Aamsanchar

फेरी श्रम तथा रोजगार कार्यालयमा तोडफोड

Author Image
बुधवार, माघ ७, २०७७

विराटनगर । विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा मंगलबार दिउँसो पुनः तोडफोड भएको छ । यसअघि पुस १९ गते पनि उक्त कार्यालयमा तोडफोड भएको थियो । पहिलो पटक तोडफोड भएको तीन साता पुग्न नपाउँदै दोस्रो पटक ट्रेड युनियन दर्ता तथा नवीकरण प्रक्रियाका विषयमा भएको विवादलाई लिएर कार्यालयमा पुनः तोडफोड गरिएको हो । घटनामा संलग्न विराटनगरस्थित हुलास मोटर्समा कार्यरत दुई जना मजदुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तोडफोड गर्ने विराटनगर महानगरपालिका–१३ का ६६ वर्षीय जोगीलाल यादव र विराटनगर–१६ का ४७ वर्षीय अर्जुनप्रसाद यादवलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

पक्राउ पर्ने दुवै जना विराटनगरमा रहेको हुलास मोटर्समा कार्यरत मजदुर हुन् । तोडफोडबाट कार्यालयको उत्तरतर्फको झ्यालको सिसा फुटेको छ । उद्योग तथा कलकारखानामा कार्यरत मजदुर आवद्ध रहने ट्रेड युनियन दर्ता र नवीकरण प्रक्रियाका विषयमा विवाद हुँदा मजदुरहरु तोडफोडमा उत्रिएको श्रम तथा रोजगार कार्यालयका शाखा अधिकृत रामप्रसाद तिमल्सिनाले बताए ।

मजदुरहरुले ट्रेड युनियन दर्ताका लागि कार्यालयमा निवेदन दिएको र त्यसकै प्रक्रिया अघि बढाउने क्रममा सनाखतका लागि बोलाइएका मजदुरहरु नियमविपरीतको माग गर्दै तोडफोडमा उत्रिएको उनको भनाइ छ । उनकाअनुसार मजदुरहरुले नेपालमा मजदुरी गर्दै आएका भारतीय नागरिकले पनि युनियनमा प्रवेश पाउनुपर्ने माग गरेका थिए । तर नियमले भारतीयलाई राख्न मिल्दैन भनेपछि उनीहरु तोडफोडमा उत्रिएको तिमल्सिनाले बताए । श्रमिकको हकअधिकार र श्रम ऐन कार्यान्वयनका लागि कुनै पनि स्थानमा कार्यरत मजदुरमध्ये कम्तीमा २५ प्रतिशतले ट्रेड युनियन दर्ता गर्न पाउने नियम छ । युनियन प्रत्येक दुई÷दुई वर्षमा दर्ता र नवीकरण गर्नुपर्ने प्रावधान रहेको उनले बताए ।

त्यस्तै यसअघि पनि पुस १९ गते कार्यालयमा सुनसरीको दुहवी–८ स्थित अरिहन्त मल्टिफाइबर प्रालिमा कार्यरत रमेश थापा र सुशील गच्छदारले तोडफोड गरेका थिए । उनीहरु अझैसम्म पक्राउ परेका छैनन् । तोडफोड गर्नेमध्ये थापा नेपाल कारखाना श्रमिक संघका प्रदेश १ अध्यक्ष र गच्छदार सुनसरी जिल्ला अध्यक्ष रहेको कार्यालयका प्रमुख वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताए । कार्यालयको सुरक्षार्थ हतियारसहितका प्रहरी कर्मचारी परिचालन गरिदिन आग्रह गरिए पनि अहिलेसम्म सुनुवाई नहुँदा फेरि तोडफोडको अर्को घटना भएको उनको भनाइ छ । साभार : पूर्वेली न्युज

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर