काठमाडौं । कोरोना संक्रसिमतको संख्या ह्वात्तै बढन थालेपछि काठमाडौं उपत्यकामा आजबाट जेठ १३ गतेसम्म निषेधाज्ञा थपिएको । यसअवधिमा अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू पनि बन्द गरिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले सो निर्णय गरिएको हो ।
औषधि, खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् ।
निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालयबाहेक अन्य सबै जिल्लास्थित कार्यालय वैशाख ३० गतेदेखि बन्द गर्न÷गराउन आदेश जारी गरिएको छ । अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिइ न्यूनतम जनशक्तिमा काम गर्न भनिएको छ ।
प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार यसपालि निषेधाज्ञामा बिहान १० बजेसम्म अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र बिक्री गर्न) खुला हुने छन् । मानिसका भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ ।
साथै सार्वजनिक र निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ ।
अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ ।
विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा भनिएको छ ।