Aamsanchar

घुस खाएको कर्तुत लुकाउन पत्रकारमाथी आक्रमण गर्ने दमक मालपोतका कर्मचारी राजवंशी पक्राउ

Author Image
शुक्रवार, मंसिर १९, २०७७

झापा ।  पत्रकार खगेन्द्र घिमिरेमाथि कुटपिट गरेको आरोपमा मालपोत कार्यालय दमकका खरिदार इन्द्र राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ। राजवंशीलाई शुक्रबार बिहान पक्राउ गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

राजवंशीलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। ‘कर्मचारी राजवंशीलाई बयानका लागि नियन्त्रणमा लिएका छौं,’ डिएसपी थापाले भने, ‘त्यसपछि कानुन कारबाहीको प्रक्रिया अघि बढ्छ।’

कर्मचारी राजवंशीले कुटपिट गरेको भन्दै पत्रकार घिमिरेले इलाका प्रहरी कार्यालय दमकमा किटानी जाहेरी दिएका थिए। सोही आधारमा बिहीबार प्रहरीले मुद्दा दर्ता गरेका थिए। मुद्दा दर्ता भएसँगै जिल्ला प्रशासन कार्यालय झापाले कर्मचारी राजवंशीको नाममा पक्राउ पुर्जी जारी गरेका थिए।

मालपोत कार्यालय दमकमा मंगलबार दिउँसो ४ बजे माउन्टेन टेलिभिजनका झापा संवाददाता घिमिरेमाथि कर्मचारी राजवंशी र केही लेखापढी व्यवसायीले कुटपिट गरेका थिए। कर्मचारी राजवंशीले सेवाग्राही सुरेश साहसँग १० हजार घुस लिएको र सो विषयको रिपोर्टिङ गर्न घिमिरे कार्यालय पुगेका थिए। पत्रकार घिमिरे घुस लिँदै गरेको दृश्य क्यामेरामा कैद गरेपछि उनीमाथि कर्मचारी राजवंशीले नियोजित रुपमा आक्रमण गर्दै हातपात गरेका थिए।

कर्मचारी राजवंशीले शिवसताक्षी नगरपालिका साबिक शिवगञ्ज गाविस–१ को जग्गा रोक्का गर्न कामका लागि सेवाग्राही साहसँग घुस लिएका थिए। यता पत्रकार घिमिरेलाई कुटपिट गरेको घटना बाहिरिएसँगै नेपाल पत्रकार महासङ्घ झापा शाखासहित विभिन्न पत्रकारहरूको छाता सङ्गठनहरूले एक विज्ञप्ति जारी गर्दै भ्रष्ट कर्मचारीलाई कारबाही नगरे सडक आन्दोलनमा उत्रिने चेतावनी दिँदै आएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर