Aamsanchar

बाह्र करोड रुपैयाँभन्दा बढी ठगी अभियोगमा निजगढबाट एक पक्राउ

Author Image
शुक्रवार, साउन ३०, २०७७

कुख्यात जाली नोट तस्कर इल्ताफ हुसेन अन्सारी र भारतीय चलचित्र निर्माता निलेश सखियाले नक्कली सुन दिएर १६ केजी सुन बराबरको पैसा ठगी गरेको खुलासा भएको छ । बाराको निजगढबाट बिहीबार पक्राउ परेका इल्ताफले निलेशको योजनामा सुनको पैसा लुटिएको खुलाएका हुन् । इल्ताफले आफू मध्यस्थकर्ता मात्रै भएको र मुख्य योजनाकार निलेश नै भएको बताएका छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले तस्करीका योजनाकारमध्येका एक जना इल्ताफलाई पक्राउ गरिएको र उनको बयानपछि केही नयाँ तथ्य खुल्न सक्ने बताए । अनुसन्धान भइरहेकाले सबै कुरा बोल्न नमिल्ने उनको भनाइ छ । स्रोतका अनुसार नक्कली सुन दिएर सक्कलीबापतको रकम ठग्ने योजनामा निलेश र इल्ताफकै हात थियो ।

भारत गुजरातका सञ्जय पटेललाई काठमाडौंमा १६ केजी सुन दिन भनेर इल्ताफ र निलेशले बोलाएका थिए । उक्त सुनको पहिल्लो बजार मूल्य १२ करोड रुपैयाँभन्दा बढी पर्छ । उच्च स्रोतका अनुसार सुन लिनका लागि सञ्जयले निलेशलाई भारतमै रकम भुक्तानी गरेका थिए । सोही क्रममा सक्कली सुन लिन सञ्जय असार अन्तिम साता निलेशसँगै काठमाडौं आए । उनी कमलपोखरी अपार्टमेन्टमा डेढ साता बसेर भारत फर्किने योजनासहित आएका थिए ।

पहिलै पैसा लिएका निलेशले चाँदीमा सुनको लेपन लगाएर सञ्जयलाई ठग्ने योजना बुने । यसका लागि उनले जाली नोट तस्करीमा जेल बसेर छुटेका इल्ताफसहित काठमाडौंमै व्यापार गर्ने गुजरातका कौशल पटेल र उनका दाजु देवानसिंह पटेललाई जिम्मा दिए । देवान र कौशलको लाजिम्पाटमा सुनचाँदी सरसफाइ गर्ने पसल छ । निलेशको देवानसिंह, कौशल र इल्ताफसँग पुरानै चिनजान रहेको स्रोतको भनाइ छ । भारतबाटै देवानसिंहलाई निलेशले चाँदी खरिद र लेपन लगाउन १६ लाख रुपैयाँ दिइसकेका थिए । त्यसैअनुसार राजधानीकै एक पसलबाट १६ केजी चाँदी खरिद गरिएको थियो । अनुसन्धान प्रभावित हुने भन्दै प्रहरीले चाँदी खरिद गरेको पसलको नाम गोप्य राखेको छ ।

न्युरोडकै मनीष मल्लिकले १६ टुक्रा चाँदीमा सुनको लेपन लगाइदिएका थिए । यसबापत उनले प्रतिटुक्रा एक हजारका दरले पैसा लिए । बाँकी चाँदीका टुक्रामा अरू नै कालिगडबाट सुनको लेपन लगाइएको थियो ।
निलेशले सुन तयार भयो भनेपछि सञ्जयले पैसा दिएका थिए । अनुसन्धान भइरहेका कारण सञ्जयबाट निलेशले कति पैसा लिए भन्नेबारे यकिन खुल्न सकेको छैन । त्यसपछि निलेश सञ्जयकै साथ काठमाडौं आए । पैसा लिएपछि निलेशले सञ्जयलाई ठग्ने योजना बुनेर प्रहरीका घुमुवालाई १५ लाख रुपैयाँ दिई चाँदीमा लेपन लगाइएको पहेंलो धातु लुटाउने योजना बनाए । यो कुरा इल्ताफले प्रहरीलाई बयानमा बताएका छन् ।

साउन १२ गते यही योजनासहित महानगरीय प्रहरी वृत्त दरबारमार्गका घुमुवा बहादुरसिंह कठायतलाई हात लिएर कौशल र देवानसिंहले भोलिपल्ट साउन १३ गते सञ्जयलाई लेपन लगाएको सुन दिएर पठाउने र त्यसलाई बाटैमा प्रहरीले नियन्त्रणमा लिने अनि सञ्जयलाई सुन लुटिएको भन्ने योजना बनाए । त्यसका लागि बहादुरसिंहलाई १० लाख रुपैयाँ दिने डिल भयो । बहादुरसिंहले रकम थोरै भयो भनेर मानेनन् । ५ लाख थप्ने सहमति भयो । त्यस दिनको यो घटना दरबारमार्गकै अर्का घुमुवा प्रसन्न श्रेष्ठले पनि थाहा पाए । योजनामा प्रसन्नलाई पनि सामेल गराइयो । यो सबै इल्ताफ र निलेशको योजनामा भएको थियो । यसबापत देवानसिंह र कौशललाई कमिसन दिने पनि सहमति भएको स्रोत बताउँछ ।

यो योजना कमलादीको एक होटलमा बसेर गरिएको थियो तर घुमुवाले दरबारमार्गका डीएसपी रञ्जन दाहाललाई सक्कली सुन भारत लैजान गिरोहले तयारी गरेको र १३ गते बिहानै सुन लिएर बा६च ५५१९ नम्बरको स्कोर्पियो जिप हात्तीसारबाट कमलादी हुँदै जान लागेको गलत सूचना दिए । गाडी कमलपोखरी सिटी सेन्टर सडक खण्डबाट कमलपोखरी हुँदै कमलादीबाट अघि बढ्यो । गाडीमा थिए इल्ताफ, निलेश र सञ्जय । साथमा पहेंलो जलप लगाइएको १५ केजी ५ सय ग्राम चाँदी र ५ सय ग्राम सुन अनि २ थान पेस्तोल ।

गाडीअघि दिएको लोकेसनभन्दा केही फरक रुटमा कमलादी–घण्टाघर हुँदै अघि बढ्यो । निलेश र इल्ताफले आफू अघि बढेको सूचना देवानसिंह, कौशल र घुमुवाहरू प्रसन्न र बहादुरसिंहलाई दिएका थिए । गाडी पछ्याउँदै दुवै जना घुमुवा सहिदगेटबाट सुन्धारा आकाशे पुलनजिकै पुगेपछि प्रहरीले सुन नियन्त्रणमा लिन घेरा हालेको भन्दै सञ्जयलाई निलेशले सुनाए । हतियार र सुनसहित भाग्न लागेका सञ्जय आत्तिए । घुमुवालाई निलेश आफैं बाहिर निस्केर लेपन लगाएको साढे १५ केजी चाँदी र ५ सय ग्राम सुन अनि २ थान पेस्तोल दिए । प्रहरी आएको भन्दै इल्ताफ र सञ्जय त्यही गाडीबाट भागे । निलेश, देवानसिंह र कौशल आफ्नै बाटो लागे । तीनै जना योजना सफल भएको भनेर हिँडे । उनीहरू भारत भाग्ने योजनामा थिए । यता सामान नियन्त्रणमा लिएको भन्दै घुमुवाले डीएसपी दाहाललाई जानकारी गराए ।

केहीबेरमा डीएसपी सुन्धारा आइपुगे । साढे १४ केजी सामान डीएसपीलाई बुझाएका घुमुवा प्रसन्नले एक केजी आफ्नो खल्तीमा हालेर सँगै रहेका बागबजारका व्यापारी उमेश श्रेष्ठलाई दिए । घटना सुन्धारामा भएको थियो । सामान सुन वा चाँदी जाँच गर्न डीएसपी दाहाल सुनचाँदी व्यवसायी महासंघमा पुगे । त्यसबेलासम्म बरामद सामान सुन नै भएको भ्रममा थिए दाहाल । जाँचेपछि मात्रै ५ सय ग्राम सक्कली र बाँकी सबै चाँदीमा सुन लेपन गराइएको खुल्यो ।
प्रहरीले घटनास्थल कमलादी भन्दै केहीबेरमा पत्रकार सम्मेलन गर्‍यो । यता घटनाको अनुसन्धानमा जुटेपछि सुन लुटाउने निलेश र पटेल दाजुभाइ भागिसकेका थिए भने सामान लुटिएपछि गाडी चालक इल्ताफ र सुन लिन आएका सञ्जय पनि त्यही गडीमा भागे । त्रिपुरेश्वरबाट थापाथली हुँदै भागेका उनीहरू ललितपुरको नखिपोट पुगेर एक निर्माणाधीन घरको कम्पाउन्डमा रोकिए । गाडी त्यहीं छोडेर भागेकामध्ये इल्ताफ बिहीबार बाराको निजगढबाट पक्राउ परेका हुन् । सञ्जय अझै फरार छन् । उता घटना भएको भोलिपल्टै योजना सफल भएपछि काठमाडौंबाट भागेका निलेश, देवानसिंह र अपार्टमेन्टमा कामदारका रूपमा ल्याइएका विजय पटेललाई महानगरीय अपराध महाशाखाको टोलीले पूर्वी नवलपरासीको दुम्कीबासबाट १४ गते पक्राउ गर्‍यो ।

त्यही दिन महाशाखा र काठमाडौं प्रहरीको टोलीले घुमुवा प्रहरी बहादुरसिंह र प्रसन्न श्रेष्ठलाई अनि सुराकीका रूपमा खडा गरिएका कौशललाई काठमाडौंबाट पक्राउ गर्‍यो । सुन्धाराबाट १ केजी पहेंलो धातु लुकाएका उमेश श्रेष्ठ बागबजारस्थित कोठाबाटै सामानसहित पक्राउ परे । तर इल्ताफ र सञ्जय फरार भएका कारण घटनाको सत्यतथ्य खुल्न सकेको थिएन । सुन उपलब्ध गराउने भनेर लिएको पैसा इल्ताफ वा निलेश कोसँग छ भन्ने अनुसन्धानकै क्रममा रहेको स्रोतले बताएको छ । सुनबापतको पैसा काठमाडौं वा भारतमै भुक्तानी भयो भन्ने पनि अनुसन्धान भइरहेको छ ।

काठमाडौंमा भुक्तानी भएको भए लुकाएको आशंकामा सम्भावित स्थानको पनि खोजी भइरहेको स्रोत बताउँछ । लुटपाटका योजनाकार निलेश भारतीय चलचित्र निर्माता हुन् । गत वर्ष मात्रै उनले बनाएको पेनाल्टी चलचित्रमा आफूले घाटा खाएपछि गलत काममा लागेको बयान प्रहरीलाई दिएका छन् । इल्ताफ र निलेशलाई सँगै राखेर अनुसन्धान गरेपछि थप तथ्य र प्रमाण बाहिर आउने प्रहरी स्रोत बताउँछ । यो समाचार आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 232

प्रतिक्रिया (०)

सम्बन्धित खबर