Aamsanchar

(नेकपा) प्रचण्ड–नेपाल समूहद्वारा मोरङमा मतदाता नामावली अद्यावधिक कार्यक्रम बहिष्कार

Author Image
शुक्रवार, माघ ९, २०७७

विराटनगर : जिल्ला निर्वाचन कार्यालय मोरङले आयोजना गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बहिष्कार गरेको छ। प्रचण्ड–नेपाल समूहका नेता पारुल क्षेत्रीले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र राजनीतिक दलहरु पुनर्स्थापनाको पक्षमा भएको अवस्थामा निर्वाचनको तयारी थाल्नु अनुचित रहेकाले कार्यक्रम बहिष्कार गरेको बताए।

‘राजनीतिक दलसँगको कुनै समन्वय र छलफलबिना निर्वाचनको तयारी थाल्नु संविधान विरोधी हर्कत हो,’ क्षतिले भने, ‘पाँच वर्ष नपुगी निर्वाचन हुँदैन।’ प्रधानमन्त्री ओलीको निर्देशनमा प्रहरी, प्रशासनले बलजफ्ती यस्ता कार्यक्रम गरिए जनताले प्रतिवाद गर्ने क्षत्रीले चेतावनी दिए।

निर्वाचनको तयारी तीव्र

जिल्ला निर्वाचन कार्यालय मोरङले निर्वाचनको तयारी तीव्र बनाएको छ। १७ बुँदे कार्यक्रम सार्वजनिक गर्दै कार्यालयले निर्वाचनको तयारी तीव्र बनाएको हो।

सरकारले आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यवधि निर्वाचनको घोषणा गरेको छ। उक्त निर्वाचनलाई लक्षित गर्दै कार्यालयले मोरङका १७ वटै स्थानीय तहमा सहायक नाम दर्ता अधिकारी समेत तोकिसकेको छ। निर्वाचनसम्बन्धी सरकारको घोषणा बमोजिम विराटनगरस्थित निर्वाचन कार्यालयले माघ १५ मा कार्यक्रमको सूचना तथा मतदाता नामवली प्रकाशन गर्ने कार्यक्रम तया गरेको छ।

यस्तै, माघ १६ देखि १७ सम्म नामावलीमा रहेका त्रुटि सच्याउन सहायक नाम दर्ता अधिकारीको कार्यालयमा निवेदन दिने, माघ १६ देखि १७ झुठो विवरणविरुद्ध उजुरी दिने तथा प्रकाशित मतदाता नामावलीमा कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भए एक स्थानमा मात्रै कायम गर्न निवेदन दिने, माघ १८ देखि १९ उजुरी परेको मतदातालाई प्रमाणसहित सफाईको मौका प्रदान गर्ने कार्यतालिका छ।

माघ १८ देखि २० सम्म मतदाता नामावलीमा भएको त्रुटि सच्याउन प्राप्त निवेदन उपर जाँचबुझ गरी प्रमुख नाम दर्ता अधिकारी समक्ष पेश गर्न विवरण तयार पार्ने, माघ २० मा उजुरी परेको मतदाताले दिएको सफाईको आधारमा मतदाता नामावलीमा मतदाताको नाम राख्ने वा हटाउने सम्बन्धमा प्रमुख नाम दर्ता अधिकारी समक्ष सिफारिस गर्ने र माघ २१ गते मतदाता नामावलीबाट हटाइएको वा हटाउन सिफारिस गरिएको सूचना आफ्नो कार्यालयमा प्रकाशन गर्ने कार्यक्रम तय गरिएको मोरङका जिल्ला निर्वाचन अधिकारी महेशकुमार ठाकुरले  जानकारी दिए।

माघ २२ देखि २६ गतेसम्म नामावलीमा भएको त्रुटि सच्याउने वा मतदाताको नाम हटाउने सम्बन्धमा सहायक नाम दर्ता अधिकारबाट प्राप्त सिफारिस बमोजिम निर्णय गर्ने विषयमा सहमति जुटेको निर्वाचन अधिकारी ठाकुरले जानकारी दिए। 

यस्तै, कार्यालयले भने माघ २६ गते प्रमुख नाम दर्ता अधिकारीबाट भएको निर्णय बमोजिम नाम हटाइएको वा त्रुटि सच्याइएका मतदाताको विवरण प्रकाशन गर्ने निर्णय गरेको छ। साथै, फरक फरक जिल्लामा दोहोरो नाम परेका मतदाताको सम्बन्धमा निवेदन प्राप्त भए सोको छुट्टै विवरण तयार पारी जिल्लामा अद्यावधिक भएको डाटासँगै आयोगमा पठाउने निर्णय समेत गरिएको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर