Aamsanchar

कोरोना संक्रमित स्वास्थ्यकर्मीको पीडा : ‘डाक्टरको अनुहार देखेकै छैन’

Author Image
शुक्रवार, भदौ १९, २०७७

म२५ वर्षदेखि वीर अस्पतालमा कार्यरत छु । एक साताअघि मलाई कोरोना पुष्टि भयो । मैले काम गर्ने वार्डको नर्सिङ इन्चार्जलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परें ।

पीसीआर रिपोर्ट आउनुअघि नै मलाई लक्षण देखिन थालिसकेको थियो । नाकबाट पानी बग्ने, घाँटी दुख्ने, सुक्खा खोकी लाग्ने, छाती दुख्ने, टाउको भारी हुनेलगायत लक्षण देखिएको छ । अहिले थला नै परेको छु, कमजोर अनुभव भएको छ । यसअघि मेरो मुटुको भल्भ फेरेको हो, उमेर पनि ५१ पुग्यो, त्यसैले होला अलि बढी च्यापेको छ । अक्सिजन लगाएर बसेको छु ।

अस्पतालको कार्डियोलोजी वार्डको आइसोलेसनमा अहिले ८ जना संक्रमित स्वास्थ्यकर्मी भर्ना भएका छौं । कसैलाई सामान्य लक्षण छ भने कसैलाई अलि गम्भीर ।

अस्पतालको खाना हेर्न पनि मन लाग्दैन । मुखमा हाल्नै नसकिने गरी नुन चर्को हुन्छ । दालमा पानी मात्रै हुन्छ । तरकारी सधैं एउटै हुन्छ । खाना देखेपछि लागेको भोक पनि हराएर जान्छ । वाक्क लागिसक्यो । यहाँ कसैले खाना खाँदैन, नुन चर्को भएर निल्नै गाह्रो हुन्छ । रोगले भन्दा पनि खानेकुरा गतिलो नपाएर म गलेको छु । ताजा, सफा, पोसिलो र मीठो खान पाए केही तंग्रिन्थे होला तर अस्पताल व्यवस्थापनबाट धेरै लापरबाही भएको छ । कोरोनाको औषधि छैन, तागतिलो खानेकुरा खाएर रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै यसको उपचार हो भन्ने बुझेको छु तर के गर्नु घरबाट खानेकुरा मगाउन पनि सम्भव छैन ।

मेरै कारण दुई छोरा र एक छोरी पनि संक्रमित भइसके । उनीहरू पनि अहिले वीर अस्पतालमै भर्ना छन् । कहाँ छन्, के खाइरहेका छन्, चिन्ता लागेको छ । उपचार गर्ने वार्ड पनि अस्पताल जस्तो लाग्दैन, थुनेर राखेजस्तो महसुस हुन्छ । सुत्दा–सुत्दा दिक्क लाग्छ, यसो बिहान योग, रिल्याक्सेसन गराइदिए पनि हुन्थ्यो तर कोही यहाँ छिर्दैन । आठै जनाको ज्वरो र रक्तचाप पनि मै नाप्छु । म स्वास्थ्यकर्मी हुँ केही जानेको छु, नजान्नेले के गर्छन् होला रु भर्ना भएदेखि डाक्टर त मैले देखेको पनि छैन, अझै हामीलाई जाँच्लान् भन्ने त कसरी चिताउनु रु पीपीई लगाएर नजिक आउँदा त के हुन्छ र रु तैपनि वास्ता गर्दैनन् ।

कहिलेकाहीं नर्सिङ स्टाफ आउँछन् । ल है औषधि खानू भनेर थपक्क राखेर गइहाल्छन्, नजिकै पर्न चाहँदैनन् । यसो परामर्श गरिदिए पनि मन हल्का हुन्थ्यो, केही हौसला बढ्थ्यो । के छ कस्तो छ, कसैले सोध्दैन । म आफूले चिनेका डाक्टरहरूसँग फोनमा आफ्नो समस्या बताउँछु तर सबै कुरा सुनेर मात्रै उपचार हुन्छ र रु

कोरोना संक्रमणबीच हामीले निकै जोखिम मोलेर काम गरेका थियौं । स्रोतसाधन दिइएको थिएन । मास्क, पन्जा, सेनिटाइजर, पीपीई केही थिएन । पीपीई चाहियो भन्न जाँदा ‘आइसोलेसन र आईसीयूमा काम गर्नेलाई मात्रै हो पीपीई, अरूलाई संक्रमणको जोखिम छैन, चाहिँदैन’ भनियो । तर, त्यो सत्य हुन्थ्यो भने हामी स्वास्थ्यकर्मी कसरी संक्रमित हुन्थ्यौं रु सबै कर्मचारीका लागि अस्पतालले गाडीको व्यवस्था गरेन । सार्वजनिक यातायात चढ्नुपर्ने बाध्यता थियो ।

यसरी स्वास्थ्यकर्मी नै संक्रमित हुँदै जाने हो भने भोलि बिरामी हेर्ने जनशक्ति नपाउने अवस्था आउन सक्छ । हामीले व्यवस्थापन सुधार्नुपर्छ भनेर धेरै भन्यौं, तर वास्ता भएन । आज वीरमा स्वास्थ्यकर्मी भकाभक संक्रमित भइरहेका छन् । काम गर्दा सुरक्षा भएन, संक्रमित हुँदा उपचार र हेरचाह छैन । यो पेसा नै किन रोजे हुँलाझैं लागेको छ, धेरै मन दुखेको छ । कान्तिपुर दैनिकमा फातिमा बानुले यो खबर लेखेकी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर