Aamsanchar

इटालीमा थप सात खेलाडी संक्रमित

Author Image
शनिवार, वैशाख २७, २०७७

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण इटालियन सिरिए फुटबल करिब दुई महिनादेखि स्थगित छ। लामो समय घरेलु फुटबलमा अवरुद्ध हुँदा अधिकांश क्लबहरू आर्थिक संकटमा परेका छन्। अर्कोतिर जारी सिजनको लिग टुंग्याउने छुट्टै समस्या छ।

पछिल्लो समय इटाली सरकार, इटालियन फुटबल महासंघ, लिग सञ्चालक र क्लबहरू सिरिए सुचारु गर्न विभिन्न चरणको छलफलमा व्यस्त छन्। छिट्टै नै लिग सुचारु गर्ने योजना अनुरूप सहभागी क्लबहरूले आफ्ना खेलाडीलाई नियमित अभ्यासमा फर्कन निर्देशनसमेत दिइसकेका छन्।

विभिन्न क्लबमा आबद्ध विदेशी खेलाडीहरू समेत इटाली फर्कने क्रम जारी छ। तर, क्लबहरूले आफ्ना खेलाडीलाई नियमित अभ्यासका लागि तयार रहन निर्देशन दिइरहँदा खेलाडीहरूमा भने एकपछि अर्को गर्दै कोरोना भाइरसको संक्रमण देखिन थालेको छ।

बिहीबार गरिएको परीक्षणमा सिरिए क्लबका थप सातजना खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। साम्पडोरियाका चार र फियोरेन्टिनाका तीनजना खेलाडीमा बिहीबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको समाचारमा जनाइएको छ।

यसैबीच, इटालियन फुटबल महासंघले खेलाडीहरूलाई नियमित अभ्यासमा फर्काउने विषयमा बिहीबार सरकारद्वारा गठित प्राविधिक समितिसँग छलफल गरेको छ। छलफल सकारात्मक भएको महासंघले जनाएको छ। महासंघका एक अधिकारीका अनुसार मे १८ तारिखदेखि खेलाडीको नियमित अभ्यास सुरु हुन सक्ने सम्भावना छ। आजको अन्नपूर्ण पोष्टमा खबर छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर