
मोरङ – सशस्त्र प्रहरीले मोरङको कानेपोखरी–४ स्थित बयरवन साना किसान कृषि सहकारी संस्थाले सञ्चालन गरेको शीतभण्डारमा लुकाएर राखिएका सयपत्री फूलका माला बरामद गरी नष्ट गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प लक्ष्मीमार्गका सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोषवीर सिंहका अनुसार अवैध रूपमा भित्र्याएर शीतभण्डारमा राखिएको सूचना पाएपछि १०४ पोका माला बरामद गरिएको हो । प्रत्येक पोकामा एक सय वटाका दरले कुल १० हजार ४०० वटा माला रहेका थिए ।
चलनचल्तीको बजार मूल्यअनुसार १५ लाख ६० हजार रुपैयाँ बराबरका ती माला नष्ट गरिएको सिंहले जानकारी दिनुभयो । बेलबारी–११ स्थित बेसक्याम्पमा उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, पत्रकार तथा नेपाल प्रतिनिधिको रोहवरमा माला नष्ट गरिएको उहाँले बताउनुभयो ।
भारतबाट अवैध रूपमा आयात हुने सस्तो मालाका कारण नेपाली किसानले उत्पादन गरेका सयपत्री मालाले बजार नपाउने समस्या बढ्दै गएको छ । भारतीय माला नेपाली उत्पादनको तुलनामा आधा सस्तो पर्ने गरेको बताइएको छ ।
भारतबाट ल्याइएको एउटा माला १६५ रुपैयाँमा पर्ने भए पनि व्यापारीले त्यसलाई टुक्र्याएर आठ वटासम्म बनाई बिक्री गर्ने गरेको बताइन्छ ।

