Aamsanchar

शीतलहरको चपेटामा तराईवासी

Author Image
शनिवार, पौष ४, २०७७

प्रतिकात्मक तस्वीर ।

जाडो याममा तराईमा देखिने शीतलहरको समस्याले विगतमा जस्तै यस वर्ष पनि कैलाली, कञ्चनपुरलगायतका जिल्लामा वर्षेनी जनजीवन कष्टकर बन्ने गरेको छ । दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको हो ।

शीतलहरसँगै बढ्ने कठ्याङ्ग्रिने जाडोले सर्वसाधारणको दैनिकीमा प्रतिकूल प्रभाव पर्ने गरेको छ । चिसोवाट वृद्धवृद्धा, बालवालिका र दैनिक मजदूरी गरेर जिविका चलाउने वर्ग बढी प्रभावित हुने गरेका छन् ।

पहाडी क्षेत्रका जिल्लामा पारिलो घाम लाग्दा यतिबेला कैैलाली, कञ्चनपुरलगायतका जिल्ला कुहिरो र हुस्सुले ढाकिने गर्छन् । दिनभरी नै लाग्ने बाक्लो हुस्सुले घाम नझुल्किन नपाउँदा सर्वासाधारणलाई बिस्कुन र धोएका लुगा सुकाउनसमेत समस्या भइरहन्छ ।

शीतलहरसँगै बढेको जाडोले कोरोना भाइरसको सङ्क्रमण हुने जोखिम पनि बढेको छ । चिसो मौसममा धेरै भाइरल इन्फेक्सन सक्रिय हुने गरेकाले कोरोनाको जोखिम बढ्नसक्ने सेती प्रादेशिक अस्पताल धनगढीका कोभिड–१९ उपचार विभागका प्रमुख डा.। शेरबहादुर कमर बताउँछन् ।

“प्रकृति हेर्दा कोरोना अझैँ बढ्न सक्ने देखिन्छ”, डा कमरले भने, “यस्तो बेलामा धेरै व्यक्ति भेन्टिलेशनको सुविधा नभएको एउटै कोटामा बस्न पनि जोखिम हुनसक्छ ।” अहिलेको चिसो मौसममा सकभर एउटै कोठामा धेरै व्यक्ति नबस्न, चिसोबाट जोगिने उपाय अपनाउने र खाने कुरामा पनि ध्यान दिनुपर्ने सल्लाह चिकित्सकको छ ।

जाडो बढेसँगै स्वास्थ्य संस्थामा रुघाखोकी, निमोनिया, ज्वरो र दमका रोगी बढ्न थालेको जनाइएको छ । पछिल्लो तीन दिनयता यस क्षेत्रमा न्यूनतम तापक्रम निरन्तर घट्दै गएको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 296

प्रतिक्रिया (०)

सम्बन्धित खबर