Aamsanchar

पार्टीलाई फेरि पुरानै अवस्थामा ल्याउँछु : ओली

Author Image
आइतवार, जेठ १०, २०८३

काठमाडौं – निकट नेताहरू नै वैकल्पिक नेतृत्वको पक्षमा उभिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले थप दबाब महसुस गरेका छन्। शनिबार गुण्डुमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध महासचिव शंकर पोखरेलसहित थप पदाधिकारी खुलेका छन्।

पार्टीका एक पदाधिकारीका अनुसार ओलीको बचाउमा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेतमात्र खुलेका छन्। महासचिव पोखरेलले पार्टी आन्दोलनलाई यही अवस्थामा चलाउन नसकिने बताएका थिए। ‘पार्टी आन्दोलन यही अवस्थामा चल्दैन। पुनर्गठन गरेर जानुपर्छ,’ महासचिवको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘नेतृत्व र कार्यक्रम पुनर्गठन गर्न ढिला गर्नुहुँदैन।’ उनले ओलीलाई राजीनामा दिनूस् भनेर नभने पनि नेतृत्वको विकल्पबारे टुंगोमा पुग्नुपर्ने धारणा राखेको ती पदाधिकारीले बताए।

पार्टी प्रवक्तासमेत रहेका उपमहासचिव लेखराज भट्टका अनुसार शनिबारको बैठकमा तीन उपमहासचिव र ५ जना सचिवले पनि धारणा राखेका थिए। आइतबारको बैठकमा बाँकी रहेका ४ जना सचिवले धारणा राख्नेछन्। पहिलो दिन बोलेका ५ उपाध्यक्षमध्ये ४ जनाले अध्यक्ष ओलीले मार्ग प्रशस्त गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए। १९ सदस्यीय पदाधिकारीमा अहिलेसम्म बोलेका १४ जनामध्ये १२ जना नेतृत्व परिवर्तनको पक्षमा स्पष्ट देखिएका छन्।

 

उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले शनिबार पनि अधिकांशको सुझावका आधारमा निर्णय लिनुपर्ने अडान लिएका थिए।अध्यक्ष ओलीले आइतबारको बैठकमा सबैको धारणाका आधारमा बोल्ने बताएका छन्। तर, शनिबार निरन्तर राजीनामाको प्रसंग उठाएपछि त्यस्ता कुरा नगर्न भनेका थिए। ‘तपाईंहरूले सम्झाउनुपर्दैन। म नेतृत्व छाड्दिनँ,’ उनको भनाइ थियो, ‘पार्टीलाई फेरि पुरानै अवस्थामा ल्याउँछु।’ उनले बैठक लामो भएको भन्दै अब आफ्ना भनाइ छोट्याउन र कुराहरू नदोहो¥याउन भनेका थिए।

सचिव महेश बस्नेतले भने संकटका बेलामा पार्टी पुनर्निर्माणभन्दा पनि ओलीलाई हटाउने एकसूत्रीय एजेन्डा ल्याएको भन्दै आपत्ति जनाए। उपमहासचिव लेखराज भट्टले कसैको समर्थनरविरोध नगरी भनेका थिए, ‘पार्टी रूपान्तरण नै गर्ने भए ६० वर्षमाथिका सबै नेताहरू पदमा नबसौं। त्यसो भएमात्रै पार्टी युवाको हातमा पुग्छ।’

शुक्रबारको बैठकमा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पनि भनेका थिए, ‘संकटका बेला नेतृत्वको रक्षा गर्नुपर्छ।’ ओलीले थप्दै भनेका थिए,
‘यही हो पार्टी लाइन।’

Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर