झापा । भारतको चर्चित प्रिमियम विद्युतीय दुईपांग्रे ब्रान्ड Ather Energy ले पूर्वी नेपालमा आफ्नो उपस्थितिलाई थप बलियो बनाएको छ । नेपालका लागि आधिकारिक वितरक Vaidya Energy अन्तर्गत आइतबार झापाको बिर्तामोडमा नयाँ “एथर एक्सपिरियन्स सेन्टर” सञ्चालनमा ल्याइएको हो ।
बिर्तामोडको रामचोकमा स्थापना गरिएको केन्द्र भूर्तेल इनर्जी प्रालिको डिलर व्यवस्थापनअन्तर्गत सञ्चालनमा आएको हो । नयाँ केन्द्र उद्घाटनसँगै कम्पनीले पूर्वी नेपालमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै बिक्री, सेवा र चार्जिङ पूर्वाधार विस्तारलाई तीव्रता दिएको जनाएको छ ।
भूर्तेल इनर्जीका सञ्चालक अभिलेख भूतेलका अनुसार बिर्तामोडमा एथरको आधिकारिक केन्द्र सञ्चालनमा आउनुले पूर्वका ग्राहकलाई आधुनिक प्रविधियुक्त विद्युतीय स्कुटर र बिक्रीपछिको सेवा सहज रूपमा उपलब्ध गराउनेछ । “ग्राहकले अब एउटै स्थानबाट स्कुटर खरिददेखि सर्भिस, स्पेयर पार्ट्स र प्राविधिक सहयोगसम्मको सुविधा पाउनेछन्,” उनले बताए ।
कम्पनीका अनुसार बिर्तामोड केन्द्रसँगै नेपालभर एथरका एक्सपिरियन्स सेन्टरको संख्या ११ पुगेको छ । काठमाडौं उपत्यकामा पाँच केन्द्र सञ्चालनमा छन् भने पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुरपछि अब बिर्तामोडमा पनि कम्पनीले सेवा विस्तार गरेको हो ।

नयाँ केन्द्रमा कम्पनीका लोकप्रिय ‘एथर ४५० सिरिज’ र ‘एथर रिज्टा’ स्कुटर प्रदर्शनमा राखिएको छ । उच्च प्रदर्शन र स्मार्ट फिचरका कारण चर्चित ४५० सिरिजमा गुगल म्याप्स आधारित नेभिगेसन, टचस्क्रिन ड्यासबोर्ड, रिभर्स मोड, अटो होल्ड तथा विभिन्न राइड मोड जस्ता सुविधा उपलब्ध छन् ।
त्यसैगरी पारिवारिक प्रयोगलाई लक्षित गरिएको ‘एथर रिज्टा’ मा ठूलो सिट, पर्याप्त स्टोरेज, ट्र्याक्सन कन्ट्रोल, चोरी तथा टो अलर्ट र स्मार्ट नोटिफिकेसन प्रणाली जस्ता सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ ।
एथर नेपालले विद्युतीय सवारी प्रयोगलाई सहज बनाउन “एथर ग्रिड” अन्तर्गत तीव्र चार्जिङ स्टेशन विस्तारलाई पनि प्राथमिकतामा राखेको छ । हाल देशभर ४० भन्दा बढी फास्ट चार्जिङ स्टेशन सञ्चालनमा रहेका छन् । प्रदेश १ मा बिर्तामोडको थ्री डिग्री क्याफे, धरानको सीएसई अफिस अटोमेसन र इटहरीस्थित एथर सेन्टरमा यस्तो सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले बिर्तामोड केन्द्र उद्घाटनको अवसरमा विशेष अफरसमेत ल्याएको छ । जेठ १७ गतेसम्म लागू हुने योजनाअन्तर्गत ग्राहकले शून्य प्रतिशत ब्याजदरमा वित्तीय सुविधा, विस्तारित ब्याट्री वारेन्टी तथा अतिरिक्त एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् ।
नेपालमा विद्युतीय दुईपांग्रे सवारीको बजार तीव्र रूपमा विस्तार भइरहेका बेला एथरको बिर्तामोड प्रवेशलाई पूर्वी नेपालको ईभी बजारका लागि नयाँ अवसरका रूपमा हेरिएको छ ।


