
काठमाडौं – धनुषाको जनकपुरधामलाई भारतको अयोध्यासँग रेलमार्गबाट जोड्ने योजनाअन्तर्गत रेल सेवा सञ्चालनको तयारी तीव्र पारिएको छ । यही क्रममा जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको सम्भावना र प्राविधिक अवस्था परीक्षण गर्न १७ बोगीको भारतीय रेल चलाइएको छ ।
नेपाल र भारत दुवै पक्षको पहलमा अघि बढाइएको योजनाअन्तर्गत रेल चलाएर परीक्षण गरिएको नेपाल रेल्वेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए ।
जनकपुरधामबाट अयोध्यासम्म रेल सेवा विस्तार गर्ने उद्देश्यले परीक्षणको काम अघि बढाइएको हो । रेल सञ्चालनका निम्ति आवश्यक तयारी तीव्र पारिए पनि परीक्षणको चरण अझै पूरा भइसकेको छैन । रेल सञ्चालनसँग सम्बन्धित प्राविधिक परीक्षण तथा अरू प्रक्रिया जारी रहने र ती सबै पूरा भएपछि सेवा सञ्चालनको थप प्रक्रिया अघि बढाइने पराजुलीले बताए ।
प्रस्तावित योजनाअनुसार नेपाली भूमिमा जयनगरदेखि जनकपुरधामसम्म नेपाली रेल सञ्चालन हुनेछ । त्यसपछि भारतीय रेलमार्फत भारतका दुईदेखि तीन स्टेसनबाट यात्रु चढाएर अयोध्यासम्म पुर्याउने योजना रहेको पराजुलीले जानकारी दिए ।
जनकपुरधाम र अयोध्या दुवै धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका सहर हुन् । जनकपुरधामलाई माता सीताको जन्मभूमि मानिन्छ । अयोध्यालाई भगवान् रामको जन्मभूमिका रूपमा लिइने धार्मिक मान्यताका कारण यी दुई सहरबीच रेल सेवा सञ्चालनले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
रेल सञ्चालनको मिति र नियमित सेवा सुरु हुने समय प्राविधिक परीक्षण तथा आवश्यक तयारी पूरा भएपछि मात्र टुंगो लाग्नेछ ।



