Aamsanchar
Adv top
Adv below_nav

मह बेचेरै वार्षिक ३५ लाख आर्जन गर्छिन झापाकी देवी


काठमाडौं ।  शिवसताक्षी नगरपालिका दूधे झापाकी मौरीपालक किसान देवी दाहाललाई २०६० सालअघि घरखर्च चलाउन मुस्किल पथ्र्यो। उनले २०६० देखि २ घार मौरी पाल्न थालिन्। उनीसँग अहिले ३ सय घार मौरी छ। मह बेचेर उनले वार्षिक ३५ लाख कमाउँछिन्।

उनले गत वर्ष ३५ लाख आम्दानी गरिन्। त्यसमध्ये १२ लाख खर्च भएको थियो। खर्च कटाएर उनले २३ लाख नाफा गरिन्। उनले दुई जनालाई नियमित पारिश्रमिक दिएर श्रमिक राखेकी छन्। अन्य ६ जनालाई मौसमअनुसार ज्यालामा काम लगाउँछिन्। मह काढ्न, चराउन जान ज्यालादारी श्रमिक बढी चाहिने उनले सुनाइन्। हेर्न भने आफैं जान्छिन्।

मह बेचेर उनले दुई छोराछोरीलाई उच्च शिक्षासम्मको शिक्षा दिलाइन्। सम्पत्ति पनि राम्रै जोडेकी छन्। यसपालिको पुस मसान्तसम्म उनले २२ लाखको मौरी र मह बेचिसकेकी छन्। त्यसमध्ये ५ लाख खर्च भइसकेको छ। अरू १७ लाख उनको नाफा हो। मह जेठसम्म बिक्री हुन्छ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले गत वर्षको तुलनामा व्यापार केही कम हुने उनको आकलन छ। ‘कोरोनाले भनेजति मह निकाल्न पाइएन’, उनले भनिन्, ‘अहिले सिजन राम्रो छ।’

झापामा चरन अभाव छ। दाङ, चितवनसम्म लैजानुपर्छ। जग्गाको समस्या भएकाले चरनको अभाव भएको हो। किसानले फापर लगाउन छाडेकाले मह उत्पादनमा समेत ह्रास आउन थालेको उनको बुझाइ छ। ‘फापर लगाउनुहोस्, हामी किन्छौं भन्दा पनि कृषक लगाउन मान्दैनन्, बरु बाँझै राख्न तयार हुन्छन्’, उनले भनिन्।

पछिल्लो समय स्थानीय सरकारले जग्गा बाँझो राख्न नदिने व्यवस्था गरेसँगै उत्पादन बढ्ने विश्वास उनले व्यक्त गरिन्। ‘परागसेचन हुन्छ भन्ने चेतना छैन’, उनले भनिन्, ‘मौरीले पुष्प खान्छन् भन्ने किसानलाई भ्रम छ।’ विषादी तथा कीटनाशक औषधिसम्बन्धी चेतना फैलाउन सके महबाट मनग्गे आम्दानी गर्न सकिने उनले बताइन्।

दाहाल नमुना किसान मात्र हुन्। संस्थामा आबद्ध अधिकांशले मौरी पाल्छन्। शिवसताक्षी महिला मौरीपालन सहकारी संस्थाका ४ सय ६८ कृषकमध्ये ३ सय २० जना कृषकले मौरी पालेका छन्। संस्थामा २० हजारदेखि १ लाखसम्म सेयर सदस्य गरी ९२ करोड सेयर पुँजी छ। संस्थाले १० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ।

संस्थाले वार्षिक ६० टन मह बिक्री गर्छ। संस्था आफैंले र सदस्यको उत्पादन गरी ४ करोड बराबरको बह बिक्री हुन्छ। युटर्न कम्पनीमार्फत ताप्लेजुङदेखि काठमाडौंसम्म सतासी मह बिक्री गर्ने गरिएको संस्थाका अध्यक्ष धनमाया थापाले बताइन्। धनमायाले २ सय घारमा माहुरी पालेकी छन्। अहिले विदेश जानेले मह लैजान्छन्। लेभलिङ र प्याकेजिङ गरी विदेशसम्म निर्यात गर्ने योजना संस्थाको छ। वैदेशिक रोजगारीमा जान चाहने महिला तथा उनका परिवारका पुरुषलाई पनि संस्थाले रोकेको उनले सुनाइन्। ‘विदेश जान खोज्नेलाई तालिम दिएर मौरीपालक कृषक बनाउँछौं’, उनले भनिन्, ‘तालिम लिएर धेरै स्वरोजगार भएका छन्।’

संस्थाले ४० लाखको प्रशोधन मेसिन खरिद गरेको छ। सदस्यको मह काड्न संस्थाले सघाउँछ। मह संकलन गर्न १ करोडजति खर्च हुन्छ। संस्थाले प्रशोधन, लेबलिङ गरी मह बिक्री गर्छ। कात्तिकदेखि जेठसम्म महको सिजन हो। संस्थाले २० टन मह स्टक राखी सिजनमा ६० टन बिक्री गर्र्छ। अफ सिजनमा मह बिक्री गर्न २० टन स्टक राख्ने गरिएको उनले बताइन्।

सहकारीको ४७ गोला मौरी छ। नसक्नेलाई धरौटीमा गोला दिने गरेको उनको भनाइ छ। मौरी धरौटीमा लैजान १६०० राख्नुपर्छ। त्यति पनि नभए ऋण दिने गरिएको अध्यक्ष थापाले बताइन्। चरन राम्रो भए २ घारबाट एकै वर्षमा ८ घारसम्म हुन्छ। एक घारमा सिजनमा २० देखि १ सय २० केजीसम्म मह उत्पादन हुन्छ। किसानले एक घारबाट औसतमा ४० केजी मह उत्पादन गर्छन्।

तोरी महले रुघा ठीक गर्छ। फापरले डाइबेटिज सन्तुलनमा ल्याउनुका साथै ब्लिडिङ रोक्ने काम गर्छ। मौरीपालन केन्द्रीय सहकारी संघको भूमिका गौण छ। संघले सिफारिससम्म गर्न सके पनि अन्य प्रवद्र्धनका काम गर्न नसकेको कृषकको गुनासो छ।  यो समाचार अन्नपूर्ण पोस्टमा तुलसी सुवेदीले लेखेका छन् । 

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।