काठमाडौं । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दोस्रोपटक सम्पूर्ण खेल गतिविधि स्थगित गर्न निर्देशन दिएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का विश्वमा खेलकुद गतिविधिसँगै अन्य कार्यक्रम स्थगित हँुदा राखेपले यसअघि २२ फागुनमा सम्पूर्ण खेल गतिविधि रोक्न निर्देशन दिएको थियो । त्यतिबेला सुरु भइसकेका खेललाई निरन्तरता दिन र सुरु हुने तरखरमा रहेका खेललाई रोक्न आदेश थियो ।
विश्वका अधिकांश राष्ट्रमा कोरोना भाइरस फैलिएको विश्वका ठूला राज्यले पनि यसका लागि विभिन्न सचेतना अपनाइरहेको अवस्थालाई नियाल्दै राष्ट्रिय खेलकुद परिषद्ले पनि उक्त जोखिमबाट बच्न सचेतना अपनाउनु अत्यावश्यक भएको हुँदा खेलकुदसँग सम्बन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनारलगायत मानवीय भेला हुने सम्पूर्ण गतिविधि तत्काललाई एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले तत्काललाई एक साताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्ने र त्यसपश्चात् परिस्थिति हेरेर निर्णय गरिने बैठकले निर्णय गरेको छ । यसका साथै खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारी, खेलसँग सम्बन्धित व्यक्ति र आमजनमानसलाई पनि सचेतना अपनाउन परिषद्ले आह्वान गरेको छ । आजको राजधानी दैनिकमा खबर रहेको छ ।