Aamsanchar

बैंकका सबै शाखाले विदेशी मुद्राको कारोबार गर्नुपर्ने

Author Image
सोमवार, भदौ ८, २०७७

काठमाडौँ — अब वाणिज्य बैंकका हरेक शाखाले विदेशी मुद्राको कारोबार गर्नुपर्ने भएको छ । यसअघि एउटा बैंकका सबै शाखाबाट विदेशी मुद्राको कारोबार अनिवार्य थिएन ।

राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली ०७७ मा यो नयाँ व्यवस्था ल्याएको हो । १० वर्षपछि परिमार्जन गरेको विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको छ ।

नयाँ व्यवस्थाअनुसार वाणिज्य बैंकका हरेक शाखाले विदेशी मुद्रा बिक्री, सटही नगरे पनि खरिद भने गर्नुपर्नेछ । नागरिकसँग रहेको विदेशी मुद्रा बिक्रीका लागि सजिलो होस् भन्ने उद्देश्यले उक्त व्यवस्था गरिएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक गुरुप्रसाद पौडेलले जानकारी दिए । ‘शाखाले विदेशी मुद्राका अरू कारोबार नगर्न पनि सक्छन् । तर ग्राहकले ल्याएको विदेशी मुद्रा भने अनिवार्य रूपमा किन्नुपर्नेछ,’ उनल भने । नयाँ व्यवस्थाअनुसार वाणिज्य बैंकका हरेक शाखाले विदेशी विनिमय कारोबारका लागि छुट्टाछुट्टै लाइसेन्स लिनु नपर्ने भएको छ । बैंकले एक पटक विदेशी विनिमय कारोबारका लागि लाइसेन्स लिएपछि सबै शाखामार्फत सो कारोबार गर्न पाइनेछ । यसअघि हरेक शाखाले छुट्टाछुट्टै विदेशी विनिमय कारोबारका लागि लाइसेन्स लिनुपर्ने व्यवस्था थियो । यही कारण बैंकका सीमित शाखाले विदेशी विनिमयको कारोबार गर्दै आएका थिए । यो व्यवस्थाले बैंकहरूलाई हरेक शाखाका लागि लाइसेन्स लिनुपर्ने झन्झट हटेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘हामीले वर्षौंदेखि उठाएको माग हो,’ उनले भने, ‘यसले बैंकहरूलाई राहत नै हुनेछ ।’

यस्तै डिपार्टमेन्टल स्टोररसुपरमार्केट, एयरलाइन्स र तीनतारे तथा सोभन्दा माथिल्लो स्तरका होटलले विदेशी मुद्राको कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न प्रतिकारोबार स्थानका लागि एक लाख रुपैयाँ र मुनाफा आर्जन गर्ने उद्देश्य भएका अन्य जुनसुकै होटल, रिसोर्ट, फर्म, कम्पनी वा संस्थाले विदेशी मुद्राको कारोबार गर्ने इजाजतपत्र लिनुपर्नेछ । ‘इजाजतपत्रलाई प्रतिकारोबार स्थानका लागि ५० हजार रुपैयाँ बराबरको कम्तीमा चार वर्ष अवधिको बैंक जमानत पेस गर्नुपर्नेछ,’ विनियमावलीमा उल्लेख छ । तर सरकारी निकाय, सरकारी विश्वविद्यालय एवं शैक्षिक प्रतिष्ठान तथा मुनाफा आर्जन गर्ने उद्देश्य नभएका सामाजिक संघसंस्थाले विदेशी विनिमय कारोबारको इजाजतपत्र प्राप्त गर्न यस्तो जमानत पेस गर्नुपर्नेछैन ।  यो समाचार आजको कान्तिपुरमा छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर