४० भन्दा बढी पत्रकार पर्यटन पत्रकारिता तालिममा सहभागी

Author Image
मङ्गलवार, कार्तिक १७, २०८३

झापा  – पर्यटकीय सम्भावना बोकेर पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेका गन्तव्यलाई राष्ट्रियस्तरमा चिनाउनेदेखि पर्यटन क्षेत्रका समस्या र अवसरलाई समाचारका माध्यमबाट उजागर गर्न पत्रकारलाई दक्ष बनाउने उद्देश्यले इलामको रोङमा पर्यटन पत्रकारिता तालिम सुरु भएको छ।

पर्यटन पत्रकार मञ्च झापाको आयोजना तथा पर्यटन कार्यालय काँकरभिटाको आर्थिक सहयोगमा मंगलबारदेखि सुरु भएको दुईदिने तालिममा झापासहित इलाम, पाँचथर र ताप्लेजुङका ४० भन्दा बढी पत्रकार सहभागी छन्।

रोङ गाउँपालिका–३ स्थित जङ्गल भ्यू रिसोर्टमा आयोजित तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो तामाङले गर्नुभएको हो।

तालिमले पर्यटन पत्रकारितालाई खोजमूलक र व्यावसायिक बनाउँदै स्थानीय पर्यटकीय गन्तव्य, प्राकृतिक सम्पदा, संस्कृति, मौलिक जीवनशैली तथा पर्यटन पूर्वाधारका विषयलाई सञ्चारमाध्यममार्फत प्रभावकारी रूपमा बाहिर ल्याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

नेपाल पर्यटन पत्रकार मञ्चका कार्यकारी निर्देशक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामेश्वर कार्कीले तालिमको सहजीकरण गरिरहनुभएको छ।

तालिमको पहिलो दिन पर्यटन पत्रकारिताको प्रभावकारिता, समाचारका सम्भावित क्षेत्र, पर्यटकीय गन्तव्यको पहिचान र पर्यटन प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिकाबारे प्रशिक्षण तथा छलफल गरिएको थियो। पहिलो दिनको पहिलो सत्रमा पर्यटन कार्यालय काँकरभिटाका प्रमुख छविलाल खतिवडाले समेत सहजीकरण गर्नुभएको थियो।

बुधबार तालिमको दोस्रो दिन सहभागी पत्रकारलाई प्रयोगात्मक अभ्यास गराइनेछ। त्यसक्रममा पर्यटकीय गन्तव्यको समाचारमूल्य पहिचान, पर्यटनसम्बन्धी समाचार तथा सामग्री उत्पादन र प्रभावकारी प्रस्तुतीकरणका विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ।

उद्घाटन कार्यक्रममा रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो तामाङ प्रमुख अतिथि रहनुभएको थियो। पर्यटन कार्यालय काँकरभिटाका प्रमुख छविलाल खतिवडा, रोङ गाउँपालिका–३ का अध्यक्ष मातृका बराल र नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष भीम चापागाईंलगायतले पर्यटन विकासका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

उहाँहरूले स्थानीय पर्यटकीय सम्भावनाको खोजी, प्रचारप्रसार र पर्यटन क्षेत्रका चुनौतीलाई उजागर गर्न पत्रकारिताले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमको अध्यक्षता पर्यटन पत्रकार मञ्च झापाका अध्यक्ष विनोद पाण्डेले गर्नुभएको थियो। मञ्चका उपाध्यक्ष पुष्प बरालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव हिमाल खरेलले गर्नुभएको थियो।

Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर