Aamsanchar

सप्ताहव्यापीरूपमा शहीद दिवसका कार्यक्रम भोलि देखि

Author Image
शुक्रवार, माघ ९, २०७७

काठमाडौँ। विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले भोलि माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवसका कार्यक्रम गर्ने भएको छ । कार्यक्रम तालिकाअनुसार माघ १० गते बिहान ८ः०० बजे टेकु खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गर्नुभएको स्थानमा श्रद्धाञ्जलिसभाबाट कार्यक्रमको थालनी हुनेछ । त्यस्तै माघ १३ गते बिहान ८ः०० बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा र माघ १५ गते बिहान ८ः०० बजे गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थान शोभा भगवतीमा श्रद्धाञ्जलिसभा आयोजना गरिने छ ।

सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात् माघ १६ गते शान्तिबाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्याण्ड, मार्चपास र शहीदहरुको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलिसभामा परिणत हुने जनाइएको छ । त्यस सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिको सहभागिता रहनेछ ।

यस वर्ष पनि शहीद सप्ताह मूल समारोह समितिका संयोजकको रूपका कामपाको प्रमुख विद्यासुन्दर शाक्य रहनुभएको छ । मूल समारोह समितिको सदस्यमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, चार शहीदले सहादत प्राप्त गर्नुभएको वडाका अध्यक्ष(वडा नं ७, १२, १५ र २६) हुनुहुन्छ । त्यस्तै विभागीय प्रमुख, आयोजना तथा कार्यक्रम प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी, गृह मन्त्रालय, नेपाल स्काउटका प्रतिनिधि समितिको सदस्य हुनुहुन्छ । विसं २०१२ देखि काठमाडौँ नगरको संयोजकत्वमा शहीद सप्ताहअन्तर्गतका कार्यक्रम मनाइँदै आएको छ ।

प्रजातन्त्र प्राप्तिका लागि विसं १९९७ मा काठमाडौँको विभिन्न स्थानमा सहादत प्राप्त गर्नुभएका चार शहीदको सम्झनामा कामपाले पूर्णकदको प्रतिमा स्थापना गरिसकेको छ । त्यसैगरी कामपाले गएको वर्ष गङ्गालाल श्रेष्ठका नाममा सञ्चालनमा रहेको गङ्गालाल हृदयरोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता गरिसकेको छ ।

संयोजक शाक्यका अनुसार सप्ताहव्यापी कार्यक्रमका लागि सरसफाइको जिम्मेवारी वातावरण व्यवस्थापन विभागलाई दिइएको छ भने सभा हुने स्थानको मर्मत सम्भार तथा रङरोगन गर्ने कामको जिम्मेवारी भौतिक पूर्वाधार विकास विभागलाई दिइएको छ । कार्यक्रमस्थल तथा प्रभातफेरीको रुट व्यवस्थापनको जिम्मा नगर प्रहरी महाशाखालाई दिइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर