Aamsanchar
Adv top
Adv below_nav

सिम्रौनगढको सम्पूर्ण क्षेत्र सर्वेक्षण सम्पन्न


बाराको ऐतिहासिक तथा पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण सिम्रौनगढको भू–भौतिक सर्वेक्षण (जियोफिजिकल सर्भे)सम्पन्न भएको छ । सर्वेक्षणको प्रारम्भिक अध्ययनबाट सो क्षेत्रमा ऐतिहासिक पुरातात्त्विक सम्पदाको प्रचुर सम्भावना रहेको देखाएको छ ।

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले ऐतिहासिक, पुरातात्त्विक महत्त्वको सिम्रौनगढको भू–भौतिक सर्वेक्षण सम्पन्न भएको र सोको जानकारी महत्त्वपूर्ण भएको जानकारी दिए ।

सिम्रौनगढ र त्यस वरपरको ठाउँमा गरिएको सो सर्वेक्षणको प्रारम्भिक अध्ययनबाट सो क्षेत्रमा ऐतिहासिक पुरातात्त्विक सम्पदाको प्रचुर सम्भावना देखिएको बताउँदै उनले सो क्षेत्रमा नवपाषाणकालीन (नियोलेथिक) हतियार तथा सरसामान र माटाका भाँडाकुँडा प्राप्त भएको जानकारी दिए । सर्वेक्षणको क्रममा इँटका टुक्रा, ढुङ्गा र इँँटाको गाह्रो समेत देखिएको थियो ।

उनले भने, ‘‘जीपीआर, प्रविधि र ड्रोन क्यामराबाट सर्वेक्षण गरियो । यस प्रविधिले मानिसको शरीरको एक्सरे गरेजस्तै जमिनको भित्री भागको एक्सरे गर्ने भएकाले जमिनभित्र रहेका वस्तुबारे सहजै थाहा पाउन सकिन्छ ।’’ महानिर्देशक गौतमले केही महिनापछि सर्वेक्षणको विस्तृत प्रतिवेदन पुरातत्व विभागलाई प्राप्त हुने जानकारी दिए । प्रतिवेदन प्राप्त भएपछि उत्खनन गरी प्रामाणिक इतिहास तयार पारिने उनले बताए ।

सर्वेक्षणको क्रममा प्राप्त गरिएका नमुनाको थप अनुसन्धान (प्रोसेसिङ) का लागि बेलायत पठाइएको छ । अहिलेको सर्वेक्षणले प्राचीन र मध्यकालीन इतिहास बोकेको सिम्रौनगढको सम्पूर्ण क्षेत्र के कस्तो अवस्था छ ? यहाँका संरचनाहरू कस्ता छन् लगायतका विषयमा जानकारी प्राप्त हुने उनले बताए ।

पुरातत्व विभाग र बेलायतको दुरहाम विश्वविद्यालयले संयुक्त रूपमा सिम्रौनगढको सर्वेक्षण गरेको हो । सर्वेक्षणमा बेलायतको दुरहाम विश्वविद्यालयको पुरातत्व विभागका वरिष्ठ पुरातात्त्विद डङ्कन हालेसहितको आठ सदस्यीय टोली नेपाल आएको थियो ।

सिम्रौनगढ नगरपालिका वडा नं. ८, कचोर्वा टोलका रामकेवल यादवले ऐतिहासिक, पुरातात्त्विक तथा पर्यटकीय दृष्टिकोणले एउटा खुला सङ्ग्रहालयका रूपमा सिम्रौनगढ विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रक्रिया चाल्न ढिलो भइसकेको बताए । संरक्षण र प्रवद्र्धनको अभावमा मिथिलाको प्राचीन राजधानीका रूपमा रहेको यो क्षेत्र ओझेलमा पर्दै गएको उनको गुनासो छ ।

कला–संस्कृतिको भण्डारका रूपमा रहेको यस क्षेत्रको उत्खनन र न्यायोचित मूल्याङ्कन नगरिएसम्म मुलुककै कलाकृतिको इतिहासको खोजी अधुरो नै रहने उनको भनाइ छ ।

केही वर्षअघि पुरातत्व विभागको सक्रियतामा कङ्काली मन्दिर परिसरका मूर्तिलाई मन्दिर परिसरमै घर बनाई सङ्ग्रह गरिएको छ । सिम्रौनगढमा फेला परेका केही मूर्ति र दरबारका अवशेषलाई काठमाडौँस्थित राष्ट्रिय सङ्ग्रहालय छाउनीमा पनि राखिएको छ । गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले खबर लेखेका छन् ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।