Aamsanchar

शनिबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ७७

Author Image
आइतवार, पौष ५, २०७७

सरकारले पीसीआर परीक्षण घटाउँदै लगेकाले संक्रमितको संख्यामा कमी आएको देखिए पनि मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने हरेक महिना झन्झन् बढ्दै गएको छ । शनिबार मात्र १२ जनाको मृत्यु भएको छ । पीसीआर परीक्षण गराएकामध्ये शनिबारसम्म मृत्यु हुनेको संख्या १ हजार ७ सय ७७ पुगेको छ ।

६ महिनायताको तथ्यांकअनुसार नोभेम्बरमा सबैभन्दा बढी ५ सय ७१ जनाको मृत्यु भएको छ । डिसेम्बरमा शनिबारसम्म २ सय ७१, अक्टोबरमा ४ सय ३९, सेप्टेम्बरमा २ सय ७०, अगस्टमा १ सय ७२, जुलाईमा २७ र जुनमा २९ जनाको कोरोनाबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभरिको केस फ्याटलिटी रेट (सीएफआर) अर्थात् मृत्युदर ०.७३ प्रतिशत छ । जनस्वास्थ्यविद् एवं अनुसन्धानकर्ता वरिष्ठ जनस्वास्थ्यविद् डा.राजेन्द्र बीसीका अनुसार काठमाडौं उपत्यकाको सीएफआर ०.६१ प्रतिशत, काठमाडौंको ०.५ प्रतिशत, ललितपुरको १.०१ प्रतिशत र भक्तपुरको १.१६ प्रतिशत छ । यस्तै वाग्मती प्रदेशको सीएफआर ०.६७ प्रतिशत छ ।

देशभर कोभिडले मृत्यु भएकामध्ये ८ सय ९० जना अर्थात् ५० प्रतिशत वाग्मती प्रदेशका छन् । यस्तै उपत्यकामा ६ सय ९२ जना अर्थात् ३९ प्रतिशतको मृत्यु भएको छ । काठमाडौं जिल्लामा मात्र नेपालभरि कोभिडले हुने मृत्युमध्ये २५ प्रतिशत छ ।

पछिल्लो एक महिनामा पीसीआर परीक्षण घटेकाले दैनिक संक्रमण दर भने कम देखिएको छ । विज्ञहरूले परीक्षण बढाउने हो भने संक्रमण दर बढी देखिने बताएका छन् । उनीहरूले संक्रमण दरमा वास्तविक कमी नआएकाले जनस्वास्थ्यको नियम कडाइपूर्वक पालन नगरे यसले सम्भावित दोस्रो लहर ल्याउन सघाउने चेतावनी दिएका छन् ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)